बाढीपहिरोले विद्युत् प्रणालीमा ठूलो असर, १ हजार ३०३ मेगावाट बराबरको प्रणाली प्रभावित

पोखरा । अविरल वर्षापछि आएको बाढीपहिरोले देशका विभिन्न क्षेत्रमा विद्युत् प्रसारण तथा वितरण प्रणालीमा ठूलो असर पुर्‍याएको छ । बाढीका कारण प्रसारण लाइनमा फाल्ट आउनुका साथै जलविद्युत् आयोजना र सबस्टेसनका उपकरणमा समस्या देखिएपछि विद्युत् आपूर्ति प्रभावित भएको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार पोखरा, बुटवल, हेटौंडा र काठमाडौंलगायतका क्षेत्रमा विद्युत् प्रणालीमा उल्लेख्य अवरोध देखिएको छ । विभिन्न समय र स्थानमा लाइन, उत्पादन तथा लोडतर्फ देखिएको अवरोध जोड्दा करिब १ हजार ३०३ मेगावाट बराबरको प्रणाली प्रभावित भएको मन्त्रालयले जनाएको छ । यो एकै समयमा भएको विद्युत् अवरोध भने होइन ।

पोखरा क्षेत्रमा सबैभन्दा बढी प्रभाव

बाढीपहिरोको सबैभन्दा ठूलो प्रभाव पोखरा क्षेत्रमा परेको छ । कुश्मा–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा फाल्ट आउँदा करिब २०० मेगावाट विद्युत् प्रभावित भएको छ । यस्तै रौघाट–दाना लाइन १ र २ मा आएको अवरोधबाट करिब १५५ मेगावाट प्रभावित भएको जनाइएको छ ।

बाढीका कारण कालीगण्डकी, अपर मादी, सुपर मादी, सिक्लेस–नामर्जुङ, सेती नदी–करुवासेट, अपर दोर्दी र मोदीलगायत जलविद्युत् आयोजनाको उत्पादन तथा आपूर्ति प्रभावित भएको छ । पोखरा क्षेत्रका विभिन्न आयोजनाबाट मात्रै ४०० मेगावाटभन्दा बढी क्षमतामा असर परेको मन्त्रालयको विवरणमा उल्लेख छ ।

रौघाट क्षेत्रमा पनि न्यू बुटवल–कुश्मा २२० केभी लाइनमा आएको फाल्टका कारण करिब ११० मेगावाट प्रभावित भएको थियो ।

बुटवल र हेटौंडामा पनि विद्युत् आपूर्ति प्रभावित

बुटवल क्षेत्रमा न्यू भरतपुर–न्यू बुटवल २२० केभी प्रसारण लाइनमा रुख ढलेपछि फाल्ट आएको थियो । उक्त लाइन बिहान ९ः५१ बजे चार्ज गरिएको विवरणमा उल्लेख छ ।

चापर–पथलैया १३२ केभी लाइन आउट भएपछि कावासोती सबस्टेसनमा करिब एक घण्टा लोड कटौती गरिएको थियो ।

हेटौंडा क्षेत्रमा पनि बाढीका कारण विद्युत् प्रणाली प्रभावित भएको छ । माण्डु ६६ केभीमा बाढीका कारण करिब ३२ मेगावाट प्रभावित भएको छ । कावासोती–भरतपुर १३२ केभी लाइनअन्तर्गत भरतपुर सबस्टेसनमा सीभीटी जलेपछि विद्युत् आपूर्तिमा समस्या आएको जनाइएको छ ।

सिमरा सबस्टेसनमा करिब २० मेगावाट, अमलेखगञ्ज, परवानीपुर तथा वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट र काम्ने सबस्टेसन तथा उद्योगमा करिब २५ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ ।

काठमाडौंमा छोटो समय विद्युत् अवरोध

काठमाडौं उपत्यकाको पाटन र टेकु क्षेत्रमा पनि छोटो समय विद्युत् अवरोध भएको थियो । पाटन सबस्टेसनमा बिहान ९ बजेदेखि ९ः१० बजेसम्म तथा टेकु क्षेत्रमा पनि सोही अवधिमा आपूर्ति प्रभावित भएको थियो ।

पथलैया लाइन र केएल–१ स्युचाटार ६६ केभी लाइन एकै समयमा ओभरलोड भएपछि पाटन क्षेत्रमा समस्या आएको बताइएको छ । नियमित आपूर्तिमा समस्या भएपछि एमआरएसको आपत्कालीन आपूर्ति प्रयोग गरिएको थियो ।

विभिन्न सबस्टेसनमा लोड कटौती

बाढी तथा प्रसारण लाइनमा आएको समस्याका कारण विभिन्न सबस्टेसनमा लोड कटौतीसमेत गरिएको थियो । कावासोती सबस्टेसनमा बिहान ८ बजेदेखि ९ः१५ बजेसम्म २० मेगावाट तथा हरदी सबस्टेसनमा सोही अवधिमा २५ मेगावाट लोड कटौती गरिएको थियो ।

यस्तै सुनवल–मैनिया तथा बुटवल क्षेत्रका उद्योगमा बिहान ६ः०२ बजेदेखि करिब ५० मेगावाट, सिमरा सबस्टेसनमा बिहान ६ बजेदेखि १० बजेसम्म २० मेगावाट तथा अमलेखगञ्ज, परवानीपुर र वीरगञ्जका उद्योगमा करिब ८० मेगावाट लोड कटौती गरिएको विवरणमा उल्लेख छ ।

मर्मत तथा पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार क्षतिको प्रारम्भिक विवरण संकलन, प्रभावित क्षेत्रको पहिचान, वैकल्पिक माध्यमबाट आपूर्ति सञ्चालन तथा क्षतिग्रस्त संरचनाको तत्काल मर्मतका लागि प्राविधिक तथा मर्मत टोली परिचालन गरिएको छ ।

उनका अनुसार सम्भव भएसम्म वैकल्पिक फिडर तथा उपलब्ध प्रसारण र वितरण संरचनामार्फत विद्युत् आपूर्ति सुचारु गर्ने व्यवस्था मिलाइएको छ । क्षतिग्रस्त संरचनाको अवस्था मूल्याङ्कन गरी आवश्यक उपकरण, सामग्री र जनशक्ति परिचालन गरेर आपूर्ति पुनःस्थापनाको काम भइरहेको छ ।

भारी वर्षा, बाढीपहिरो तथा सडक अवरुद्ध भएका कारण कतिपय प्रभावित क्षेत्रमा प्राविधिक टोली पुग्न कठिनाइ भएको प्राधिकरणले जनाएको छ । पहुँचमार्ग खुल्नेबित्तिकै थप टोली र आवश्यक उपकरण परिचालन गरी मर्मत तथा पुनःस्थापनाको काम तीव्र बनाइने प्राधिकरणको भनाइ छ ।

प्राधिकरणले विपद्का कारण विद्युत् संरचनामा क्षति पुगेका स्थानमा आपूर्ति प्रभावित भए पनि वैकल्पिक व्यवस्थामार्फत विद्युत् आपूर्ति निरन्तरता दिन र सम्भव भएसम्म छिटो नियमित आपूर्ति पुनःस्थापित गर्न सबै स्रोतसाधन परिचालन गरिएको जनाएको छ ।

प्राधिकरणले ढलेका विद्युत् तार, पोल तथा क्षतिग्रस्त विद्युत् संरचनाबाट टाढा रहन उपभोक्तालाई आग्रह गरेको छ । बाढीपहिरोको समयमा विद्युत् संरचना छोइहाल्ने वा नजिक जाने कार्य नगर्नसमेत अनुरोध गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker