भेटेरिनरी अस्पतालको भवन निर्माण सम्पन्न
भञ्ज्याङ समाचारदाता (डुम्रे)
तनहुँको बन्दीपुर गाउँपालिकामा भेटेरेनरी अस्पतालको भवन निर्माण सम्पन्न भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालय, नेपाल लाइभस्टक सेन्टर र इनोभेसन आयोजनाको लगानीमा निर्माण शुरु भएको अस्पतालको भवन निर्माण सम्पन्न भएको हो । बन्दीपुर गाउँपालिका-१ नाहालामा गत भदौदेखि अस्पताल भवन निर्माण शुरु भएको थियो । रु ९८ लाख ६१ हजार ४४९ को लागतमा भवन निर्माण सम्पन्न भएको वडाध्यक्ष भानुभक्त पोख्रेलले जानकारी दिनुभयो । भवन निर्माणको ठेक्का व्यास नगरपालिका-२ स्थित सिएम निर्माण सेवाले पाएको थियो ।
उक्त भवनमा छ कोठाका साथै शल्यक्रिया कक्ष र डिस्पोजल कक्ष रहेको छ । बन्दीपुर गाउँपालिकाभित्र पशुपालन गर्ने कृषकको सङ्ख्या बढ्दै गएकाले पशुको उपचारका लागि भेटेरेनरी अस्पताल अति आवश्यकता थियो । “पशुको उपचार गराउनुपर्यो भने सदरमुकाम दमौली लैजानुपर्ने बाध्यता छ, यही अस्पताल निर्माण भएपछि कृषकले सहजरूपमा आफ्नै ठाउँमा सेवा पाउनेछन्”, पोख्रेलले भन्नुभयो ।
उक्त अस्पतालमा पशु चिकित्सकको दरबन्दीमा कर्मचारी खटिनेछन् । अस्पताललाई बन्दीपुर गाउँपालिका मातहत राख्न तयारी थालिएको छ । गाउँपालिकाको पशु शाखा नै यही भवनमा स्थानान्तरण गर्न लागिएको पोख्रेलले बताउनुभयो । “भवनको सम्पूर्ण काम सकिएको छ, ठेकेदारबाट हस्तान्तरण भएलगत्तै बाँकी काम थाल्छौ, उहाँले भन्नुभयो ।
भवन निर्माणका लागि सोही ठाउँ निवासी छलिमाया श्रेष्ठले एक रोपनी जग्गा गाउँपालिकालाई दान गर्नुभएको थियो। गाउँपालिकाको पशुपक्षी शाखाको नाममा करिब रु ७५ लाख मूल्य बराबरको जग्गादान गर्नुभएको थियो । वडाध्यक्ष पोख्रेलका अनुसार धेरै पहिलादेखि नै भेटेरेनरी अस्पताल निर्माणका लागि पहल भए पनि जग्गा नहुँदा काम अगाडि बढ्न सकेको थिएन ।










