शुक्लागण्डकीको गोटपानीमा जिप दुर्घटना हुँदा ६ जना घाइते

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ गोटपानीमा बिहीबार जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन् । दुलेगौडाबाट स्याङ्जाको चिसापानीतर्फ जाँदै गरेको ग१ज ७४१० नम्बरको बोलेरो जिप सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेका अनुसार दुर्घटनामा जिप चालकसहित छ जना घाइते भएका छन् ।
घाइते हुनेमा जिप चालक स्याङ्जाको हरिनास गाउँपालिका–१ खैरिकोटका ३२ वर्षीय शिवबहादुर गुरुङ, २९ वर्षीय अमरबहादुर गुरुङ, ९४ वर्षीय रनबहादुर गुरुङ, ३९ वर्षीया निशा राना, ४८ वर्षीय चन्द्रबहादुर गुरुङ र ३४ वर्षीय मिलन गुरुङ रहेका छन् ।
दुर्घटनालगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले घाइतेको उद्धार गरी उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौडामा पठाएको जनाएको छ ।
जिपमा चालकसहित सात जना सवार रहेकामा एक जना भने सकुशल रहेका छन् । उनी दुर्घटनापछि आफ्नो गन्तव्यतर्फ गएको प्रहरीले जनाएको छ ।










