प्राकृतिक सौन्दर्यसंग रमाउन चित्लाङ जाने हो ?
के.बि. मसाल
शहरी क्षेत्रमा धुलो र धुवाँमा दिन बिताउन बाध्य भएका मानिसहरु फुर्सदको समयका आजभोली शान्त प्राकृतिक गाउँ ठाँउहरुमा भ्रमण गर्न रुचाउछन । मकवानपुरको चित्लाङ गाउँमा यतिबेला जहाँ हे¥यो, त्यहीँ हरियो देखिन्छ । तीनतिर सल्ला, कटुस र विविध बनस्पतीले भरिएका हरिया पहाड । मैदानी फाँटमा खेतीयोग्य जमिन, घाँसे मैदान र नासपातीका बोट! बनै हरियो, मनै हरियो। आजभोली चन्द्रागिरी डाँडालाई कपासको थुप्रो जस्तो बादलले घेरीएको दृष्य । हरिलो, भरीलो र झरीलो मौसममा रमणीय पर्यटकीय गाउँ चित्लाङ जान सकिन्छ ।
चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत रेञ्ज छ। यो प्राचीन गाउँमा नेवार, बाहुन क्षेत्री र तामाङ जातीका मानिसहरुको बसोवास छ । लिच्छवीकालदेखि नै काठमाडौंबाट तराईतर्फ लाग्ने मानिसहरु चन्द्रागिरी डाँडो पार भएर चित्लाङ हुँदै जाने गर्थे। चित्लाङका बारेमा रोचक र ऐतिहासिक सन्दर्भ छन् । चित्लाङ राजा अंशु बर्माले गोठालाहरुलाई उपहारमा दिएको गाउँ हो । त्यति मात्र हैन, द्वापरयुगमा सप्तऋषिहरुले नुहाउने सप्तश्री धारा पनि चित्लाङको सम्पदा हो । वि.सं ३१६ मा सम्राट अशोकद्वारा निर्मित अशोक चैत्य पर्यटकको अर्को आकर्षण हो । चित्लाङको भालेबास डाँडोलाई भगवान शिव मानेर पुज्ने गरिन्छ ।
चन्द्रागिरिबाट मकवानपुर झर्दा पहिलो धाराको रुपमा रहेको गुर्जुधारामा बसेर सुस्ताउँदै महाकवि लक्ष्मीप्रसाद देबकोटाले १९९८ मा कविता लेखेका थिए । चन्द्रगिरिको फेदी चित्लाङमा रहेको धारामा बसिरहेका देबकोटाले पशुपति दर्शनका लागि अर्को व्यक्तिको काँधका बोकिएर आएका भारतीय तीर्थयात्रीलाई देखेर यो कुन मन्दिरमा जान्छौ यात्री….. भन्ने कविता लेखेका हुन् । देबकोटाले धारामा पानी पिएर थकाइ मारेर बसेको भनिएको ढुंगा अझै छ । यसैबाट सुरु हुन्छ मकवानपुरको चित्लाङको पर्यटकिय गन्तव्य । चित्लाङ मल्ल काल र राणाकालपछि लगभग २०१२ सालसम्म निकै भीडभाड रहने ठाउ हो । २०१३ सालमा त्रिभुवन राजपथ निर्माण भएपछि भने चित्लाङको चहल पहल घटदै गयो । २०३४ सालमा कुलेखानी कुल्छाङ मार्ग खुलेपछि भने चित्लाङको मुहार फेरिन थाल्यो। अहिले टौखेल नारायणहिटी, चन्द्रागिरी थानकोट कच्ची सडक खुलेको छ र बीचमा पर्ने चन्द्रागिरि केवलकारले गर्दा पर्यटकहरुको गन्तव्य भएको छ ।
चित्लाङमा तीन तिर हरिया पहाडले ढाकिएको र बिचमा समथर खेतीयोग्य जमिन छ । चित्लाङबासीले गाउँमा पुग्ने पर्यटकहरुलाई नाङलामा सगुन र नास्पतिको लोकल रक्सीले स्वागत गर्न मनपराउँछन् । पर्यटकको स्वागत सत्कार गर्न उनिहरु जंगली फूलहरु जोडेर आकर्षक माला तयार पार्दछन । कल्पना नै नगरेको आतित्थ्य सत्कार पश्चात् होमस्टे अर्थात घरवासमा पर्यटकहरुलाई लैजान्छन । चित्लाङ पुग्ने पर्यटकहरु गाउँलेको घर घरमा बाढिनु पर्दछ । घरवास सेवा उपलब्ध गराएका घरहरुले बढिमा ४–५ जनासम्म पर्यटकलाई सजिलै वासस्थान र खानाको उचित व्यवस्था मिलाउन सक्छन् । आफ्नै बारीको साग टिप्छन आफ्नै जाँतोमा अन्न पिस्छन अनि पकाएर पर्यटकलाई दिइन्छ । यहाँ सकेसम्म विकासे र सहरबाट आयतित उत्पादनलाई त्यति महत्व दिइदैन । हरिया फाँट र नजिकैको जंगल हेर्दै, गाँउ घुम्दै, स्थानीय मठमन्दिर नियाल्दै, घरेलु खानाको मजा लिदै, चित्लाङमा रम्न सकिन्छ ।
गाउँलेहरु पर्यटकहरुलाई आफूले सुनेका भोगेका सत्य तथ्य कुराहरु सुनाउँछन । त्यतिमात्र कहाँ होर, चित्लाङको घरका छानाहरुले इतिहास बोल्दछन् प्राय घर महारानी एलिजावेथको चित्र अंकित टिनका पाताले छाइएका छन् । नेपाल भ्रमणमा आउने बेलायति पाहुनाहरुले कुनै समय आफ्नो खाना र खजाना बोकेर ल्याएका टिनका बाकसहरु चित्लाङमा छोड्दै गर्दा गाउँलेहरुले उक्त टिनको पाताहरुले घर छाएका छन । भीमफेदीबाट चित्लाङ हुदैं काठमाण्डौंमा राणाहरुका भाडा र गाडी बोक्ने धनबहादुर गोले, मार्खुका जयबहादुर घिसिङ, सर्वाङका कान्छा वाइवा र तसरका वाइवा थरका मानिसहरु जन्मेको थलो पनि हो चित्लाङ । कोट्याउँदै जादाँ चित्लाङमा धेरै कुराहरु भेटिन्छ ।
चित्लाङमै उत्पादित ट्राउट माछा अनि चित्लाङकै घाँस खाएका दुधालु बाख्राको दुधबाट उत्पादित चिजको स्वाद लिनु चित्लाङ पुग्नुको अर्को मज्जा हो । जुन नेपालका अन्य गाउँहरुमा बिरलै पाइन्छ । मकवानपुरमा रहेको चित्लाङ गाउँपालिका पछिल्लो समय पर्यटकिय गन्तव्यको रुपमा विकसित हुँदै गएको छ। अर्गानिक भिलेजको रुपमा परिचित चित्लाङको प्राकृतिक सौन्दर्य, सांस्कृतिक र धार्मिक महत्वका कारण आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ। चन्द्रागिरी डाडाँको फेदमा रहेको चित्लाङले पछिल्लो समय अर्गानिक खेतीमा अभ्यास गरिरहेको छ भने पर्यटकका लागि अर्गानिक होटल, रिसोर्ट र होमस्टेलाई प्राथमिकतामा राखेको छ । चित्लाङ पुग्ने पर्यटकले अर्गानिक खाना, अर्गानिक वासस्थल र अर्गानिक खेती र वन जगलको अवलोकन गर्न पाएका छन ।
