सम्पादकीय : तनहुँ र तनहुँ महोत्सव

नेपालको सामाजिक र आर्थिक जीवनमा महोत्सवहरूको महत्वपूर्ण भूमिका छ । दसैँतिहारजस्ता ठूला चाडपर्वपछि सुरु हुने मेलामहोत्सवले विशेषगरी हिउँदको याममा आर्थिक गतिशीलता र सांस्कृतिक पहिचानलाई जोड्ने सेतुको रूपमा काम गरिरहेको छ । तनहुँ प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, साहित्यिक लगायत विविध आयमले महत्वपूर्ण जिल्ला हो । यहाँ सञ्चालन गरिने मेला महोत्सवले छुट्टै पहिचान र महत्व झल्काउँदै पनि आएका छन् । पछिल्ला वर्षहरुमा हरेक पालिकाका बजार क्षेत्रमा समेत साना–ठूला मेला महोत्सव सञ्चालन गर्न थालिएको छ । तनहुँको परिवेशमा हेर्ने हो भने करिब २७ वर्ष अगाडि सन् १९९८ मा पर्यटन प्रवद्र्धनका लागि भन्दै बन्दीपुरमा पहिलो पटक महोत्सव आयोजना गरिएको थियो । बन्दीपुरपछि २०६१ सालमा दमौलीमा आदिवासी जनजाति महोत्सव गरिएको थियो भने २०६३ मा पहिलो तनहुँ महोत्सव गरिएको पाइन्छ । यससंगै दमौलीमा नेपाल आदिवासी जनजाति महासंघ तनहुँ, तनहुँ उद्योग वाणिज्य संघ, संघमा आवद्ध दमौली बजार इकाईले समेत पटक पटक मेला महोत्सव सञ्चालन गर्दै अहिले तनहुँ उद्योग वाणिज्य संघले ‘नवौ तनहुँ महोत्सव–२०८१’ आयोजना गरेको छ । मुलुक संघीय संरचनामा गएसंगै कायम भएका १० वटा पालिकामा रहेका विभिन्न संघ संस्थाहरुले पनि समयसमयमा मेला महोत्सव गर्दै आएका छन् । तर, पछिल्ला वर्षहरुमा स्थानीय आवश्यकतालाई भन्दा पनि केही व्यक्ति वा संघ संस्थाको फाइदाका हिसावमा (ठेक्कामा) मेला महोत्सव सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको छ ।
पछिल्ला वर्षहरुमा आर्थिक सुस्तता, रोजगारीको अभाव र स्थानीय उत्पादनप्रति घट्दो रुचिका कारण धेरै क्षेत्र समस्यामा छन् । यस्तो अवस्थामा महोत्सवहरूले नयाँ आशा र उत्साह प्रदान गर्छन । मेला महोत्सवजस्ता कार्यक्रमले न केवल स्थानीय व्यापार प्रवद्र्धन गर्छन्, तर स्थानीय कला, संस्कृति र परम्परालाई पनि संरक्षण गर्ने जिम्मेवारी वहन गर्छन् । महोत्सवहरूले स्थानीय उत्पादनलाई प्रोत्साहन दिने, पर्यटनको प्रवद्र्धन गर्ने र व्यापारिक गतिविधि सजीव बनाउने गर्छन्। विशेषगरी कृषि उत्पादन, हस्तकला र घरेलु उद्योगका सामग्रीका लागि यस्ता महोत्सवले बजार उपलब्ध गराउन सक्नुपर्दछ । मेलामा हजारौँ दर्शकहरूको सहभागिता हुने भएकाले व्यापारीहरूले नयाँ ग्राहक पाउने अवसर प्राप्त गर्छन् । अंग्रेजी नयाँ वर्षसंगै पर्यटकीय नगरी बन्दीपुरको प्रवद्र्धनका लागि ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ कार्यक्रम घोषणा गरी ‘सडकमै खाउँ, सडकमै रमाउँ’ जस्ता रचनात्मक नाराका माध्यमबाट पर्यटन प्रवद्र्धनमा विशेष योगदान दिएको छ । यस्ता कार्यक्रमले केवल व्यवसायलाई राहत दिने मात्र होइन, स्थानीय र विदेशी पर्यटकलाई नयाँ अनुभव प्रदान गर्छन् । महोत्सवहरू सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धनका लागि उत्कृष्ट माध्यम बन्न सक्नुपर्छ । लोपोन्मुख झाँकी, नृत्य, र मौलिक वेषभूषालाई महोत्सवमा स्थान दिइनुले यी परम्पराहरूलाई नयाँ जीवन दिन मद्दत पु¥याउँछ । आयोजकले पैसा खर्च गरेर भएपनि यस्ता सांस्कृतिक कार्यक्रमलाई महोत्सवमा समेट्नु सकारात्मक पक्ष हो ।
महोत्सवले केवल व्यापार र मनोरञ्जनका लागि मात्र नभई सामाजिक उत्तरदायित्वका लागि पनि काम गर्छ । विभिन्न संघ संस्थाले महोत्सव मार्फत आएको रकमलाई सामाजिक काममा पनि खर्च गर्दै आएका छन् । यस्ता कार्यले महोत्सवलाई थप अर्थपूर्ण बनाउन मद्दत पुग्दछ । यद्यपि महोत्सवको प्रभाव व्यापक छ, आयोजकहरूले यसको दीर्घकालीन प्रभावबारे पनि सोच्न आवश्यक छ। महोत्सवहरू समयमै व्यवस्थित गर्न, प्रदूषण नियन्त्रण गर्न र स्थानीय जनतासँग सहकार्य गर्न आवश्यक छ । आयोजकहरूले व्यापारिक फाइदाभन्दा पनि सांस्कृतिक र सामाजिक दायित्वलाई प्राथमिकतामा राख्नुपर्ने समय आएको छ । मेलामहोत्सवले व्यापार, पर्यटन र संस्कृतिलाई जोड्ने मञ्च प्रदान गर्दछ । यस्ता कार्यक्रमहरूले देशको समग्र आर्थिक र सामाजिक जीवनमा सकारात्मक योगदान पु¥याउने हुँदा सरकारले पनि यिनलाई प्रोत्साहन गर्न र आवश्यक सहयोग पु¥याउनु पर्दछ । महोत्सवले स्थानीय कला, संस्कृति र परम्परालाई जीवन्त राख्दै, आर्थिक गतिशीलता र सामुदायिक सहकार्यको उदाहरण प्रस्तुत गर्न कञ्जुस्याई गर्नु हुँदैन। हिउँदको यो याम केवल चिसो मौसमको समय मात्र नभई मेलामहोत्सवको उज्यालो र रौनकले भरिएको समय बनेको छ । महोत्सवले देशलाई सकारात्मक उर्जासहित प्रगतिपथतर्फ डो¥याउन सघाउ पु¥याउने विश्वास छ ।