व्यास शैक्षिक नीति : नगरलाई शैक्षिक हबका रुपमा विकास गरिने, ‘नगर प्रमुख शैक्षिक सुधार योजना’ अघि बढाइने

दमौली । तनहुँको व्यास नगरपालिकाले व्यासलाई शैक्षिक हबका रुपमा विकास गर्ने भएको छ । आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा व्यास नगरलाई शैक्षिक हबका रुपमा विकास गर्ने नीति अगाडि ल्याएको हो ।
नगरप्रमुख बैकुण्ठ न्यौपानेले आ.व. २०७४/०७५ मा निर्माण गरिएको एकीकृत शहरी विकास योजनाको तेस्रो प्राथमिकतामा रहेको शिक्षा क्षेत्रलाई विश्वसनीय बनाउँदै व्यास नगरलाई शैक्षिक हबको रुपमा विकसित गर्न नगरपालिका प्रतिबद्ध रहने नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्।
व्यास नगरपालिका भित्र बसाई सराईका कारणले कतिपय गाउँमा हिजो गौरवपूर्ण तवरले स्थापित भएका विद्यालयहरुमा विद्यार्थी अभावले विद्यालयहरुलाई निरन्तरता दिन कठिनाई भएका विद्यालयहरुको भौतिक संरचनाको संयोग र सिमित विद्यार्थीहरुलाई शिक्षा आर्जन गर्ने नैसर्गिक बाल अधिकारको प्रत्याभूति दिनुपर्ने चुनौतिका विच नगर भित्रका विद्यालयहरुको समसामयीक सुधारका लागि नगर शिक्षा योजनालाई अध्यावधिक गरी विज्ञहरुको परामर्शमा ‘नगर प्रमुख शैक्षिक सुधार योजना’ अगाडि बढाउने भएको छ ।
यस्तै, व्यास नगर भित्रका सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाई नमूना विद्यालयका असल अभ्यासहरुको अनुभव आदान प्रदानको व्यवस्था मिलाइने नीति लिएको नगरपालिकाले व्यासलाई शैक्षिक केन्द्रका रुपमा विकास गर्नका लागि नगर शिक्षा योजना निर्माण गरी नगरपालिकामा रहेका क्याम्पस र विद्यालय स्तरका शिक्षालाई थप गुणस्तरीय र विश्वसनीय बनाइने नगरप्रमुख न्यौपानेले बताएका छन् ।
नगरभित्रका ३१ सामुदायिक विद्यालयमा कक्षा ५ सम्मका बालबालिकाहरुलाई संघीय सरकार अन्तर्गत खाजाको प्रबन्धलाई प्रभावकारी बनाई स्वास्थ्य बर्धक पोषणयुक्त खाजाको व्यवस्था मिलाउने, विद्यालयमा जंकफुडलाई पूर्णतः निषेध गरी खाजामा स्थानीय उत्पादनलाई बढवा दिइने भएको छ ।
यस्तै, व्यास नगरपालिका भित्रका अनाथ, असहाय, विपन्न, शहिद, वेपत्ता, कोरोनाबाट मृत्यु भएका घर परिवारका बालबालिकाको शिक्षाका लागि व्यास–७ शेषमटारमा रहेको ‘व्यास नगर समता विद्यालय’को क्षमता विकास गरिने भएको छ ।
नगरका विशेष गरी महिला विपन्न क्षेत्रका विद्यार्थीहरुले अध्ययन गर्ने एक मात्र सामुदायिक क्याम्पस आदिकवि भानुभक्त क्याम्पसको गुणस्तर सुधार एवं विश्वविद्यालय स्थापनाको पूर्वाधार निर्माण, विज्ञान र प्रविधिको अध्ययन व्यवस्थापनका लागि सहयोग पु¥याउने नीति लिएको नगरपालिकाले नगर भित्रका धार्मिक विद्यालयहरु, मातृ भाषामा शिक्षा प्रदान गर्ने विद्यालयहरु तथा सामुदायिक सिकाई केन्द्रहरु सञ्चालन गर्न सहयोग पु¥याउने भएको छ ।
नगरपालिका भित्र रहेका विद्यालयहरुमा स्थानीय पाठ्यक्रम र वेदव्यास सम्बन्धी अतिरिक्त पाठ्यक्रम अध्यापन गराउने व्यवस्था मिलाउने नीति लिएको नगरपालिकाले ‘हाम्रो प्रतिभा हाम्रो गौरव’ भन्ने विश्वासका साथ विभिन्न विधामा नगर क्षेत्र भित्रका विद्यार्थीहरु बीच प्रतिस्पर्धा गराई नगर स्तरीय उत्कृष्ट प्रतिभा छनौट गरी सम्मान एवं पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिने भएको छ ।
बालश्रम मुक्त, बालमैत्री, पोषणमैत्री, वातावरणमैत्री र युवामैत्री व्यास नगरपालिका घोषणा गर्ने कार्यक्रमलाई विशेष अभियानका रुपमा सञ्चालन गर्ने नीति लिएको नगरपालिकामा स्थायी बसोबास भई उच्च शिक्षा हासिल गरिरहेका विज्ञान प्रविधि एवं प्राविधिक शिक्षा लगायतका विषय अध्ययन गर्ने विपन्न र प्रतिभावान विद्यार्थीलाई अनुसन्धान गर्ने कार्यमा र नगरपालिका भित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत कक्षा ११ र १२ का विपन्न वर्गका छात्रछात्राहरुलाई अध्ययन गर्नका लागि प्रदान गरिने छात्रवृत्ति सहयोगलाई निरन्तरता दिइने भएको छ । यसरी छात्रवृत्ति प्रदान गर्दा दलित र जनजाति वर्गका छात्राहरुलाई प्राथमिकता दिइने भएको छ ।
बालबालिका, युवा, किशोर किशोरीको लागि लागु पदार्थ दुव्र्यसनी मुक्त, अनलाइन सुरक्षा, बाल विवाह, हिंसा मुक्त नगरपालिका बनाउन विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने कार्यक्रम नगरपालिकाले अगाडि ल्याएको छ ।
यस्तै, नतिजा सुधारका लागि सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको बिषयगत उपलब्धिका आधारमा शिक्षकको मूल्याङ्कन, प्रोत्साहन तथा पुरस्कार एवं कमजोर नतिजा भएका शिक्षकहरुलाई क्षमता विकासका कार्यक्रम सञ्चालन गर्नुका साथै उत्कृष्ट शिक्षक सम्मान कार्यक्रमलाई निरन्तरता दिइने भएको छ ।
व्यास नगरपालिका भित्र कार्यरत जनप्रतिनिधि, कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक र व्यवस्थापन समितिका पदाधिकारी÷सदस्यहरुले आफ्ना बालबालिकालाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरी अध्यापन गर्ने व्यवस्था मिलाउने नीति ल्याएको नगरपालिकाले ‘बालमैत्री नगरपालिका’ घोषणा गर्ने उद्देश्यका साथ कार्यविधि निर्माण भइसकेकाले बालमैत्री नगरपालिका घोषणाका लागि मापदण्ड अनुसारका कार्यहरु अघि बढाउने भएको छ ।
‘ज्ञान नै समृद्धिको आधार’ भन्ने मान्यताका साथ अनुसन्धान सामाग्री सहितको विशिष्ट कृतिहरुको संगालो भएको डिजिटल पुस्तकालय स्थापना गरी उच्च शिक्षा तथा विद्यालय शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क अध्ययन, अनुसन्धानको व्यवस्था मिलाउने नीति नगरपालिकाले लिइएको छ। नगरपालिका भित्रका सिकाई केन्द्र र बाल विकास शिक्षक, कर्मचारीहरुको सेवा सुविधामा संघ सरकारसंगको सहभागितामा थप सुविधा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइने भएको छ ।
संस्थागत विद्यालयहरुद्वारा लिइएको शुल्क सम्बन्धमा अध्ययन गरी कानून बमोजिम नियमन गर्ने नीति लिएको नगरपालिकाले आधारभूत मापदण्ड निर्माण गरी संस्थागत विद्यालयलाई व्यवस्थित गर्ने, नगरपालिका भित्र बोलिने भाषिक अध्ययन अनुसन्धान गरी सबै भाषा, संस्कृति, ललितकला, प्राचिन, ऐतिहासिक स्थलहरुको संरक्षण सम्बद्र्धन गर्ने कार्यको व्यवस्थापन गरिने भएको छ ।
नगरपालिका भित्र बसाईसराई र जन्मदर घटेका कारणले कतिपय विद्यालयहरुमा विद्यार्थी संख्या घट्दै गएको अवस्थाको विस्तृत अध्ययन गरी आवश्यकताका आधारमा विद्यालय समायोजन गरी समायोजन हुने विद्यालयका भौतिक संरचनाहरुको वैकल्पिक प्रयोगका लागि स्थानीयसँग सहकार्य गर्ने नीति लिएको नगरपालिकाले व्यासका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुवाट शिक्षकहरुको कार्यसम्पादन मूल्याङ्कन विषयगत उपलब्धिका आधारमा शिक्षा ऐन, नियमावलीले तोकेको अवधि अनुसार शिक्षक दरबन्दी व्यवस्थापन पद्धतिलाई व्यवस्थित गर्ने भएको छ ।
बालबालिकाको नगर, वडा सञ्जाल र सिकाई केन्द्रको जनशक्तिलाई क्रियाशिल बनाई बालबालिकाका विविध पक्षमा निरन्तर सम्वाद गरी बालमैत्री नगरपालिका बनाउन आवश्यक व्यवस्था मिलाउने नीति ल्याएको नगरपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुको प्रोत्साहन सुविधा थप गर्ने व्यवस्थालाई निरन्तरता दिने, प्रधानाध्यापक छनौट हुँदा पेश गरिएको विकास प्रस्तावको हरेक दुई वर्षमा कार्यसम्पादन मूल्याङ्कन गरिने भएको छ ।
नगरको कला, साहित्य आदिको प्रवद्र्धन गर्न गठिछ प्रज्ञा सभालाई स्रोत साधन सहित क्रियाशील बनाउने, स्काउटिङ शिक्षा विकासको आधारभूत तालिम सञ्चालन गर्न एक माध्यमिक विद्यालय एक स्काउट युनिट बनाई आवश्यक सहयोग गर्ने, समायोजन भएका विद्यालयका संरचनाको सदुपयोगका लागि प्राविधिक÷सिपमूलक शैक्षिक कार्यक्रम सञ्चालन गर्न अध्ययन गर्ने, आगामी वर्ष वडा र नगर बजेटबाट अनिवार्य रुपमा प्रत्येक वडाको सिफारिसमा न्यूनतम १ जना विपन्न एवं जेहन्दार विद्यार्थीलाई व्यास नगरपालिका भित्रकै विद्यालयमा अध्ययन गरेमा पूर्ण छात्रवृत्तिको व्यवस्था गरिने भएको छ ।