मकवानपुरको चित्लाङमा आन्तरिक एवम् वाह्य पर्यटकहरु आकर्षित भएकाले होमस्टे फस्टाउन थालेको छ । चित्लाङमा अहिले १२ वटा होमस्टे सञ्चालनमा छन्। चित्लाङमा स्थानीयवासीले २०६८ सालमा चारवटा होमस्टे स्थापना गरेका थिए । थानकोट–चन्द्रागिरी केवलकार सन्चालनमा आएपछि चित्लाङमा आन्तरिक एवम् वाह्य पर्यटकहरुको सख्या बढन थाल्यो । चित्लाङमा पर्यटकहरुको आवागमन बढेकाले होमस्टेको संख्या पनि थपिँदै गएको छ । पहिला–पहिला शुक्रवारमात्र थानकोटबाट हिँडेर आन्तरिक एवं वाह्य पर्यटकहरु चित्लाङ पुग्ने गर्दथिए । अहिले साता भरिनै होमस्टेमा बस्न पर्यटकहरु पुग्ने गर्दछन । कहिले काँही बस्ने ठाउँ नपुगेर टेन्ट गाडेर पनि पर्यटकहरु बस्ने गरेका छन ।
केवुलकारको सन्चालनसँगै चित्लाङमा प्राचिन सम्पदाको अध्ययन अवलोकन गर्न आउने पर्यटकहरुको संख्या पनि बढेको छ। राजधानी नजिक रहेको प्राकृतिक मनोरम चित्लाङ घुम्न आउने पर्यटकहरुको संख्या बढदै गएको छ । मकवानपुरको ऐतिहासिक स्थानको रुपमा रहेको चित्लाङ प्राचिन सम्पदाले मात्र होइन, कला संस्कृतीले पनि धनी छ । ट्राउट माछा र बाख्राको चिजको स्वाद चाख्न समेत पर्यटकहरु चित्लाङ पुग्ने गरेका छन् । सम्राट अशोकले बनाएको अशोक चैत्य र किराँत राजाहरुले बनाएका मन्दिर र शिलालेखका कारण इतिहासका विषयमा अध्ययन गर्न आउने पर्यटकको संख्यामा समेत बृद्धि भइरहेको छ । चित्लाङमा होमस्टे सञ्चालन गरेका स्थानीय बासिन्दाले पर्यटकहरुसँग प्रतिव्यक्ति प्रतिदिन एकहजार दुईसय रुपियाँ लिने गरेका छन्। बेल्जियम, फ्रान्स, अष्ट्रेलियालगायत अन्य केही युरोपियन मुलुकबाट आएका पर्यटकले बाख्राको चिज मनपराउछन ।
चित्लाङ जैविक विविधताले भरिपूर्ण छ। ६० जातका अर्किड फूलहरु, चिराइतो, पाँच औंले, जतामसी, सुनाखरी, लालीगुराँस, मालतागिरी, मजिटो, पाखनवेथ जस्ता फूल तथा जडिबुटीहरु चित्लाङ को हावापानीमा पाइन्छन् । फलफुलहरुमा नास्पती, भुई स्याउ, आरुबखरा जस्ता फलहरु फल्छन् । आरुबखरा तथा नास्पतीबाट वाइन तैयार पारेर निर्यात पनि गरिन्छ । बाखा्रको दूधबाट बनेको चिज राजधानीका महंगा होटलहरुमा बिक्री समेत गरिन्छ । सबै भन्दा गुलियो मुला चित्लाङमा पाइन्छ । आजभोली चित्लाङमा जैतुनको खेती पनि गरिएको छ । अंग्रेजीमा ओलिभ नामले चिनिने जैतुनको तेल सलादमा प्रयोग गर्ने गरिन्छ । चित्लाङमा मृग, बँदेल, चितुवा, काठे भालु, भुइ भालु, दुम्सी जस्ता स्तनधारी जनवारहरु पनि देख्न सकिन्छ । यो बाहेक संसारको दुर्लभ चरा काँडे भ्याकुर बस्ने ठाँउ पनि चित्लाङ नै हो । चित्लाङको पहिलो नाम चित्रापुर थियो । चैत्य जाने बाटो भएकोले यसको नाम चैतलोङ थियो र पछि अपभ्रंस भएर चित्लाङ रहन गएको हो ।
विशेषतः चित्लाङ गाउँमा नेवार जाती बढी पाइन्छन् । नेवारीमा बलामी जातीको पुख्र्यौली बासस्थान मानिएको छ । बलामीहरुले बैशाख पंचमीमा कुल देवताको पुजा गर्ने गर्छन् । बाह्र बर्षे भैरवनाथ जात्रा, भैरव तथा महादेव जात्रा, ५०० वर्ष पुरानो कार्तिक नाच, खड्ग जात्रा र गोदावरी मेला चित्लाङका प्रसिद्ध पर्वहरु हुन् । चित्लाङ गाउँबाट ३ घण्टाको पैदल यात्रा गर्ने हो भने शिखरमा रहेको बलेश्वर महादेव स्थान पुग्न सकिन्छ । जहाँबाट काठमाण्डू उपत्यका पुरै देखिन्छ।
चित्लाङको नयाँ पौवास्थित खोलामा विसं १९५० तिर निर्माण भएको १० मिटर लम्बाई र साढे १ मिटर चौडा ढुंगेसाँघु रहेको छ । चित्लाङस्थित चन्द्रागिरी पाखाबाट ठूलो ढुंगालाई छिनालेर ताछेर साँघुको आकार दिइएको थियो । महिनौं लगाएर साँघुको आकारमा ढुंगा कुँदेपछि पौवा खोलामा ल्याएर हालिएको थियो । करिब १२४ वर्ष अघिदेखि सञ्चालनमा आएको यो साँघुको कसैले मर्मत पनि गर्नुपरेको छैन र जोखिम पनि मोल्नु परेको छैन । चित्लाङ पुग्ने स्वदेशी एवं विदेशी पर्यटक ढुंगाको यो साँघु देखेर अचम्मित हुन्छन् ।
चित्लाङ पुगेपछि धेरै पर्यटक जंगल सफारी, गाउँघरको वातावरण अध्यन अवलोकन गर्न रुचाउछन । यसको लागि चित्लाङ महत्वपूर्ण स्थल मानिन्छ । आजभोली शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरुले पर्यटन भन्ने बित्तिकै एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन । शहरी युवा पुस्ताको चासो समेटने यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । पर्यटनको भाषामा बुझ्दा डाँडाकाँडामा हाइकिङ अर्थात पैदल भ्रमण गर्ने भन्ने अर्थ लाग्दछ । चित्लाङ पुगेपछि पर्यटकहरुलाई हाइकिङ गर्ने स्थलहरु धेरै छन । चित्लाङबाट कुलेखानीको इन्द्रसरोवर ताल सम्म हाइकिङ गर्न सकिन्छ । विद्युत आपूर्ति गर्दै आएको इन्द्र सरोवर ताल नेपालको सबैभन्दा ठूलो मानव निर्मित जलाशय हो । यही सरोवरको पानीबाट कुलेखानीमा विद्युत उत्पादन गरिन्छ । जलविद्युत आयोजनाका लागि निर्मित यो सरोवर रमणीय पर्यटकीय क्षेत्रको रुपमा विकसित भएको छ । कुलेखानी अर्थात इन्द्र सरोवरसम्म सडक यातायात पनि सन्चालनमा छ । तर पनि चित्लाङ पुग्ने धेरै पर्यटकहरु हाइकिङ गर्दै जान रुचाउछन ।
चित्लाङमा हरियाली घाँसे चउर र नासपातीको घना बगैचाकै विचमा काठ, ढुंगा, माटो र टिनबाट बनाइएका स–साना कटेज देखिन्छन् । कटेज शानदार छ । फ्रि वाईफाई त हुने नै भयो । दुई रात बस्नेलाई लन्च फ्रि रातमा क्याम्प फायरको मजा । गर्मी महिनामा पनि चित्लाङमा साँझ परेपछि जाडो हुन्छ, पातलो ज्याकेट त लगाउनैपर्छ । १० हजार जनसंख्या भएको चित्लाङको उत्तरतर्फ चन्द्रागिरी डाँडा र दक्षिणतिर महाभारत रेञ्ज छ । यो प्राचीन गाउँमा नेवार, बाहुन क्षेत्री र तामाङ जातीका मानिसको बसोवास छ । काठमाडौंको दक्षिण पश्चिम तथा मकवानपुरको उत्तरी सीमास्थित २ हजार मिटरको उचाइमा महाभारत पर्वत श्रृंखलामा पर्दछ। यहाँबाट कुलेखानी जलविद्युत् परियोजनाका लागि निर्मित इन्द्रसरोवर, पालुङ, दामन तथा सीमभञ्ज्याङका मनमोहक दृश्यहरु देख्न सकिन्छ ।
नेपाल पर्यटन बोर्डले चित्लाङलाई पर्यटकीय गाउँ घोषणा गरेको छ । विभिन्न जातजाति, भाषाभाषी र संस्कृतिको संगम रहेको चित्लाङमा अशोक सम्राट्ले निर्माण गरेको अशोक चैत्य रहेको छरु। चैत्यको अवलोकन गर्न चीन, तिब्बत लगायत विभिन्न मुलुकका बौद्धमार्गीसमेत पुग्ने गर्दछन । थानकोटबाट १२ किलोमिटरको दूरीमा रहेको चित्लाङमा १२ होमस्टे र चार रिसोर्टछन । स्वच्छ र चिसो हावापानी रहेको चित्लाङमा फागुन महिनादेखि आन्तरिक एवं बाह्य पर्यटक पुग्ने गर्दछन। सधैँ चिसो र ठण्डा हुने चित्लाङमा थानकोटबाट केबलकार, हलुका सवारीसाधन वा पैदलै पुग्न सकिन्छरु। शुक्रबार र शनिबार यहाँका होमस्टे र रिसोर्ट भरिभराउ हुने गर्छन ।
शहर बजारको उकुसमुकुसबाट केहि समयका लागि छुटकारा पाउन सुन्दर विकल्प हो चित्लाङ । यहाँ बस्न खान कुनै समस्या छैन । गाउँमा होमस्टे चलाएका छन् । होमस्टेमा बसेको खाएको एकजनाको १२ सय रुपैयाँ तिर्नुपर्छ । समय छ भने १ घन्टामै मार्खु र कुलेखानी पुग्न सकिन्छ। कुलेखानीको नीलो र शान्त पानीमा बोटिङ गर्न सकिन्छ । चित्लाङमै सरकारी बाख्रा फार्म पनि छ ।
कहाँबाट जाने ?
केवलकारबाट जाने हो भने ! काठमाडौंबाट थानकोटका लागि गाडी पाइन्छ । त्यही गाडीबाट पुग्न सकिन्छ केबलकारको स्टेशन। तपाइँ कोटेश्वरबाट आउनुहुन्छ भने कलकी पुगेर थानकोटको अर्काे बस चढेर पनि त्यहाँ पुग्न सकिन्छ। यदि नयाँ बसपार्क गोगंबुबाट जाने हो भने पनि कलंकी आइपुगेर थानकोट सम्म चल्ने अर्काे गाडिमा जान सक्नुहुन्छ। थानकोट चेकपोष्टबाट झन्डै १.५ किलोमिटर बायाँ तर्फ गएपछि केवलकारको बेश स्टेशन भेटन सकिन्छ ।
चित्लाङ काठमाडौं उपत्यकादेखि करिब १९ किलोमिटर दक्षिण पश्चिम मकवानपुरमा पर्दछ । काठमाडौंको थानकोट गोदामहुँदै सडक मार्गबाट आठ हजार फिट उचाईको चन्द्रागिरी पहाड पारगरी मोटर मार्गबाट पनि करिव १ घण्टाको यात्रापछि चित्लाङ पुग्न सकिन्छ ।