भानुका सुभाषको सयपत्री फूलखेती, मासभन्दा सात गुणा बढी आम्दानी लिन सफल

भानु : परम्परागत रूपमा मासखेती गर्दै आएको पाँच रोपनी जमिनमा सयपत्री फूलखेती गर्दा तनहुँको भानु नगरपालिका–२ दाहालटारका सुभाष रेग्मी दम्पतीले सात गुणाभन्दा बढी आम्दानी लिन सफल भएका छन् । सोही जमिनमा मासखेती गर्दा २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी हुने गरेकामा यस वर्ष सयपत्री फूल बिक्रीबाट दुई लाख रुपैयाँ बराबरको आम्दानी भएको रेग्मीले बताएका छन् ।
कृषिबाट राम्रो आम्दानी गर्न सकिने सम्भावना देखेपछि रेग्मी दम्पतीले तिहारलाई लक्षित गरी पाँच रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गरेका थिए । यस वर्ष फूल बिक्रीबाट चार लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिए पनि फूल फुल्ने समयमा लगातार वर्षा हुँदा उत्पादन र बिक्री प्रभावित भएको उनले बताए ।
फूलखेतीबाट तुलनात्मक रूपमा बढी आम्दानी हुनुका साथै बजार व्यवस्थापन पनि सहज रहेको रेग्मीको अनुभव छ । उत्पादित फूल माला उन्नुपर्ने झन्झटबिना सिधैँ प्रतिकिलोका दरले बिक्री गर्न सकिने उनलेब ताए । रेग्मीले प्रतिकिलो ३०० देखि ५०० रुपैयाँसम्ममा फूल बिक्री गरेका थिए ।
यस वर्ष उत्पादित फूलमध्ये करिब ९० प्रतिशत काठमाडौँ पठाइएको छ । राजधानीमा सयपत्री फूलको माग राम्रो रहेकाले स्थानीय बजारमा मात्रै निर्भर हुनुपर्ने अवस्था नरहेको रेग्मीले बताए । करिब ५०० किलो फूल बिक्रीबाट दुई लाख रुपियाँ आम्दानी भएको उनको भनाइ छ । स्वदेशमै उत्पादित फूलले बजार पाउने वातावरण बनेमा किसानका लागि फूलखेती राम्रो आम्दानीको माध्यम बन्न सक्ने उनले बताए ।
भानु नगरपालिकामा जनस्वास्थ्य निरीक्षकका रूपमा कार्यरत रेग्मीले कार्यालयको जिम्मेवारीसँगै बिहान र बेलुकाको खाली समय कृषि कर्ममा लगाउँदै आएका थिए । बिहान हिँडेर समय बिताउनुभन्दा बारीमा श्रम गर्दा शारीरिक व्यायामसँगै उत्पादन र आम्दानीसमेत हुने भएपछि उनले श्रीमती अञ्जना अधिकारी रेग्मीसँग मिलेर फूलखेती सुरु गरेका थिए ।
उनले भने, æस्वस्थ रहन शारीरिक श्रम आवश्यक छ । बिहान हिँडेर समय बिताउनुभन्दा बारीमा काम गर्दा शरीर पनि सक्रिय हुन्छ र उत्पादन पनि हुन्छ । यसबाट परिवारको आम्दानी बढाउन तथा आत्मनिर्भर बन्न सहयोग पुग्छ।Æ
फूलखेतीमा रेग्मीलाई श्रीमती अञ्जनाले पनि उत्तिकै साथ दिएकी थिइन् । फूल रोप्ने, गोडमेल गर्ने, सिँचाइ तथा हेरचाह गर्नेदेखि बिक्री व्यवस्थापनसम्म दुवै जना संलग्न हुँदै आएका थिए । घरायसी कामसँगै समय मिलाएर कृषि कर्म गर्दा आम्दानीको अतिरिक्त स्रोत सिर्जना भएको अञ्जनाले बताइन् ।
फूलबारीमा सयपत्री ढकमक्क फुलेपछि स्थानीय बासिन्दासँगै अन्य ठाउँका मानिसको आकर्षणसमेत बढेको छ । फूलबारीमा तस्बिर खिच्न तथा सामाजिक सञ्जालका लागि भिडियो बनाउन विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् ।
रेग्मी दम्पतीले फूलखेतीसँगै छ रोपनी जमिनमा उखुखेती र तीन सय वटा कागतीका बिरुवासमेत लगाएका छन् । एउटै खेतीमा निर्भर नभई विभिन्न कृषि उत्पादनमार्फत आम्दानीका स्रोत विस्तार गर्ने उनिहरुको योजना छ। पेसागत जिम्मेवारीसँगै कृषि कर्मलाई निरन्तरता दिँदै आएका रेग्मीले समय र मेहनतको सदुपयोग गर्न सके स्वदेशमै कृषि व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने बताए ।










