पर्यटकको चाप बढेसंगै बन्दीपुरमा पार्किङ समस्या

बन्दीपुर : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेसँगै बजार क्षेत्र पर्यटकले भरिभराउ हुन थालेको छ । पर्यटकको बढ्दो आगमनले स्थानीय व्यवसायी र पर्यटन व्यवसायीमा उत्साह थपिएको छ। तर, पर्यटकको चापसँगै सवारीसाधन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। विशेषगरी अव्यवस्थित पार्किङका कारण बजार क्षेत्रमा आवागमन प्रभावित हुन थालेको छ ।
बन्दीपुर बजारका साँघुरा सडक तथा पैदलमार्गमा सवारीसाधन जथाभावी पार्किङ गर्दा पैदलयात्रीलाई आवतजावत गर्न कठिन भएको छ । यसले सम्भावित दुर्घटनाको जोखिमसमेत बढाएको स्थानीयको गुनासो छ ।
स्थानीय सुदिन पौडेलले पर्यटकको आगमन बढ्नु सुखद भए पनि सवारीसाधन व्यवस्थापनमा ध्यान नदिँदा बजार क्षेत्र अस्तव्यस्त बन्न थालेको बताएका छन् । पर्यटकका सवारीसाधन जथाभावी पार्किङ हुँदा सर्वसाधारणले सहज रूपमा हिँडडुल गर्नसमेत नपाएको उनको भनाइ छ ।
पर्यटकको चहलपहल बढेसँगै त्यसअनुरूप पार्किङ र ट्राफिक व्यवस्थापनमा पनि सुधार गर्नुपर्ने पौडेलले बताएका छन् । उनले सम्बन्धित निकायले समयमै ध्यान दिएर पार्किङ व्यवस्थापनको उचित प्रबन्ध गर्नुपर्नेमा जोड दिएका छन् ।
पर्यटकीय आकर्षण, मौलिक कला, संस्कृति र सुन्दर बजारका कारण पहिचान बनाएको बन्दीपुरमा पर्यटकको संख्या बढ्नु अवसर हो । तर, बढ्दो पर्यटकीय गतिविधिलाई व्यवस्थित गर्न नसके त्यसले बजारको सौन्दर्य र पर्यटकको अनुभव दुवैमा नकारात्मक असर पार्न सक्छ । त्यसैले पर्यटकको स्वागतसँगै व्यवस्थित पार्किङ र प्रभावकारी ट्राफिक व्यवस्थापनलाई पनि प्राथमिकता दिनुपर्ने देखिएको छ ।










