तनहुँको भानुमा खाद्यान्न मिल सञ्चालनमा

डुम्रे : तनहुँको भानु नगरपालिका–१, डुम्रेस्थित पुलचोक नजिकै साजबोटेमा तोरी तथा खाद्यान्न मिल सञ्चालनमा ल्याइएको छ । आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले मिलको शुभारम्भ गर्दै कृषि क्षेत्रलाई मजबुत बनाउनका लागि वास्तविक किसानलाई अनुदान र प्रोत्साहन आवश्यक रहेको बताए ।
‘कृषिलाई मर्यादित र व्यावसायिक पेशाका रूपमा स्थापित गर्न सरकार तथा सम्बन्धित निकायहरूले किसानहरूलाई सहयोग गर्नुपर्दछ’, उनले भने, ‘कृषि पेशालाई अगाडि बढाउन वास्तविक किसानहरूलाई माथि उठाउनु आवश्यक छ । उनीहरूलाई अनुदानका साथै विभिन्न किसिमका सहुलियत प्रदान गरी प्रोत्साहन गर्नुपर्छ । यसले मात्र कृषि क्षेत्र मजबुत बन्न सक्छ र किसानको जीवनस्तर उकास्न सकिन्छ ।’
उक्त कार्यक्रममा भानु नगरपालिका–१ की वडा अध्यक्ष कान्छीमाया तामाङ, बन्दीपुर गाउँपालिका–१ का वडा अध्यक्ष शिवकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्षहरू घनश्याम श्रेष्ठ देवान, मानकाजी श्रेष्ठ लगायतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।
आठ जना युवाहरुको साझेदारको लगानीमा सञ्चालनमा ल्याइएको मिलको लागत २५ लाख रुपैयाँ रहेको र मिल प्रविधियुक्त भएकाले स्थानीय किसानहरूलाई सहज हुने मिल सञ्चालक समितिका सदस्य भानुभक्त पोखरेलले जनाए ।
उनका अनुसार, सेवा सरल बनाउन आधुनिक प्रविधिको प्रयोग गरिएको छ । आगामी चैत १५ गतेसम्म स्थानीयहरूले निःशुल्क सेवा लिन सक्ने व्यवस्था गरिएको छ ।