सम्पादकीय – व्यासभूमि : बत्तिमुनीको अध्यारो

तनहुँको सदरमुकाम दमौली, जहाँ सेती र मादी नदी मिसिन्छन्, त्यो भूमि हिन्दू धर्मावलम्बीहरूको दृष्टिमा अत्यन्त पवित्र छ । महर्षि वेदव्यासले यहीं बसि महाभारत, चार वेद र अठार पुराण जस्ता महाग्रन्थहरूको रचना गरेका थिए भन्ने विश्वास रहिआएको छ । त्यस्तै, व्यासका पिता ऋषि पराशरले यहीँ तपस्या गरेका थिए भन्ने धार्मिक मान्यता पनि जीवित छ । धार्मिक, सांस्कृतिक र पौराणिक महत्त्वले भरिपूर्ण यस्तो स्थल संसारभरका तीर्थालु र पर्यटकका लागि प्रमुख गन्तव्य हुनुपर्ने हो । तर विडम्बना के छ भने व्यासभूमि आजसम्म पनि “बत्तिमुनीको अध्यारो“ को अवस्थामा सीमित छ ।

व्यासगुफा, पराशर गुफा, सेती र मादी नदीको संगम, छाब्दी बराही, मच्छेकुण्ड, शिवपञ्चायन मन्दिर, मानुङकोट जस्ता स्थलहरू केवल स्थानीय र केही आन्तरिक पर्यटकको घुमफिरमै सीमित छन् । यिनलाई व्यवस्थित गरेर प्रचार–प्रसार गर्न सकिएको भए, तनहुँ धार्मिक, सांस्कृतिक र प्राकृतिक पर्यटनको राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्थ्यो । पोखरा जाने पृथ्वीराजमार्गकै छेउमा यस्ता धरोहरहरू रहँदा पनि पर्यटक तान्न नसक्नु राज्यको उदासीनता र स्थानीय तहको न्यून पहलको प्रमाण हो ।

वेदव्यास हिन्दू धर्ममा ज्ञानका प्रतीक हुन् । उनी र उनका पिता पराशर ऋषिको तपोभूमि आज विश्वव्यापी धार्मिक आस्थाको केन्द्र बन्न सक्ने सामथ्र्य राख्छ । मादी र सेती नदीको संगम क्षेत्र नै आध्यात्मिक उर्जा बोकेको मानिन्छ । व्यास गुफामा ध्यान बसेर लेखिएका महाग्रन्थहरूले आज पनि करोडौं मानिसको जीवन दर्शनलाई मार्गदर्शन गरिरहेका छन् । तर, यही धार्मिक आस्थाको भूमि आज केवल जनस्तरका साना–ठूला प्रयासमै सीमित छ । व्यास नगरपालिका र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीचको सम्झौताअनुसार १०८ फिट अग्लो व्यासको मूर्ति निर्माणको योजना सुरु भए पनि काम सुस्त गतिमा अघि बढेको छ । पहिलो चरणमा स्तम्भ निर्माणका लागि करिब ५ करोड ८५ लाख रुपैयाँ खर्च भइरहेको भएपनि यो महत्वाकांक्षी परियोजना ठप्प नहोस् भन्ने चिन्ता बढ्दो छ । यसरी अड्किएको काम, अपूरो प्रचारप्रसार र पूर्वाधारको कमीले गर्दा व्यासभूमिको अन्तर्राष्ट्रिय पहिचान अझै सम्भव हुन सकेको छैन ।

