फूलखेतीबाट आँवुखैरेनीका किसानले ११ लाख रुपैयाँ कमाए, झरीले २५ प्रतिशत फूलमा क्षति

४५ महिलाको सामूहिक उद्यम ४५ रोपनीमा विस्तार, तिहारमा फूल र माला बेचेर मनग्य आम्दानी

तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिकाका महिलाले फुर्सदको समयलाई आम्दानीको अवसरमा बदल्दै सयपत्री फूलखेतीबाट उदाहरणीय सफलता हासिल गरेका छन् । घरायसी कामबाट बचेको समय सामाजिक सञ्जालमा बिताउने प्रवृत्तिलाई उद्यमसँग जोड्ने प्रयासस्वरूप सुरु गरिएको सामूहिक फूलखेतीले अहिले महिलालाई आर्थिक रूपमा सबल बनाउनुका साथै गाउँमै रोजगारीको अवसर सिर्जना गरेको छ ।

आँबुखैरेनी गाउँपालिका–१ आँधीमूल यान्चोकटारका ४५ जना महिला तीन वर्षदेखि सामूहिक रूपमा फूलखेतीमा सक्रिय छन् । सामान्य प्रयासबाट सुरु भएको उनीहरूको उद्यम अहिले ४५ रोपनी क्षेत्रफलमा फैलिएको छ । यस वर्ष तिहारलाई लक्षित गरी उत्पादन गरिएको सयपत्री फूल र मालाको बिक्रीबाट यान्चोकटार महिला समूहले मात्रै १० लाख रुपैयाँ आम्दानी गरेको छ । गाउँपालिकाको वडा नं. २ र ३ का किसानले समेत फूल बिक्रीबाट एक लाख रुपैयाँ बराबरको कारोबार गरेका छन् ।

यसरी गाउँपालिकाभित्रका महिला समूह र किसानले यस वर्ष फूल तथा माला बिक्रीबाट कुल ११ लाख रुपैयाँ बराबरको कारोबार गरेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ । थोरै समय र सामूहिक श्रमबाट सुरु भएको प्रयासले व्यावसायिक रूप लिन थालेपछि महिलामा खेती विस्तार गर्ने उत्साह पनि बढेको छ ।

महिला समूहकी अध्यक्ष सुन्तली गुरुङले स्थानीय महिलालाई सामूहिक उद्यममा जोड्दै आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्यले फूलखेती सुरु गरिएको बताइन् । समूहमा आबद्ध महिलाले खेतमा फूल लगाउनेदेखि गोडमेल, फूल टिप्ने, माला उन्ने र बजारमा बिक्री गर्नेसम्मका काम आफैँ गर्दै आएका छन् ।

उनका अनुसार यस वर्ष फूलको माग राम्रो भएकाले उत्पादनले बजार पाएको छ । स्थानीयस्तरमै फूल उत्पादन हुन थालेपछि तिहारका लागि बाहिरबाट फूल ल्याउनुपर्ने अवस्था पनि कम हुँदै गएको छ । बजारको माग र बिक्रीबाट प्राप्त आम्दानीले महिलालाई थप उत्साहित बनाएको भन्दै उनले आगामी दिनमा खेती विस्तार गर्ने योजना रहेको सुनाइन् ।

आँबुखैरेनी गाउँपालिकाकी उपाध्यक्ष दुर्गा अर्यालले महिलाको फुर्सदको समयलाई उत्पादन र उद्यमसँग जोड्न सके आर्थिक आत्मनिर्भरता बढाउन सकिने बताइन । सामाजिक सञ्जालमा समय बिताउनुको सट्टा सामूहिक उद्यममा आबद्ध हुँदा महिलाले आफ्नै श्रम र सीपबाट आम्दानी गर्न सक्ने उनको भनाइ छ ।

उपाध्यक्ष अर्यालले भनिन्, ‘महिलाले घरायसी कामबाट बचेको समयलाई सदुपयोग गरेर फूलखेतीमार्फत आम्दानी गर्न थाल्नुभएको छ । यसले महिलाको आर्थिक अवस्थामा सुधार ल्याउनुका साथै उद्यमशीलता विकास गर्न पनि सहयोग पु¥याएको छ ।’

गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले स्थानीय महिलाले उत्पादन गरेको फूलले बजार पाउन थालेपछि गाउँमै फूलखेतीको सम्भावना बढेको बताए । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्दा किसानको आम्दानी बढ्नुका साथै तिहारमा बाहिरबाट फूल आयात गर्नुपर्ने निर्भरता घट्ने उनको भनाइ छ ।

यस वर्ष मौसमको प्रतिकूलताले भने फूलखेतीमा केही असर गरेको छ । गाउँपालिकाका कृषि तथा पशु शाखा प्रमुख सन्तोष केसीका अनुसार गत कात्तिक १३ र १४ गते परेको वर्षाले सयपत्री फूलखेतीमा करिब २५ प्रतिशत क्षति पु¥याएको थियो । प्रतिकूल मौसमका बाबजुद पनि स्थानीय महिला समूह र किसानको सक्रियताले उत्पादन तथा बिक्री सन्तोषजनक रहेको उनले बताए ।

गाउँमै उत्पादन, गाउँकै श्रम र स्थानीय बजारको मागलाई जोडेर अघि बढेको आँबुखैरेनीको फूलखेतीले सामूहिक उद्यममार्फत ग्रामीण महिलाको आर्थिक सशक्तीकरण सम्भव छ भन्ने देखाएको छ । तिहारमा घर सजाउने र भाइटीकामा प्रयोग हुने फूल उत्पादनबाट सुरु भएको यो अभियान अब महिलाको आयआर्जन र व्यावसायिक पहिचान निर्माण गर्ने माध्यमसमेत बन्दै गएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker