संहिता दिवस : तनहुँ वारद्वारा साइवर कानुन सम्बन्धी अभिमुखीकरण
भञ्ज्याङन्यूज

नेपाल बार एशोसिएशन तनहूँ जिल्ला बार इकाईले मुलुकमा संहिता कानुन लागु भएको छैटौं स्थापना दिवसको अवसर पारेर अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ ।
अभिमुखीकरण कार्यक्रममा बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले सहजीकरण गर्दै साइवर कानुन सम्बन्धी अवधारणा शिर्षमा कानुन व्यवसायीहरुलाई अभ्यासमा जाँदा चाहिने कानुन र त्यसको व्यवहारिक अभ्यासका बारेमा प्रष्ट्याएका थिए ।
विद्युतीय इलेक्ट्रोनिक कारोवार ऐन २०६३ मा भएका मूलभूत व्यवस्थाहरुको बारेमा गर्दै उनले कानुन व्यवसायीहरुका लागि आवश्यक पर्ने र्साईवर कानुनमा प्रयोग भएका प्राविधिक शब्दावलीहरुको बारेमा स्पष्ट पारेका थिए ।
तनहुँमा कार्यरत २८ जना कानुन व्यवसायीहरुको सहभागिता रहेको सो अभिमुखिकरणमा ऐनले गरेको सजाय सम्बन्धी व्यवस्था, मुद्दाको शुरु कारवाही र किनारा, पुनरावेदन सम्बन्धी व्यवस्थाको बारेमा जानकारी गराइएको छ ।
भारत र नेपालको कानुनी अभ्यासको बारेमा चर्चा गर्दै बरिष्ठ अधिवक्ता वाग्लेले नेपालमा विद्युतीय कारोवार ऐन २०६३ आउनु भन्दा अगाडि पनि यस्ता कसूरलाई गालीवेइज्यती सम्बन्धी ऐन अन्तर्गतको कसूरमा कारवाही चलाईने अभ्यासका विषयमा सहभागिहरुलाई जानकारी गराइएको थियो ।
अभिमुखीकरण कार्यक्रममा बरिष्ठ अधिवक्ता वाग्लेले अहिले मुलुकी अपराध संहिताले पनि विद्युतीय माध्यमद्वारा गोपनीयता भङ्ग गर्न नहुने र छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न नहुने जस्ता व्यवस्था गरेको सम्बन्धमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा बरिष्ठ अधिवक्ता परशुराम गिरीले र्साईवर क्राईम सम्बन्धी कसूरको जाहेरी दिन त पाईने भयो तर लिने व्यवस्था नै झन्झटिलो भएको तर्फतनहुँ बार र सम्पूर्ण कानुन व्यवसायीको ध्यानाकर्षा गराएका थिए ।
अधिवक्ताद्वय शिवदत्त ढकाल र ऋषिराम पोख्रेलले तनहुँ बारको समसामयिक अभिमुखीकरण कार्यक्रम गर्ने प्रयासको प्रसंसा गरेका थिए ।
विद्युतीय अपराध सम्बन्धी कसूरको कारवाहीलाई नेपाल सरकारको २०८० असार ११ गतेको मन्त्रीपरिषदको निर्णय अनुसार २०८० साउन १ गतेबाट विद्युतीय कसूर र बैंकिङ्ग कसूर सम्बन्धी कारवाही जिल्ला अदालतको क्षेत्राधिकारभित्र ल्याइएपछि तनहुँ बारले अभिमुखीकरण गर्ने आवश्यकता महसुस गरी यो कार्यक्रम गरिएको अध्यक्ष डम्बरदेव हड्खलेले बताए ।
यस्तै, सचिव हरिमान श्रेष्ठले संहिता दिवसमा के कार्यक्रम गर्ने भनेर परामर्श हुँदा साइवर क्राइमको नयाँ अभ्यासका बारेमा अभिमुखीकरण नै गर्न उपयुक्त हुने निकर्ष निकालेको बताए ।










