पर्यटन क्षेत्र लयमा नआउँदा राजस्वको लक्ष्य पूरा हुन सकेन

आन्तरिक राजस्व कार्यालय पोखराले गत आर्थिक वर्ष २०७८/७९ मा लक्ष्यको ९५ दशमलव ६६ प्रतिशत मात्र राजस्व सङ्कलन गरेको छ । विशेष गरी पर्यटन क्षेत्रबाट राम्रो राजस्व उठाउँदै आएको कार्यालयको पर्यटन व्यवसाय कोभिडअघिकै लयमा फर्किन नसक्दा राजस्वको लक्ष्यसमेत प्रभावित भएको हो ।

गत आवमा कूल रु पाँच अर्ब १० करोड १७ लाख २८ हजार राजस्व सङ्कलनको लक्ष्य राखेको कार्यालयले रु चार अर्ब ८८ करोड चार लाख ४१ हजार मात्र सङ्कलन गरेको छ । सङ्कलित राजस्व लक्ष्यको रु २२ करोड १२ लाख ८७ हजार न्यून हो । कार्यालयले आयकरतर्फ लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरे पनि मूल्य अभिवृद्धि कर(मुअकर) र अन्त शुल्क लक्ष्यअनुसार सङ्कलन नहुँदा समग्र राजस्वको लक्ष्य पूरा हुन नसकेको हो ।

कार्यालयले आयकर शीर्षकमा रु दुई अर्ब ८४ करोड एक लाख २१ हजार सङ्कलनको लक्ष्य राखेकामा रु तीन अर्ब तीन करोड ५६ लाख जम्मा भएको कार्यालयले जनाएको छ । त्यो लक्ष्यको १०६ दशमलव ८८ प्रतिशत हो । यसैगरी मुअकरमा रु एक अर्ब ५७ करोड १० लाख ७८ हजारको लक्ष्य राखिएकामा रु एक अर्ब ३३ करोड ५५ लाख ४२ हजार सङ्कलन भएको प्रमुख कर अधिकृत एवं राजस्व कार्यालयका प्रमुख एवं प्रमुख कर अधिकृत रमेश शर्माले बताउनुभयो ।

कार्यालयले गत आर्थिक वर्षमा घरबहाल करतर्फ रु छ करोड ३९ लाख ३४ हजार, ब्याजकर रु ३५ करोड ३५ लाख १६ हजार, अन्तशुल्क रु १८ करोड ९७ लाख ५२ हजार, स्वास्थ्य सेवा कर रु १६ लाख ४१ हजार र शिक्षा कर रु चार लाख ३४ हजार सङ्कलन गरेको छ ।

कार्यालयले भने लक्ष्य पूरा हुन नसके पनि राजस्व सङ्कलन सन्तोषजनक नै रहेको जनाएको छ । विगतको राजस्वको वार्षिक वृृद्धिदरभन्दा कम भए पनि राष्ट्रिय औसतभन्दा माथि रहेकाले राम्रो नै मान्नुपर्ने कार्यालय प्रमुख शर्माले बताउनुभयो । कार्यालयको कार्यक्षेत्रमा सेवा क्षेत्र बढिरहेको र होटल तथा पर्यटन क्षेत्र कोभिड अघिकै लयमा फर्किन नसक्दा त्यस क्षेत्रबाट जम्मा हुने मूल्यअभिवृद्धि करमा कमी आएको र सरकारी कार्यालयको पूँजीगत खर्च कम हुँदासमेत राजस्वको समग्र लक्ष्य भेट्टाउन नसकिएको कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख शर्माले भन्नुभयो, “हाम्रो कार्यालयको कार्यक्षेत्रमा सेवा क्षेत्र बढी छ, होटल र पर्यटन क्षेत्र पुरानै लयमा फर्किन नसक्दा सो क्षेत्रबाट भ्याट आउन सकेन, पोखरा महानगरपालिका र प्रदेशस्थित कार्यालयबाट पनि गत वर्ष पूँजीगत खर्च कम हुँदा सरकारी कार्यालयबाट आउनुपर्ने मुअकर पनि सोचेअनुसार आउन नसक्दा हामीले लक्ष्य हासिल गर्न सकेनौँ ।”

आन्तरिक राजस्व कार्यालय पोखरामा गत असार मसान्तसम्म ६२ हजार ४७१ आयकरमा र ११ हजार ७१२ करदाता मूल्यअभिवृद्धि करमा दर्ता भएका छन् । यसैगरी व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्या एक लाख ३० हजार ८७० रहेको कार्यालयका सूचना अधिकारी मदनबहादुर केसीले जानकारी दिनुभयो । गत आर्थिक वर्ष २०७८/७९ मा आयकरतर्फ सात हजार ४६६, मुअकरमा एक हजार ३५ र व्यक्तिगत स्थायी लेखा नम्बर लिने २२ हजार ५८३ करदाता थपिएका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker