बन्दीपुरमा ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क बनाइँदै
राजमार्गका यात्रुलाई आकर्षित गर्ने लक्ष्य, श्रमदानबाट १५ लाखको काम सम्पन्न

बन्दीपुर : तनहुँको बन्दीपुरलाई पृथ्वीराजमार्गसँग जोडेर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले ६७ फिट अग्लो राष्ट्रिय झण्डासहितको पर्यटकीय पार्क निर्माण थालिएको छ । बन्दीपुर गाउँपालिका–१ तल्लोटारमा निर्माण गर्न लागिएको पार्कले राजमार्ग भएर यात्रा गर्ने पर्यटकलाई समेत बन्दीपुरसम्म आकर्षित गर्ने अपेक्षा गरिएको छ ।
पृथ्वीराजमार्ग नजिकै निर्माणाधीन पार्कमा राखिने विशाल राष्ट्रिय झण्डा बिहीबार पहिलोपटक बन्दीपुर बजारमा प्रदर्शन गरिएको छ । झण्डा प्रदर्शनमार्फत पार्क निर्माणको योजना सार्वजनिक गर्नुका साथै स्थानीयवासी र पर्यटकलाई यसबारे जानकारी गराउने उद्देश्य राखिएको निर्माण समितिले जनाएको छ ।
पार्कमा राखिने राष्ट्रिय झण्डा ६७ फिट अग्लो हुनेछ । यसको लम्बाइ ४५ फिट र चौडाइ ३० फिट रहनेछ । राष्ट्रिय झण्डालाई मुख्य आकर्षण बनाएर निर्माण गर्न लागिएको पार्कले बन्दीपुरको पर्यटकीय पहिचानलाई नयाँ आयाम दिने निर्माण पक्षको विश्वास छ ।
झण्डा पार्क निर्माण समितिका संयोजक शेरबहादुर रानाका अनुसार स्थानीयवासीको श्रमदानबाट निर्माण कार्य अघि बढाइएको छ । हालसम्म १५ लाख रुपैयाँभन्दा बढी बराबरको निर्माण कार्य सम्पन्न भइसकेको उनले जानकारी दिए । पार्कलाई पूर्णता दिन श्रमदानसँगै आर्थिक सहयोग जुटाउने अभियान पनि सञ्चालन गरिएको छ ।
निर्माणका लागि आवश्यक आर्थिक स्रोत जुटाउन तिहारको अवसर पारेर बन्दीपुर बजारमा देउसीभैलो कार्यक्रमसमेत गरिएको छ । सांस्कृतिक परम्परालाई सामुदायिक विकाससँग जोड्दै देउसीभैलोबाट संकलित रकम पार्क निर्माणमा खर्च गर्ने योजना बनाइएको स्थानीय अगुवा बासु पन्तले बताए ।
उनका अनुसार स्थानीयवासीको सक्रिय सहभागिता र सहयोगबाट निर्माण कार्यलाई निरन्तरता दिइएको छ । सामूहिक प्रयासबाट पार्क निर्माण सम्पन्न गरी बन्दीपुरमा अर्को पर्यटकीय आकर्षण थप्ने लक्ष्य रहेको उनले बताए ।
प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र परम्परागत नेवारी बस्तीका कारण बन्दीपुर मुलुककै परिचित पर्यटकीय गन्तव्यका रूपमा स्थापित छ । यहाँको पर्यटनलाई बजार क्षेत्र र पुराना बस्तीमा मात्र सीमित नराखी पृथ्वीराजमार्गसँग जोड्ने प्रयासका रूपमा पनि झण्डा पार्क निर्माणलाई हेरिएको छ ।
पोखरा र काठमाडौँबीच आवतजावत गर्ने यात्रुका लागि राजमार्ग नजिकै आकर्षक पर्यटकीय संरचना थपिँदा केही समय रोकिएर अवलोकन गर्ने, तस्बिर खिच्ने र बन्दीपुर प्रवेश गर्ने वातावरण बन्ने स्थानीयको अपेक्षा छ ।
विशेषगरी राजमार्गको यात्रालाई पर्यटनसँग जोड्न सके बन्दीपुरमा पर्यटकको आगमन र बसाइ दुवै बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । सामुदायिक सहभागितामा निर्माण भइरहेको झण्डा पार्कले राष्ट्रिय पहिचानको प्रतीकलाई पर्यटन प्रवर्द्धनको माध्यम बनाउने अपेक्षा गरिएको छ ।










