दुलेगौंडाको पुलचोकस्थित हिलेटारको एकादशी मेलालाई व्यवस्थित बनाईदै

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पुलचोकमा लाग्ने ऐतिहासिक हरिबोधनी एकादशी मेलालाई यस वर्ष थप व्यवस्थित र आकर्षक बनाउने तयारी गरिएको छ। धार्मिक आस्थासँग जोडिएको शुक्ला हिलेटार क्षेत्रको प्रचारप्रसार र धार्मिक पर्यटन प्रवर्द्धनलाई समेत जोड दिँदै मेला व्यवस्थापनको काम अघि बढाइएको हो ।

शुक्ला हिलेटार मन्दिर व्यवस्थापन समितिले शनिबार पत्रकार सम्मेलन गरी मेलाको तयारी सार्वजनिक गरेको छ । मेला भर्न तनहुँसहित कास्की र स्याङ्जालगायतका जिल्लाबाट ठूलो संख्यामा भक्तजन आउने भएकाले स्नान गर्ने स्थानदेखि पूजाआजासम्मका व्यवस्थापनलाई प्राथमिकता दिइएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष परशुराम शर्मा भण्डारीले दर्शनार्थीको सहजता र धार्मिक विधिको मर्यादा कायम राख्न आवश्यक प्रबन्ध मिलाइने बताए । विगतका वर्षमा देखिएका व्यवस्थापकीय कठिनाइलाई समेत ध्यानमा राखेर यस वर्ष मेला थप व्यवस्थित बनाउने तयारी गरिएको उनको भनाइ छ ।

मेलाको प्रमुख धार्मिक आकर्षणका रूपमा रहेको तोरण तार्ने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइने भएको छ । समितिले मंसिर २ गते डोरी बाँध्ने, ३ गते फूल उन्ने र ४ गते तोरण तार्ने कार्यक्रम तय गरेको छ । अध्यक्ष भण्डारीले धार्मिक परम्परासँग जोडिएको उक्त कार्यक्रममा सहभागी हुन भक्तजनलाई आग्रह गरेका छन् ।

मेलामा सहभागी हुने भक्तजनलाई बहुमूल्य गरगहना र सामान नल्याउन पनि समितिले अनुरोध गरेको छ । विगतका मेलामा सुनलगायतका बहुमूल्य गरगहना हराउने घटना दोहोरिएकाले सम्भावित असुविधा र चोरीका घटनाबाट जोगिन यस्तो आग्रह गरिएको अध्यक्ष भण्डारीले बताए ।

हरिबोधनी एकादशी मेलाले शुक्ला हिलेटारको धार्मिक तथा सांस्कृतिक पहिचानलाई थप उजागर गर्ने समितिको अपेक्षा छ । मन्दिर क्षेत्रमा नयाँ मन्दिर निर्माणको कामसमेत अघि बढिरहेको अवस्थामा मेलाले यस क्षेत्रको धार्मिक महत्त्व र पर्यटकीय सम्भावनालाई थप चिनाउन सहयोग पुग्ने अध्यक्ष भण्डारीले विश्वास व्यक्त गरे ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker