स्थानीय निर्वाचन : नेकपा एमाले तनहुँ उम्मेदवार टुंग्याउँने कसरतमा

भञ्ज्याङ समाचारदाता/दमौली

आसन्न स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै दलहरु उम्मेदवार चयनको कसरतमा जुटेका छन् । तनहुँका राजनीतिक दलहरु यतिबेला आकांक्षीहरुको नामावली संकलन गरी आकांक्षीहरुबाटै उपयुक्त उम्मेदवार चयन गर्ने कसरतमा लागि परेका छन् । एउटै पदमा दर्जन बढीको संख्यामा आकांक्षीहरु देखिएपछि उम्मेदवार कसरी टुंग्याउने भन्ने समस्यामा दलका नेताहरु जेलिएका छन् ।

नेकपा (एमाले) तनहुँ पनि अहिले वडा, गाउँ/नगर कमिटीका उम्मेदवार चयनका लागि दौडाधुप गरिरहेको छ । गाउँ/नगर कमिटीबाटै दुइ/दुइ जना आकांक्षी उम्मेदवारहरु चयन गरी जिल्ला कमिटीमा सिफारिस गर्ने भनिएपनि एकै पदमा धेरै आकांक्षीहरु खडा भएपछि आकांक्षीहरुको नामावली गाउँ/नगर कमिटीले जिल्ला कमिटीमा सिफारिस गर्न थालेका छन् ।

एमाले तनहुँले सोमबारसम्म भिमाद नगरपालिका, घिरिङ गाउँपालिकाको उम्मेदवारी टुंग्याएको छ । नेकपा एमाले भिमाद नगरपालिकाको प्रमुखको उम्मेदवार छनौटका लागि सोमबार मतदान प्रक्रियाबाट दुइ जनाको नाम छनोट गरेको छ । प्रमुख पदमा आठ जना आकांक्षी भएपछि भिमाद नगर कमिटीले मतदानमार्फत दुइ जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो ।

मतदान मार्फत दधिराज सुवेदी र भिमाद नगर कमिटीका अध्यक्ष इमानबहादुर थापा नगरप्रमुख पदको उम्मेदवारका लागि सिफारिस भएका छन् । सुवेदीले ५८ र थापाले ५७ मत प्राप्त गरेका थिए । वर्तमान मेयर मेखबहादुर थापाले ३६ मत प्राप्त गरेसंगै उनी मेयर उम्मेदवारबाट रिङ आउट भएका छन् ।

यसैगरी उपप्रमुखमा शारदा खनाल, नारायणी गैह्रे र चन्द्रावती श्रेष्ठ सिफारिस भएका छन् । एमालेको विधान बमोजिम मेयर उपमेयरमा दुइ पुरुष र एक महिला उम्मेदवार सिफारिस गर्नुपर्ने प्रावधान थियो । सबै उम्मेदवारबीच छलफल भएपनि सहमति नभएपछि मतदानमार्फत उम्मेदवार सिफारिस गरिएको जिल्ला कमिटी अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

नेकपा एमाले घिरिङ गाउँ कमिटीले पनि सोमबार मतदानमार्फत अध्यक्ष र उपाध्यक्षका उम्मेदवार सिफारिस गरेको छ । अध्यक्षमा दश जना आकांक्षी भएपछि गाउँ कमिटीले सोमबार मतदानमार्फत उम्मेदवार टुङ्गो लगाएको हो । अध्यक्षका लागि वर्तमान अध्यक्ष रनबहादुर राना र होमबहादुर थापा सिफारिस भएका छन् ।

उपाध्यक्षका लागि दुर्गामाया थापा, सुकमाया गुरुङ र राधा अधिकारी सिफारिस भएकी छन् भने वर्तमान उपाध्यक्ष सरस्वती सिग्देल सिफारिस हुन सकिनन् । यता बन्दिपुर गाउँपालिकाको अध्यक्षमा भने सर्वसम्मत रुपमा सुरेन्द्र थापाको नाम सिफारिस भएको छ भने उपाध्यक्षको उम्मेदवारको टुंगो नलागेको अध्यक्ष श्रेष्ठले बताए । उनका अनुसार अन्य पालिकाहरुमा आकांक्षीहरु धेरै भएका र र्सवसम्मत रुपमै उम्मेदवारको नाम सिफारिस गर्ने कसरत भइरहेको र र्सवसम्मत नभए मतदान प्रक्रियाबाट उम्मेदवारको नाम सिफारिस गरिने भएको छ ।

यस्तै, जिल्लाको सदरमुकाममा रहेको व्यास नगरपालिकाको प्रमुख पदमा १२ जनाले र उपप्रमुखमा तीन जनाले आकांक्ष व्यक्त गरेका छन् । नेकपा एमाले व्यास नगर कमिटीको सोमबार आयोजित बैठकमा नगरप्रमुख बन्न १२ जनाले आकांक्षा व्यक्त गरेका हुन् ।

नगरप्रमुखका लागि राजेन्द्र कार्की, रत्न कुमार श्रेष्ठ, इश्वर बहादुर विष्ट, कुल बहादुर थापा, दिपेन्द्रराज शाही, अनिल पाण्डे, देवी बहादुर बस्नेत, दीर्घ बहादुर दरै, प्रदिप अधिकारी, तुल्सीराम पाण्डे, सीता पाण्डे र ऋषिराम भुषालले आकांक्षा व्यक्त गरेका छन् । यस्तै, उपप्रमुख पदका लागि बसुन्धरा घर्ती, वेदकुमारी वाग्ले र वीरेन्द्र अधिकारीले दावी गरेको व्यास नगर कमिटीले जनाएको छ ।

शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा नेकपा एमालेबाट पाँच जना आकांक्षी देखिएका छन् । नगर कमिटीको आइतबार बसेको बैठकमा पाँच जनाले प्रमुखमा र चार जनाले उपप्रमुखमा नाम दर्ता गराएका छन् । नगरप्रमुख पदका लागि केन्द्रीय सदस्य एवं हालकी उपमेयर सविता रर्साईली, नगर कमिटीका अध्यक्ष मुक्ति तिमिल्सेना, गण्डकी प्रदेश कमिटीका सदस्यद्वय रामचन्द्र उपाध्याय र श्यामराजा महत र जिल्ला कमिटीका सचिवालय सदस्य देवलाल खनालले आकांक्षा व्यक्त गरेका छन् ।

यस्तै नगर उपप्रमुख पदका लागि कमल ढकाल, हर्क गुरुङ, विष्णुमाया पराजुली र फूलमाया वाग्लेले आकांक्षा व्यक्त गरेको नगर कमिटीले जनाएको छ । दुवै पदमा एक/एक जनामा सहमति नभएपछि दर्ता भएका सबै आकांक्षीको नाम जस्ताको तस्तै जिल्ला कमिटीमा पठाइने र जिल्ला कमिटीले राय सहित प्रदेशमा पठाउने बताइएको छ ।

२०७४ सालको निर्वाचनमा कांग्रेस र माओवादीबीच गठबन्धन भएर मेयरमा कांग्रेसका किसान गुरुङ निर्वाचित भएका थिए। उपमेयरमा भने माओवादीकी सर्वदा खनाल पराजित भएर एमालेकी सविता रसाइली निर्वाचित भएकी थिइन् । १२ मध्ये सात वडा एमाले, तीन वडा कांग्रेस र दुइ वडा माओवादीले जितेको छ ।

त्यस्तै, भानु नगरपालिकाको प्रमुख पदमा ७ जना आकांक्षी देखिएका छन् । उम्मेदवार चयन गर्ने सम्बन्धमा गत बुधबार आयोजित नगर कमिटीको बैठकमा ७ जनाले नगरप्रमुख र ४ जनाले नगरउपप्रमुखमा आकांक्षा देखाएका हुन् । बैठकले उम्मेदवार सिफारिस सम्बन्धी कुनै निर्णय गर्न नसकेपछि प्रस्तावित सबै नामलाई जिल्ला कमिटी मार्फत प्रदेश कमिटीमा पठाउने निर्णय गरेको छ ।

भानुको प्रमुखको आकांक्षीहरुमा सुनिल पाण्डे, सीताराम बजगाई, हरिबहादुर पाण्डे, कलाकुमारी ढकाल, शंकर रानाभाट, कृष्णराज ढकाल र श्याम थापा रहेका छन् । यस्तै उपप्रमुखमा रुपा लामा, देवु विष्ट, भगवती देउजा र गिता अधिकारीले आकांक्षा व्यक्त गर्दै नाम दर्ता गराएका थिए । ती नामहरु जस्ताको तस्तै जिल्ला कमिटीमा पठाइएको छ ।

यस्तै, ऋषिङ गाउँपालिकाको अध्यक्षका लागि नेकपा एमालेका चार जनाले दावी गरेका छन् । गाउँ कमिटीको सोमबार बसेको बैठकमा एमालेका चार जनाले अध्यक्षका लागि आकांक्षा व्यक्त गरेका छन् । गाउँपालिका अध्यक्षका लागि एमाले जिल्ला उपाध्यक्ष हरिराज कंडेल, सचिव राजेश्वर ढकाल, ऋषिङ गाउँ कमिटीका अध्यक्ष गन्जसिं गुरुङ र सचिव कविराज श्रेष्ठले इच्छा व्यक्त गरेका छन् ।

यस्तै उपाध्यक्षका लागि हुमादेवी रानाभाट, मधुमाया थापा, तारादेवी थापा र सुशीला गिरीले आकांक्षा व्यक्त गरेको गाउँ कमिटीले जनाएको छ । बैठकले आशिष गिरीको संयोजकत्वमा युवा स्वयंसेवक परिचालन कमिटी, पदम खाँडको संयोजकत्वमा बुथ संरक्षण समिति गठन गरेको छ ।

एमाले तनहुँले जिल्लाका अन्य पालिकाको आकांक्षीहरुको नामावली संकलन गरी सर्वसम्मत, सर्वसम्मत नभए मतदान प्रक्रियाबाट उम्मेदवार चयन गरी सफारिस गर्ने तयारीमा जुटेको छ । एमालेको विधान बमोजिम नगर प्रमुख, उपप्रमुख र अध्यक्ष, उपाध्यक्षमा दुइ पुरुष र एक महिला उम्मेदवार सिफारिस गर्नुपर्ने प्रावधान छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker