पर्यटन प्रवर्द्धनमा सांस्कृतिक महत्व

के.बि. मसाल

नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधता हेर्नका लागि वाह्य पर्यटकहरु आउने गर्दछन । प्राकृतिक विविधतासँगै त्यस क्षेत्रमा विकसित पृथक मानवीय चालचलन, संस्कार, भाषा, भेषभुषा, संस्कृतिलाई पर्यटकहरुले रुचिका साथ आनन्द लिदै रमाउछन । नेपालमा पर्यटनका लागि पहाडबाट झरेका अग्ला छाँगा, छहरा, हिमाल, ताल तलैया, तीर्थाटनका लागि धार्मिक मठमन्दिर र ऐतिहासिक पुरातात्विक सम्पदाहरु पनि छन । अहिले वाह्य पर्यटकहरु अध्ययन, अनुसन्धान, मनोरञ्जन आदिका लागि पनि नेपालमा आउने गर्दछन ।

नेपालको साँस्कृतिक र धार्मिक विरासत शताब्दिऔं पुरानो छ । नेपाली समाजको सुमधुर संरचना विभिन्न जातजाति, धर्म संस्कार र संस्कृतिमा वाह्य पर्यटकहरु अचम्म मान्दछन्। यहाँको चाडपर्व, संस्कार र दिनचर्या तथा सुमधुर धार्मिक सहिष्णुता पर्यटकहरुका लागि नौलो अनुभूति हुन्छ । विभिन्न जातजाति तथा समुदायको पहिचान र परिचय उनीहरुको रहनसहन, संगीत र नृत्य देख्दा पर्यटकहरु रमाउँछन् । नेपालीको कला, संस्कृति लोकगीत र वाद्यवादन, भाषा र साहित्य, दर्शन र धर्म, उत्सव, खानाको स्वादमा पर्यटकहरु रमाउँछन् । नेपालमा पर्यटकलाई आकर्षित गर्ने भौगोलिक अवस्था, साँस्कृतिक विविधता, धार्मिक सहिष्णुता, परम्परागत कलाकौशल, ऐतिहासिक, पुरातात्विक सम्पदा, हिमाली श्रृंखला महाभारत पहाड, तराईका मैदानी उर्वर फाँटहरु, तालतलैया, नदीहरु, वन्यजन्तु आरक्ष तथा राष्ट्रिय निकुञ्जहरु रहेका छन् । पहाडी क्षेत्रमा पदयात्रा नदीहरुमा रोमाञ्चक जलयात्रा, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरु पर्यटकहरुलाई आकर्षित गर्ने क्षेत्र हुन् ।

नेपालमा वाह्य पर्यटकहरु बिदा मनाउन, शिक्षा आर्जन गर्न, मनोरञ्जन प्राप्त गर्न, भौगोलिक ज्ञान आर्जन गर्न, साँस्कृतिक रितिरिवाज, चालचलन, भेषभूषाजस्ता कुराको ज्ञान हासिल गर्ने उद्देश्यले आउने गरेका छन् । पर्यटकहरुको भ्रमणका उद्देश्य फरक हुन सक्छन् । तीमध्ये प्रमुख उद्देश्य भनेको मनोरञ्जन, जैविक र सांस्कृतिक विविधतामा रमाउने हो । नेपालमा आउने पर्यटकहरुले विश्वको सबै हावापानी महसुस गर्न र प्राकृतिक तथा साँस्कृतिक विविधताको अनुभव पाउन सक्दछन् । इतिहासमा रुचि राख्ने पर्यटकहरु किराँत कालीन संस्कृति, लिच्छविकालीन संस्कृति, मल्लकालीन संस्कृतिका बारेमा अध्ययन अनुसन्धान गर्दछन्। नेपाल आउने धेरै पर्यटकहरु साँस्कृतिक सम्पदाहरुको अध्यन अनुसन्धान गर्न रुचि राख्दछन । मानव जातिले आफ्नो ज्ञान, सीप र क्षमताको उपयोग गरी निर्माण वा रचना गरेका यावत सिर्जना अनुरुपको जीवनशैली नै मानव–संस्कृति हो । संस्कृति भनेको इतिहासको निश्चित कालखण्डमा मानिसले गरेका सिर्जनशील कार्य हुन् । अतिथी देवो भवःसंस्कार संस्कृतिमा अभ्यस्त नेपालीको जीवनस्तर उकास्न र पर्यटन प्रवर्द्धन गर्नका लागि अब संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्दछ ।

संस्कृति जीवनयापनको जीवित अभिव्यक्ति हो । संस्कृतिले समुदायको सामूहिक परिचय दिन्छ । प्राकृतिक विविधतासँगै मानवीय चालचलन, संस्कार, संस्कृति, भाषा, भेषभूषालाई पर्यटकहरुले चासो राख्दछन् । साँस्कृतिक पर्यटनले पर्यटकहरुलाई साँस्कृतिक रितीरिवाज, भाषा र भेषभूषाले आकर्षण गर्दछ । पर्यटनहरु साँस्कृतिबाट मनोरञ्जन लिने गर्दछन । नेपालमा पर्यटनको मुख्य आधार प्राकृतिक सौन्दर्यता र जनजातिहरुको कला संस्कृतिनै हो भन्दा पनि हुन्छ । जातिगत विविधता अनुसार साँस्कृतिक संग्राहलय, होमस्टे, साँस्कृतिक नृत्य, परम्परागत खानपान र भेषभूषाको विकास गर्नसके अध्ययन र अनुसन्धान गर्ने पर्यटकका लागि नयाँ गन्तब्य बन्दछ । पर्यटकहरु विविधता अवलोकन गर्न मात्रै नभएर पूर्वीय दर्शन, संस्कार संस्कृतिको अध्ययन अनुसन्धानका लागि पनि नेपालमा आउने गर्दछन् । नेपालको साँस्कृतिक, धार्मिक र प्राकृतिक विविधताले पर्यटकहरु रमाउछन । तर पर्यटकको सुरक्षा, सूचना र सञ्चारको पहुच र आधारभूत स्वास्थ्य सेवा पर्यटकहरु पुग्ने ठाउमा हुनु पर्दछ ।

अब पर्यटन प्रवर्द्धन गर्न प्रकृति र संस्कृतिको संरक्षण गर्न सरकारको नीति, निजी व्यवसायीहरु बीचको समन्वय, सहकार्य र मानसिकतामा परिवर्तन हुनु पर्दछ । साँस्कृतिक, भेषभुषा, परम्परागत विविधतालाई पर्यटन प्रवर्द्धनको अवसरको रुपमा विकास गर्नु पर्दछ । सरकारी, निजी तथा व्यवसायीक कम्पनीहरु मार्फत पर्यटन विकासमा समुदायहरुको सहभागिता हुनु पर्दछ । अहिले पर्यटनको क्षेत्र फराकिलो हुँदै गएको छ । पर्यटन नै अब आर्थिक, सामाजिक, साँस्कृतिक र प्राकृतिक महत्वका लागि आधार बन्न थालेको छ। पर्यटनको क्षेत्रमा नेपाल भित्रिने पर्यटकहरु नेपालीहरुले मान्ने चाडपर्व र संस्कृतिमा रमाउन थालेका छन्। नेपालीहरुको धर्म, संस्कृति प्रकृतिसँग जोडिएको छ । नेपालीहरुले मान्ने चाडपर्वहरु पनि प्रकृतिसँग नजिक छन् । विभिन्न धर्म र संस्कृतिमा हुर्केको हाम्रो समाजमा परम्परागत रुपमा मनाइने चाड, पर्व, जात्रा, मेला र अन्य साँस्कृतिक उत्सवहरु पर्यटन विकासको लागि आधार हुन् । पर्यटकहरुले नेपालीका जन्मदेखि मृत्युसम्मका संस्कारहरु रुचीपूर्वक अवलोकन गर्दछन् । विशेषगरी आर्यघाटमा खुलारुपमा शव जलाएको दृष्य उनीहरुलाई अनौठो लाग्छ । त्यसैगरी मनाङ र मुस्ताङ जिल्लामा पदयात्रामा जाने पर्यटकहरुलाई मानिसको लासलाई काटेर गिद्धलाई खुवाएको देख्दा अचम्म हुन्छन् । ती क्षेत्रमा तिब्बती मुलका मानिसहरुले लामाको जोखान अनुसार केही मानिसको लासलाई काटेर गिद्धलाई खुवाउने संस्कार रहेको छ ।

यसैगरी हाम्रा मौलिक संस्कृतिहरु जन्मदा कतै रुनेदेखि कतै खुशी हुने, विवाहमा टाउको ठोकाउनेदेखि सिन्दुर साटासाट गर्ने, दाइजोमा चिउरीको रुख दिनेदेखि बिषको कचौरा दिनेसम्मका मौलिकपन र मृतकको शवलाई घरको भित्ता फोरेर निकाल्नेदेखि लिएर मर्दा माटोमा गाडने,जलाउने संस्कृतिले वाह्य पर्यटकहरुका लागि अनौठो लाग्दछ । नेपाली संस्कृतिको अध्ययन गर्ने, जीवनशैली हेर्ने, खानपिनमा सहभागी हुने र रमाइलो गर्ने पर्यटकको संख्या बढदै गएको छ । अर्कोतर्फ नेपालीले मनाउने हरेक चाडवाडलाई पर्यटकहरुले विशेष चासोका साथ हेर्ने गर्दछन् । हरेक चाडलाई केन्द्रित गरी प्याकेज बनाएर पर्यटकहरु नेपाल आउने गर्दछन् । पर्यटकहरु दसैको दुर्गा पूजा, नवमी र दशमीमा हुने पूजामा रमाइलो मानेर हेर्दछन् । कतिपय पर्यटक टीका ग्रहण गरेर आशीर्वादसमेत लिन चाहन्छन् र पिङ खेलेर रमाइलो गर्दछन् । तिहारमा देउसीभैलो खेल्ने, टीका लगाउनेमा पनि पर्यटकहरु हुन्छन् । कतिपय विदेशीले तिहारमा टीका लगाएर नेपालीलाई दिदी बहिनी बनाएका छन् । होलीको रंगमा रमाउने, पन्ध्र आषाढको दिन कृषकहरुसँग खेतमा गएर हिलो खेल्ने पर्यटकहरुको संख्या पनि कमि छैन । जुन कारणले हामीले मान्दै आएका चाडपर्व र संस्कृति सबै पर्यटकहरुका लागि उनीहरुको भन्दा नौलो, अनौठो र फरकखालको हुन्छ । उपत्यकामा मनाइने इन्द्रजात्रा, विस्केट जात्रा, घोडे जात्रा, गाई जात्रा र लाखे नाचमा समेत पर्यटकहरु रमाउँछन् ।

नेपालमा मौलिक चाडपर्वहरु वर्षैभरि मनाइन्छन् । नेपालमा १२ किसिमका धर्म मान्ने र १ सय ४२ जातिहरु रहेका छन् । यी जातिहरुमा १२५ जातिहरुको आफ्नो भाषासमेत छ । यी भाषा भाषीहरुको पृथक संस्कृति, संस्कार र भेषभूषाले पर्यटकहरु आकर्षण हुने गर्दछन् । यी भाषाको सरक्षण आवश्यक छ । कतिपय भाषा लोप हुँदै जानु र कतिपय लोपोन्मुख हुँदै जानुले अबको पर्यटन के होला ? नेपालमा कतिपय पर्यटकहरु भाषा अध्ययनकै लागि आउने गर्दछन् । तर अहिले हाम्रो मौलिक संस्कृति हराउँदै जान थालेको छ । अहिलेको संस्कृति वैदिक र पौराणिक दुबै नभई मिसमास भएको छ । नेपाली मौलिक संस्कृति जोगाउन चुनौती हुन थालेको छ । संस्कृति हरेक जातिको पहिचानसँग जोडिएको हुन्छ । त्यसको संरक्षण भएन भने पर्यटकहरुलाई के देखाउने? अहिले युवा पुस्ताको ठूलो हिस्सामा हाम्रो मौलिक संस्कृति प्रतिको मोह क्रमिक रुपले घटदै गएको छ । आधुनिकताको नाममा हाम्रा कतिपय राम्रा मौलिक परम्परा कला, संस्कृति, लोक साहित्य, लोक संगीत, लोक बाजाहरु, लोप हुने अवस्थामा पुगिरहेका छन् । जन्मोत्सवको सट्टामा बर्थ डे हाम्रो संस्कृति नै बनिसकेको छ । पञ्चेबाजालाई विस्थापित गर्दै ब्यान्ड बाजा स्थापित भैरहेको छ। यस्ता कुराहरु खोज गर्दै जाने हो भने धेरै भेटिन्छन् । पर्यटन प्रवर्द्धनको लागि मौलिक संस्कृतिको जगेर्ना गर्दै इतिहास, संस्कार एवं संस्कृतिलाई जीवन्त राख्नु पर्दछ । अब यसको संरक्षण गर्न सबै पर्यटन ब्यवसायीहरु मात्र होइन सबैको साझा दायित्व सम्झनु पर्दछ ।

अर्कोतर्फ पर्यटनको क्षेत्रमा आवश्यक पूर्वाधार र सूचना प्रविधिको विकास हुनुपर्दछ । अहिलेसम्म पर्यटकहरुलाई आकर्षण गर्ने प्राकृतिक सम्पदामा राज्यले खर्च गर्न परेको छैन । तर अब पर्यटनको विकास गर्न ती सम्पदाहरुलाई संरक्षण गर्दै जानुपर्दछ । पूर्वाधारको विकास गर्ने हो भने नयाँ गन्तव्यको पर्खाइमा बसेका पर्यटक घुमफिर गर्न उत्साहित हुन्छन् । तर हामीकहाँ पर्यटन विकासको लागि पूर्वाधार निर्माण गर्ने काममा कुनै गुरुयोजना छैन । आवश्यकता हो या हैन ? आफूखुशी पर्यटनको पूर्वाधार बन्न थालेका छन् । प्राकृतिक भ्यूटावर बनेका पहाडको टुप्पोमा भ्यूटावर बनाउने होड चलेको छ । मोटरमार्ग पुगेको ठाउँमा केवुलकारको योजना बनेको छ र कहिकतै निर्माण पनि हुन लागेको छ । प्रत्येक जिल्लामा यस्ता धेरै उदाहरण भेटिन्छन् । पर्यटन विकासको लागि पर्यटकहरुको लागि खान, बस्न होमस्टे, होटल खुल्दै जानु पर्दछ । गाउँमा पुग्ने सडकमार्ग भरपर्दो हुनुपर्दछ । अर्कोतर्फ पर्यटकहरुको सुरक्षा, सञ्चार सुविधा र स्वास्थ्य केन्द्रहरुको पनि ब्यवस्था हुनुपर्दछ। पर्यटनको क्षेत्रमा आवश्यक पूर्वाधार, पर्यटनमैत्री वातावरण सिर्जना गर्न नसक्नु र प्रचारप्रसारमा पनि ध्यान दिन नसक्दा पर्यटन क्षेत्रको विकासमा चुनौती बन्दै गएको छ ।

नेपालमा ग्रामीण पर्यटन धेरै सम्भावना भएको क्षेत्र हो । बिविध हावापानी, गाउँले जनजीवन, रहनसहन, भौगोलिक अवस्था, स्थानीय अर्गानिक खाना, सांस्कृतिक सम्पदा र संस्कारले आजभोली कतिपय वाह्य पर्यटकहरु पनि गाउँमा पुग्दछन। प्राकृतिक रमणीयताको परिवेशले गाउँको होमस्टेमा बस्ने र भाषा र सस्कृतिको अध्यन समेत गर्दछन। गाउँमा पर्यटकहरु पुग्न पर्यटन पूर्वाधार पहिलो आवश्यकता हो । पर्यटकलाई सुरक्षित तवरले गन्तब्यमा पुग्न यातायातको सुबिधाका लागि भरपर्दो सडक सुबिधा, पदयात्राको लागि पदमार्ग जस्ता पूर्वाधार हुनु पर्दछ । ग्रामीण क्षेत्रमा धेरै कच्ची सडकहरु छन् र ती सडक प्राबिधिक रुपमा जोखिम छन । जबरजस्ती कच्ची सडक बनाउदा गाउँको सौन्दर्यता विनास भएको छ । ग्रामीण पर्यटन प्रवर्द्धन गर्न ब्यवस्थित सडक बनाउने र घोरेटो बाटोको संरक्षण गरी टेकिङ र हाइकिङको सुबिधा दिलाउन तर्फ ध्यान दिनुपर्छ । सडकको दीर्घकालीन योजना सहित प्राबिधिक दृष्टिले उपयुक्त एवं वातावरणीय अनुकूल बनाइ गाउँको सौन्दर्यताको संरक्षण गर्नुपर्छ । सडकले ग्रामीण र शहरी क्षेत्र जोडने र पर्यटकको पहुचलाई सहज बनाउन आवश्यक छ ।

पर्यटन प्रवर्द्धनको लागि महत्वपूर्ण पक्ष पर्यटकको खाना हो । गाउँको स्वादिलो, अर्गानिक र स्वस्थ्यकर खाना स्थानीय उत्पादनबाट बनाई खुवाउने सीप गाउँमा हुनुपर्छ । गाउँमा प्राप्त हुने प्राकृतिक र खानयोग्य बस्तुको बिभिन्न परिकार बनाउने र पर्यटकलाई लोभ्याउने सिप हुनु पर्दछ । गाउँका स्थानीय खानाले पर्यटकलाई आनन्द दिलाउने र गाउँको पहिचान देखाइ पर्यटक पुनः गाउँमा पुग्ने वातावरण बनाउन बिशेष ध्यान दिनु आवश्यक छ । गाउँको मेला जात्रा, पर्व तथा बिशेष दिनको अवसरमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न कार्यक्रम सहितका सूचनाहरु पर्यटक माझ पु¥याउने र सो अवसरमा हाटबजारको ब्यवस्था गरी स्थानीय उत्पादनको बजार प्रवर्द्धन गरी गाउँलेको आम्दानी बढाउन सकिन्छ । स्थानीय बिशेष उत्पादनलाई पर्यटकहरुले कोशेलीको रुपमा लैजाने प्रबन्ध मिलाउन कोशेली घरको ब्यवस्था गर्न सके राम्रो हुन्छ । गाउँको सांस्कृतिक बिधालाई प्रर्दशनी गरी पर्यटकलाई आनन्द दिलाउनु पर्दछ। गाउँले जीवनको रहन सहन, संस्कार र रितिरिवाजलाई पर्यटक माझ प्रर्दशन गरी पर्यटकको मन जित्न सक्नु पर्दछ । गाउँका पुर्खाले प्रयोग गरेका सामानहरु तथा प्राचीन प्रबिधि पनि पर्यटकका मन जित्ने वस्तु हुन् । यी बस्तुको प्रदर्शनीबाट पनि पर्यटकलाई आनन्द दिन सकिन्छ ।

नेपालको पहिचान भनेकै नेपालको संस्कृति हो । इतिहास र संस्कृतिलाई संरक्षण गर्ने परम्परा विश्वमा अन्यत्र पनि रहेको पाइन्छ । अब पर्यटनको बिकास गर्न प्रकृति र संस्कृतिको संरक्षण गर्न सरकारको नीति, निजी र व्यावसायीहरु बिचको समन्वय, सहकार्य र मानसिकतामा व्यापक परिवर्तन हुनु पर्दछ । सांस्कृतिक, भेषभुषा, परम्परागत विविधतालाई पर्यटन प्रवर्द्धनको अवसरको रुपमा विकास गरिनु पर्दछ । संस्कृतिका बारेमा गहिरो अध्ययन हुन सकेको छैन । साँस्कृतिक विविधता र प्राकृतिक सुन्दरताको प्रचार–प्रसार गर्नुपर्दछ । नेपालको भाषा, धर्म र सस्कृतिले पर्यटकहरुलाई चिनाएको छ । नेपालको पर्यटन विकास र पहिचानको लागि इतिहास, संस्कृति र सम्पदाको संरक्षण गर्नु पर्दछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker