शुक्लागण्डकी नगरपालिकाले वडामै पुगेर योजना सम्झौता गर्दै
दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले नगर स्तरीय योजनालाई प्रभावकारि रुपमा सञ्चालन र सम्पन्न गर्न वडामै पुगेर योजना सम्झौता गर्न सुरु गरेको छ । नगरपालिकाले आवश्यकता अनुसार वडामै पुगेर योजना सम्झौता शिविर सञ्चालन गर्ने उद्देश्य सहित सोमबारबाट शिविर सुरु गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र लामगादेले बताए ।
जनतालाई घरदैलोमै पुगेर सेवा दिने नगपालिकाको लक्ष्य अनुसार सोमबार वडा नम्वर २ मा शिविर सञ्चालन गरिएको थियो। उक्त शिविर मार्फत १६ वटा योजना सम्झौता गरिएको नगरपालिकाका सुचना अधिकारी एवं प्रशासन शाखा प्रमुख लक्ष्मण लम्सालले बताए ।
लम्सालका अनुसार नगर स्तरीय पूर्वाधार विकासका योजनाहरु सम्झौता गर्न नगरपालिकाका कर्मचारी र बैंकका कर्मचारीहरु संयुक्त रुपमा वडामै पुग्ने व्यवस्था मिलाइएको छ ।
शिविर सञ्चालनबाट नगरस्तरीय योजना समयमा नै सम्पन्न गर्न सहयोग पुग्ने विश्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत लामगादेले बताए । उनले भने, ‘उपभोक्ता समिति योजना सम्झौता गर्न ढिला आउने र काम समेत समयमा नहुने भईहालेपनि गुणस्तरीय नभएको पाइएकाले नगरपालिकाले शिविर मार्फत सेवा दिन थालेको हो ।’
नगरपालिकाले वडामै आएर योजना सम्झौताका लागि शिविर सञ्चालन गरिदिएपछि पालिकामै पुग्नुपर्ने र कुनै कागजात नपुगेमा पटक पटक धाउनुपर्ने बाध्यता हटेको उपभोक्ताहरुले बताएका छन् ।