दमौली क्षेत्र केवल व्यास–पराशरकै लागि प्रसिद्ध छैन । मानुङकोट अहिले पर्यटकका लागि सूर्योदय हेर्ने आकर्षक गन्तव्य बनेको छ । कोभिड–१९ को बन्दाबन्दीका बेला हजारौं मानिस एकैदिन पुगेको तथ्याङ्कले यसको लोकप्रियता देखाउँछ । त्यहाँबाट देखिने कुहिरो, नागबेली परेर बग्ने मादी नदी, पृष्ठभूमिको पहाडी तरेली र हिमश्रृंखलाले मानुङकोटलाई पर्यटकीय दृष्टिले अनुपम बनाएको छ । तर, मानुङकोटलाई प्रवर्द्धन गर्ने दीर्घकालीन योजना अझै बनेको छैन । सडक, आवास, खानेपानी, सरसफाइ जस्ता आधारभूत पूर्वाधार अभावमै पर्यटकलाई धान्ने प्रयास भइरहेको छ । त्यस्तै, पराशर गुफासम्म पुग्नका लागि बनेको झोलुङ्गे पुलले आन्तरिक पर्यटकलाई त आकर्षण गरेको छ, तर अन्तर्राष्ट्रिय प्रचारमा यसबारे उल्लेख्य प्रयास छैन । व्यास, पराशर, मच्छेकुण्ड, छाब्दी बराही जस्ता स्थललाई एकीकृत ‘धार्मिक–सांस्कृतिक पर्यटन मार्ग’ को रूपमा प्रवर्द्धन गर्न सकिने सम्भावना अझै उपयोग हुन सकेको छैन ।

व्यासभूमिको प्रवर्द्धनका लागि तीनवटा प्रमुख चुनौती देखिन्छन्– १. पूर्वाधार निर्माणमा ढिलासुस्ती – यातायात, आवास, खानेपानी, विजुली, पार्किङ, सरसफाइ, सूचना केन्द्र आदिको पर्याप्त व्यवस्था छैन । २. प्रचारप्रसारको कमी– देशकै नागरिकलाई समेत व्यासभूमिको सम्पूर्ण पौराणिक महत्त्वबारे जानकारी छैन भने अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने अवस्था झन् कमजोर छ । ३. निजी–सामुदायिक सहभागिताको न्यूनता– जनस्तरबाट पहल भएपनि त्यसलाई सरकारी स्तरको दीर्घकालीन योजनासँग जोड्न सकिएको छैन । यी चुनौती पार गर्न स्थानीय, प्रदेश र संघीय सरकारबीच समन्वय अत्यावश्यक छ । निजी क्षेत्र, पर्यटन व्यवसायी, समुदाय र प्रवासी नेपाली सबैको हातेमालो बिना व्यासभूमिलाई विश्वस्तरमा चिनाउन कठिन हुनेछ ।

व्यासभूमि केवल तनहुँ वा गण्डकी प्रदेशकै सम्पत्ति होइन, यो सम्पूर्ण नेपालीहरूको गौरव हो । पौराणिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक दृष्टिले यसको योगदान अमूल्य छ। यसलाई ‘धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र’ बनाउने क्षमता हामीसँग छ । तर त्यसका लागि केवल स्मरण र औपचारिक कार्यक्रम पर्याप्त छैन । ठोस योजना, दिगो पूर्वाधार, रणनीतिक प्रचारप्रसार र सरकारी प्रतिबद्धता अपरिहार्य छ । नजिकैको पोखरामा लाखौं पर्यटक जाने गरेका छन् । तीमध्ये थोरै प्रतिशत पर्यटकलाई मात्र दमौलीसम्म तान्न सकियो भने स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पुग्छ । व्यासगुफा, पराशर गुफा, मच्छेकुण्ड, छाब्दी बराही र मानुङकोटलाई एकैपटक भ्रमण गर्न सकिने ‘प्याकेज’ प्रवर्द्धन गर्न सकिन्छ । धार्मिक मेलाहरू, आध्यात्मिक ध्यान शिविरहरू, पौराणिक कथासम्बन्धी प्रदर्शनीहरू आयोजना गरेर विश्वभरका पर्यटकलाई आकर्षित गर्न सकिन्छ । व्यासभूमि, जहाँ ज्ञानका महाग्रन्थहरूको जन्म भयो, आज पनि शान्ति, आस्था र संस्कृतिको केन्द्र बन्न सक्छ । तर, जबसम्म राज्यले दीर्घकालीन दृष्टि लिएर आवश्यक पहल गर्दैन, तबसम्म यो भूमि बत्तिमुनीको अध्यारोमै सीमित रहनेछ । अब समय आएको छ– व्यासभूमिलाई केवल स्थानीय वा राष्ट्रिय स्तरमै होइन, अन्तर्राष्ट्रिय स्तरमै परिचित गराउने ठोस कदम चाल्न ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker