खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजनामा तनहुँको भिमाद नगरपालिका

भिमाद : तनहुँको भिमाद नगरपालिकाले कृषि उत्पादन वृद्वि गराई खाद्यान्न उत्पादनमा आत्मनिर्भर बन्ने योजना अघि सारेको छ । कृषि उत्पादन वृद्वि गर्न किसानलाई प्रोत्साहन स्वरुप सम्मान एवं पुरस्कृत गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले चालु आर्थिक वर्षमा ‘एक वडा एक उत्कृष्ट किसान सम्मान’ गर्ने कार्याक्रम ल्याएको नगरपालिकाले जनाएको छ । कृषि क्षेत्रको आधुनिकीकरण, विविधिकरण र व्यावसायिकरण गरी उत्पादन तथा उत्पादकत्व वृद्वि गर्न लागिएको नगरप्रमुख दधिराज सुवेदीले बताए ।
खेतीयोग्य जमिनमा व्यवस्थित सिँचाइ सुविधा पु¥याउन नगरपालिकाले पक्की कुलो निर्माण गर्ने योजना प्राथमिकताका साथ अघि सारेको उनले बताए । हाल कायम रहेका कृषि ‘पकेट’ क्षेत्रलाई विस्तार एवं स्तरोन्नति गर्नुका साथै सम्भाव्यता र माटो परीक्षणका आधारमा माछा, ‘अर्गानिक’ तरकारी बीउ उत्पादन, दूध तथा मासु पकेट क्षेत्र विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ ।
कृषि पेसाको महत्व तथा आवश्यकतालाई विद्यालयस्तरबाट बोध गराउन माध्यमिक तहका विद्यार्थीलाई तनहुँ प्राविधिक शिक्षालयसँग समन्वय गरी विद्यालय कृषि शिक्षा कार्यक्रम सञ्चालन गरिने नगरप्रमुख सुवेदीले बताए ।
नगरपालिकाका पशु सेवा शाखा तथा सेवा केन्द्रमार्फत वडास्तरमा घुम्ती सेवा प्रदान गरी पशुमा लाग्ने आन्तरिक तथा बाह्य परजीविको पहिचान गरी निःशुल्क औषधीको व्यवस्था मिलाइएको उनले बताए । दूध उत्पादन र कृषि व्यवसाय विस्तार गरी किसानको जीवनस्तरमा सुधार ल्याउन नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रम प्राथमिकताका साथ सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
‘दूध उत्पादन वृद्धि गरी नगरपालिकालाई दूध तथा दुग्धजन्य पदार्थमा आत्मनिर्भर बनाउन दुग्ध चिस्यान केन्द्रको विस्तार गर्न लागेका छौं’, नगरप्रमुख सुवेदीले भने, ‘नगरपालिकाभित्र पाइने रैथाने खरी जातको बाख्रा लोप हुने जोखिममा रहेकाले त्यसको संरक्षण गर्न विशेष कार्यक्रम सञ्चालन गरी स्रोतकेन्द्रको रूपमा विकास गरिने छ ।’
कृषि तथा पशुपंक्षी क्षेत्रमा हुने जोखिम न्यूनीकरण गर्न कृषि तथा पशु बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गरी यसको लाभ लक्षित वर्गसम्म पु¥याउन पहलकदमी थालिएको नगरप्रमुख सुवेदीले बताए ।










