क्षमापूजा गरी शुक्लागण्डकीको ढोरवाराही मन्दिर भक्तजनका लागि खोलियो

तनहुँको शुक्लागण्डकी नगरपालिकाले क्षमासहितको बहाली पूजा गरी प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरवाराही मन्दिर नौ महिनापछि भक्तजनका लागि खुला गरेको छ । ढोरवाराही क्षेत्र संरक्षण समितिका अध्यक्ष एवं शुक्लागण्डकी-९ का अध्यक्ष लोकनारायण श्रेष्ठका अनुसार नगरपालिकाले मन्दिरमा बोका बलि दिएको छ ।
कोरोना भाइरस संक्रमण त्रासका कारण गत चैतबाट लकडाउन भएदेखि मन्दिर भक्तजनका लागि बन्द गरिएको थियो । नगर कार्यपालिका बैठकले स्वास्थ्यको मापदण्ड अपनाएर मन्दिर खुलाउने निर्णय गरेसँगै भक्तजनलाई खुला गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।
‘मन्दिर बन्द भए पनि भक्तजन आइरहन्थ्ये, कतिले बीचमै बलि पनि दिएको देख्यौँ, तर्सथ खोल्ने निर्णय भयो”, वडाध्यक्ष श्रेष्ठले भने, ‘वडा नं. ९ बाजस्थलमा रहेको ढोरवाराही मन्दिरलाई भगवान विष्णुको तेस्रो अवतारका रुपमा लिइन्छ । मन्दिरको दर्शन गरेमा भाकल पूरा हुने, रोगव्यादी निको हुने जनविश्वास छ । यर्सथ टाढा टाढाबाट भक्तजन आउँछन् ।’
जंगलले चारैतिर घेरिएको पहाडको बीचमा मनोरम स्थानमा मन्दिर रहेको छ । मन्दिरसँगै रहेको पोखरी र पोखरीमा रहेको माछाले भक्तजनको मन रमाउँछ। मन्दिर परिसरको करिब १५ फिट फराकिलो पोखरी र पोखरीको बीचमा दुइजोर शिला छन् । पोखरीमा कम्तीमा १५ मिनेटको अन्तरालमा छुट्ने रहस्यमय लहरी (पानी घटबढ) हुनुले ढोरवाराही मन्दिरप्रतिको आस्थालाई अझ बढाएको छ ।
पोखरीको मूलबाट पानीको ठूलो भल आउँछ । एकैछिनमा फेरि स्वतःघट्दै जान्छ । यसरी यहाँको पोखरीमा लहरी छुट्नुलाइ धार्मिक आस्थासँग जोडिएको छ । ढोरवाराही माता प्रसन्न हुँदा लहरी छुट्ने धार्मिक कथन छ । मन्दिरमा चल्ने लहरीलाई महत्वपूर्ण दैवीशक्तिका रुपमा लिइने गरिन्छ। मन्दिरमा बडादशैको नवदुर्गा, चैतेदशैंको नवदुर्गा, नयाँ वर्षको दिन, वैशाख महिनाभर, श्रीपञ्चमी र हिउँदयाममा भक्तजनको ओइरो लाग्ने गर्दछ । मनले चिताएको पूरा हुने जनविश्वासका साथ मन्दिरमा तनहुँसँगै छिमेकी जिल्ला कास्की, स्याङ्जा, लमजुङ, पाल्पा, गोरखा, चितवन, नवलपरासी लगायत देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।
यस मन्दिरलाई हिन्दू धर्मावलम्बीको आस्थाको धरोहर समेत मानिँदै आएको छ । हिमवत्खण्ड पुराणमासमेत चर्चा गरिएको ढोरवाराही मन्दिरमा देवीको चर्तुवाहु मूर्तिसमेत पाइन्छ। यस मन्दिरमा विसं १९०४ सालदेखि चढाइएका घण्टसमेत छन् । ढोरवाराही माता प्रशन्न हुँदा लहरी छुट्ने किंवदन्ती रहेको छ। उक्त पोखरीमा हिउँदयाममा केही समय लहरी छुट्दैन । हिउँदको समयमा ढोरवाराही माता माइत जाने भएकाले लहरी नछुट्ने कथन छ।










