सम्पादकीय – व्यासभूमि : बत्तिमुनीको अध्यारो
तनहुँको सदरमुकाम दमौली, जहाँ सेती र मादी नदी मिसिन्छन्, त्यो भूमि हिन्दू धर्मावलम्बीहरूको दृष्टिमा अत्यन्त पवित्र छ । महर्षि वेदव्यासले यहीं बसि महाभारत, चार वेद र अठार पुराण जस्ता महाग्रन्थहरूको रचना गरेका थिए भन्ने विश्वास रहिआएको छ । त्यस्तै, व्यासका पिता ऋषि पराशरले यहीँ तपस्या गरेका थिए भन्ने धार्मिक मान्यता पनि जीवित छ । धार्मिक, सांस्कृतिक र पौराणिक महत्त्वले भरिपूर्ण यस्तो स्थल संसारभरका तीर्थालु र पर्यटकका लागि प्रमुख गन्तव्य हुनुपर्ने हो । तर विडम्बना के छ भने व्यासभूमि आजसम्म पनि “बत्तिमुनीको अध्यारो“ को अवस्थामा सीमित छ ।
व्यासगुफा, पराशर गुफा, सेती र मादी नदीको संगम, छाब्दी बराही, मच्छेकुण्ड, शिवपञ्चायन मन्दिर, मानुङकोट जस्ता स्थलहरू केवल स्थानीय र केही आन्तरिक पर्यटकको घुमफिरमै सीमित छन् । यिनलाई व्यवस्थित गरेर प्रचार–प्रसार गर्न सकिएको भए, तनहुँ धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्थ्यो । पोखरा जाने पृथ्वीराजमार्गकै छेउमा यस्ता धरोहरहरू रहँदा पनि पर्यटक तान्न नसक्नु राज्यको उदासीनता र स्थानीय तहको न्यून पहलको प्रमाण हो ।
वेदव्यास हिन्दू धर्ममा ज्ञानका प्रतीक हुन् । उनी र उनका पिता पराशर ऋषिको तपोभूमि आज विश्वव्यापी धार्मिक आस्थाको केन्द्र बन्न सक्ने सामथ्र्य राख्छ । मादी र सेती नदीको संगम क्षेत्र नै आध्यात्मिक उर्जा बोकेको मानिन्छ । व्यास गुफामा ध्यान बसेर लेखिएका महाग्रन्थहरूले आज पनि करोडौं मानिसको जीवन दर्शनलाई मार्गदर्शन गरिरहेका छन् । तर, यही धार्मिक आस्थाको भूमि आज केवल जनस्तरका साना–ठूला प्रयासमै सीमित छ । व्यास नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीचको सम्झौताअनुसार १०८ फिट अग्लो व्यासको मूर्ति निर्माणको योजना सुरु भए पनि काम सुस्त गतिमा अघि बढेको छ । पहिलो चरणमा स्तम्भ निर्माणका लागि करिब ५ करोड ८५ लाख रुपैयाँ खर्च भइरहेको भएपनि यो महत्वाकांक्षी परियोजना ठप्प नहोस् भन्ने चिन्ता बढ्दो छ । यसरी अड्किएको काम, अपूरो प्रचारप्रसार र पूर्वाधारको कमीले गर्दा व्यासभूमिको अन्तर्राष्ट्रिय पहिचान अझै सम्भव हुन सकेको छैन ।
दमौली क्षेत्र केवल व्यास–पराशरकै लागि प्रसिद्ध छैन । मानुङकोट अहिले पर्यटकका लागि सूर्योदय हेर्ने आकर्षक गन्तव्य बनेको छ । कोभिड–१९ को बन्दाबन्दीका बेला हजारौं मानिस एकैदिन पुगेको तथ्याङ्कले यसको लोकप्रियता देखाउँछ । त्यहाँबाट देखिने कुहिरो, नागबेली परेर बग्ने मादी नदी, पृष्ठभूमिको पहाडी तरेली र हिमश्रृंखलाले मानुङकोटलाई पर्यटकीय दृष्टिले अनुपम बनाएको छ । तर, मानुङकोटलाई प्रवर्द्धन गर्ने दीर्घकालीन योजना अझै बनेको छैन । सडक, आवास, खानेपानी, सरसफाइ जस्ता आधारभूत पूर्वाधार अभावमै पर्यटकलाई धान्ने प्रयास भइरहेको छ । त्यस्तै, पराशर गुफासम्म पुग्नका लागि बनेको झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई त आकर्षण गरेको छ, तर अन्तर्राष्ट्रिय प्रचारमा यसबारे उल्लेख्य प्रयास छैन । व्यास, पराशर, मच्छेकुण्ड, छाब्दी बराही जस्ता स्थललाई एकीकृत ‘धार्मिक–सांस्कृतिक पर्यटन मार्ग’ को रूपमा प्रवर्द्धन गर्न सकिने सम्भावना अझै उपयोग हुन सकेको छैन ।
व्यासभूमिको प्रवर्द्धनका लागि तीनवटा प्रमुख चुनौती देखिन्छन्– १. पूर्वाधार निर्माणमा ढिलासुस्ती – यातायात, आवास, खानेपानी, विजुली, पार्किङ, सरसफाइ, सूचना केन्द्र आदिको पर्याप्त व्यवस्था छैन । २. प्रचारप्रसारको कमी– देशकै नागरिकलाई समेत व्यासभूमिको सम्पूर्ण पौराणिक महत्त्वबारे जानकारी छैन भने अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने अवस्था झन् कमजोर छ । ३. निजी–सामुदायिक सहभागिताको न्यूनता– जनस्तरबाट पहल भएपनि त्यसलाई सरकारी स्तरको दीर्घकालीन योजनासँग जोड्न सकिएको छैन । यी चुनौती पार गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय अत्यावश्यक छ । निजी क्षेत्र, पर्यटन व्यवसायी, समुदाय र प्रवासी नेपाली सबैको हातेमालो बिना व्यासभूमिलाई विश्वस्तरमा चिनाउन कठिन हुनेछ ।
व्यासभूमि केवल तनहुँ वा गण्डकी प्रदेशकै सम्पत्ति होइन, यो सम्पूर्ण नेपालीहरूको गौरव हो । पौराणिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले यसको योगदान अमूल्य छ। यसलाई ‘धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र’ बनाउने क्षमता हामीसँग छ । तर त्यसका लागि केवल स्मरण र औपचारिक कार्यक्रम पर्याप्त छैन । ठोस योजना, दिगो पूर्वाधार, रणनीतिक प्रचारप्रसार र सरकारी प्रतिबद्धता अपरिहार्य छ । नजिकैको पोखरामा लाखौं पर्यटक जाने गरेका छन् । तीमध्ये थोरै प्रतिशत पर्यटकलाई मात्र दमौलीसम्म तान्न सकियो भने स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्छ । व्यासगुफा, पराशर गुफा, मच्छेकुण्ड, छाब्दी बराही र मानुङकोटलाई एकैपटक भ्रमण गर्न सकिने ‘प्याकेज’ प्रवर्द्धन गर्न सकिन्छ । धार्मिक मेलाहरू, आध्यात्मिक ध्यान शिविरहरू, पौराणिक कथासम्बन्धी प्रदर्शनीहरू आयोजना गरेर विश्वभरका पर्यटकलाई आकर्षित गर्न सकिन्छ । व्यासभूमि, जहाँ ज्ञानका महाग्रन्थहरूको जन्म भयो, आज पनि शान्ति, आस्था र संस्कृतिको केन्द्र बन्न सक्छ । तर, जबसम्म राज्यले दीर्घकालीन दृष्टि लिएर आवश्यक पहल गर्दैन, तबसम्म यो भूमि बत्तिमुनीको अध्यारोमै सीमित रहनेछ । अब समय आएको छ– व्यासभूमिलाई केवल स्थानीय वा राष्ट्रिय स्तरमै होइन, अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउने ठोस कदम चाल्न ।










