नेपालको उच्च शिक्षामा रूपान्तरणको आवश्यकता
शिवदत्त चापागाई

उच्च शिक्षा कुनै पनि राष्ट्रको बौद्धिक उन्नति, सामाजिक चेतना र आर्थिक विकासको मेरुदण्ड हो। आधुनिक विश्व ज्ञानमा आधारित अर्थतन्त्रतर्फ तीव्र गतिमा उन्मुख भइरहेको अवस्थामा विश्वविद्यालयहरू केवल डिग्री प्रदान गर्ने संस्था मात्र नभई ज्ञान उत्पादन, अनुसन्धान, नवप्रवर्तन, नेतृत्व विकास र नीति निर्माणका प्रभावशाली केन्द्रका रूपमा विकसित भएका छन् । विश्वका विकसित राष्ट्रहरू अनुसन्धान, प्रविधि विकास र मानव पुँजी निर्माणमा आधारित छन् जसको केन्द्रबिन्दुमा उच्च शिक्षा रहेको छ। उनिहरूले उच्च शिक्षामा गरिएको लगानीलाई दीर्घकालीन राष्ट्रिय लगानीका रूपमा हेर्ने गर्दछन। नेपालको उच्च शिक्षा अझै पनि पहुँच विस्तारको चरणमा सीमित देखिन्छ शैक्षिक गुणस्तर, अनुसन्धान र नवप्रवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मकता गम्भीर चुनौतीका रूपमा विद्यमान छन् ।
नेपालको उच्च शिक्षामा संरचनात्मक रूपान्तरण अपरिहार्य रहेको छ । उच्च शिक्षाको विकासक्रम त्रिभुवन विश्वविद्यालयको स्थापनासँगै प्रारम्भ भएको हो। जसले औपचारिक उच्च शिक्षाको आधार निर्माण ग¥यो। समयक्रमसँगै काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा अन्य विश्वविद्यालयहरूको स्थापना भयो। सयौँ आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूले उच्च शिक्षा प्रदान गरिरहेका छन जसकारण ग्रामीण, दुर्गम तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई समेत उच्च शिक्षामा पहुँच पुगेको देखिन्छ । सामाजिक समावेशिताको दृष्टिले यो महत्वपूर्ण उपलब्धि भएता पनि शैक्षिक गुणस्तर सुनिश्चित गर्न नसक्नु नेपालको उच्च शिक्षाको प्रमुख समस्या बनेको छ। नेपालको उच्च शिक्षा प्रणाली बहुआयामिक समस्याबाट ग्रसित छ। पाठ्यक्रमहरू पुराना, सामग्री–केन्द्रित र परीक्षा–मुखी छन् यसले विद्यार्थीलाई सिर्जनशील, आलोचनात्मक र समस्या समाधान गर्न सक्ने बनाउनुको सट्टा रटानमुखी बनाएको छ ।
शिक्षण–सिकाइ गतिविधि शिक्षक–केन्द्रित छ विद्यार्थीको सक्रिय सहभागिता न्यून देखिन्छ। नेपालको उच्च शिक्षामा अनुसन्धान र नवप्रवर्तन प्रवृती कमजोर छ भने भएका अनुसन्धान कार्य पनि उपाधी प्राप्तिका लागि गर्ने गरेको पाइन्छ। विश्व विधालयहरूले अनुसन्धानलाई संस्थागतरूपमा प्राथमिकता दिइँएको पाइदैन। शिक्षकहरू उच्च शिक्षण भार, सीमित अनुसन्धान सुविधा र अपर्याप्त प्रोत्साहनका कारण अनुसन्धान र नवप्रवर्तनमा संलग्न हुन सकिरहेका छैनन्। शिक्षाक्षेत्रमा बजेट कम विनियोजन गरिनु साथै पुस्तकालय, प्रयोगशाला, सूचना प्रविधि र डिजिटल पूर्वाधारको अभावले उच्च शिक्षाको गुणस्तरमा नकारात्मक प्रभाव पारेको छ ।
नेपालमा उच्च शिक्षा र श्रम बजारबीचको सम्बन्ध अत्यन्त कमजोर छ । विश्वविद्यालयबाट स्नातक भएका धेरै विद्यार्थीहरू रोजगार बजारमा प्रवेश गर्दा आवश्यक व्यावहारिक सीप, व्यावसायिक दक्षता र आत्मविश्वासको अभावमा संघर्ष गर्न बाध्य छन् । यसले बेरोजगारी, अर्ध–बेरोजगारी र वैदेशिक पलायनको समस्या बढाएको छ। उच्च शिक्षा प्राप्त जनशक्तिको ठूलो हिस्सा विदेश पलायन हुनु ‘ब्रेन ड्रेन’ को गम्भीर समस्या हो यसले राष्ट्रिय विकासमा नकारात्मक प्रभाव पारिरहेको छ। यस सन्दर्भमा उच्च शिक्षालाई रोजगारमुखी, सीप–आधारित र नवप्रवर्तन–केन्द्रित बनाउनु अत्यन्त आवश्यक छ ।
विश्वव्यापी प्रतिस्पर्धात्मकताको अवधारणा आज उच्च शिक्षाको मूल्याङ्कन गर्ने प्रमुख आधार बनेको छ । अन्तर्राष्ट्रिय स्तरमा सफल विश्वविद्यालयहरू ती हुन् जसले अनुसन्धान र नवीन ज्ञान सिर्जना मार्फत विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्छन् । विश्वका सफल विश्वविद्यालयहरूको अनुभवले देखाउँछ कि उच्च शिक्षा रूपान्तरण दीर्घकालीन दृष्टि, स्पष्ट नीति, सुशासन र निरन्तर अनुसन्धान र नवीन ज्ञान सिर्जनामा गरिएको लगानिको परिणाम हो। संयुक्त राज्य अमेरिकाको हार्भर्ड विश्वविद्यालय विश्वकै अग्रणी विश्वविद्यालयहरूमध्ये एक हो। अनुसन्धान–केन्द्रित शिक्षण विधि र बहुविषयक अध्ययन आधारित छ । हार्भर्ड विश्वविद्यालयमा शिक्षक र विद्यार्थीलाई स्वतन्त्र रूपमा अनुसन्धान गर्ने वातावरण प्रदान गरिन्छ जहाँ ज्ञान उत्पादनलाई सामाजिक समस्या समाधान र नीति निर्माणसँग प्रत्यक्ष रूपमा जोडिन्छ ।
बेलायतको अक्सफोर्ड विश्वविद्यालय विश्वकै सबैभन्दा पुराना र प्रतिष्ठित विश्वविद्यालयहरूमध्ये पर्दछ। अक्सफोर्डको ट्युटोरियल प्रणाली जहाँ सानो समूहमा शिक्षक र विद्यार्थीबीच गहिरो शैक्षिक संवाद हुन्छ आलोचनात्मक सोच, तर्कशीलता र बौद्धिक आत्मविश्वास विकास गर्ने प्रभावकारी माध्यम हो। अक्सफोर्डले अनुसन्धान र शिक्षणलाई अलग–अलग नभई एक–अर्काका पूरकका रूपमा विकास गरेको छ। यस विश्वविद्यालयको अनुभवले शिक्षा केवल पाठ्यपुस्तक र परीक्षा प्रणालीमा सीमित हुन नहुने बरु बौद्धिक बहस, अनुसन्धान र चिन्तनमा आधारित हुनुपर्ने सन्देश दिन्छ। एशियाली सन्दर्भमा जापानको टोकियो विश्वविद्यालय उच्च शिक्षा र राष्ट्रिय विकासबीचको सशक्त उदाहरण हो। यस विश्वविद्यालयले अनुसन्धान, प्रविधि र उद्योगसँगको सहकार्यलाई प्राथमिकता दिँदै जापानको औद्योगिक, वैज्ञानिक र प्रविधिगत उन्नतिमा महत्वपूर्ण योगदान दिएको छ। विश्वविद्यालयमा हुने अनुसन्धान प्रत्यक्ष रूपमा राष्ट्रिय नीति, उद्योग विकास र सामाजिक समस्या समाधानसँग जोडिएको हुन्छ। विश्वविद्यालयलाई केवल शैक्षिक संस्था नभई राष्ट्रिय विकासको साझेदार हुन यसकुरालाई केन्द्रमा राखि नेपालले पनि उच्च शिक्षालाई कृषि आधुनिकीकरण, जलविद्युत् विकास, पर्यटन प्रवद्र्धन, स्वास्थ्य सेवा सुधार र सूचना प्रविधि विकासजस्ता राष्ट्रिय प्राथमिकता क्षेत्रसँग जोड्नुपर्दछ ।
सिङ्गापुरको राष्ट्रिय विश्वविद्यालय (यनयूयस) विकासोन्मुख राष्ट्रले कसरी छोटो समयमै विश्वस्तरीय विश्वविद्यालय निर्माण गर्न सक्छ भन्ने उत्कृष्ट उदाहरण हो। सिङ्गापुर सरकारले उच्च शिक्षालाई राष्ट्रिय विकास रणनीतिको केन्द्रमा राख्दै स्पष्ट नीति, कडा गुणस्तर मापदण्ड, अन्तर्राष्ट्रिय शिक्षक र विद्यार्थी आकर्षण तथा उद्योग–विश्वविद्यालय सहकार्यमा जोड दिएको थियो। यनयुयसले अनुसन्धान र नवप्रवर्तनलाई शिक्षणसँग एकीकृत गर्दै विश्वस्तरीय प्रकाशन, पेटेन्ट र स्टार्टअप उत्पादन गर्यो ।
नेपालको उच्च शिक्षामा रूपान्तरणको आधारभूत शर्त पाठ्यक्रम सुधार हो । हालका अधिकांश पाठ्यक्रमहरू स्मरण–आधारित र परीक्षा–मुखी छन् जसले विद्यार्थीलाई सिर्जनशील, विश्लेषणात्मक र समस्या समाधानक्षम बनाउन सकेको छैन। सीप–आधारित, दक्षता–केन्द्रित र जीवनोपयोगी शिक्षा प्रणाली विकास नगरी नेपाली विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धामा उभ्याउन सकिँदैन । कृत्रिम बुद्धिमत्ता, डाटा विज्ञान, जलवायु परिवर्तन, उद्यमशीलता, अनुसन्धान विधि, शैक्षिक लेखन, आलोचनात्मक चिन्तन र डिजिटल सीपजस्ता विषयहरू पाठ्यक्रममा समावेश गर्नु आजको अनिवार्य आवश्यकता हो । साथै स्थानीय ज्ञान, संस्कृति र सामाजिक सन्दर्भलाई पनि पाठ्यक्रममा समेट्न आवश्यक छ। शिक्षकहरूको भूमिका उच्च शिक्षा रूपान्तरणमा निर्णायक हुन्छ। विश्वका सफल विश्वविद्यालयहरूमा शिक्षकहरू निरन्तर अनुसन्धान, तालिम र अन्तर्राष्ट्रिय सहकार्यमा संलग्न हुन्छन् । नेपालमा भने शिक्षकहरूको व्यावसायिक विकासका अवसर सीमित छन्। निरन्तर व्यावसायिक विकास कार्यक्रम, अनुसन्धान अनुदान, अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागिता, शिक्षक आदान–प्रदान कार्यक्रम र कार्यसम्पादन–आधारित मूल्याङ्कन प्रणाली लागू नगरी शिक्षकको क्षमता अभिवृद्धि गर्न सकिँदैन। सक्षम र प्रेरित शिक्षक बिना गुणस्तरीय उच्च शिक्षा सम्भव हुँदैन ।
अनुसन्धान र नवप्रवर्तन उच्च शिक्षाको आत्मा हुन्। नेपालमा अनुसन्धानलाई अझै पनि औपचारिक आवश्यकता वा अतिरिक्त बोझका रूपमा लिने प्रवृत्ति देखिन्छ । विश्वस्तरीय विश्वविद्यालयहरूले अनुसन्धानलाई शिक्षणसँग समान महत्व दिएका छन्। अनुसन्धान केन्द्र स्थापना, क्याम्पसस्तरमै साना अनुसन्धान अनुदान, अन्तर्राष्ट्रिय जर्नल प्रकाशनमा सहयोग, पीएचडी तथा पोस्ट–डक्टोरल अनुसन्धान प्रवर्द्धन नगरी विश्वविद्यालयहरू विश्वस्तरीय बन्न सक्दैनन् । नेपालले स्थानीय समस्या समाधानमुखी अनुसन्धानलाई प्राथमिकता दिँदै विश्व ज्ञान उत्पादनमा योगदान गर्नुपर्दछ । डिजिटल प्रविधिले उच्च शिक्षामा रूपान्तरणको ऐतिहासिक अवसर प्रदान गरेको छ। अनलाइन कक्षा, डिजिटल पुस्तकालय, भर्चुअल प्रयोगशाला र स्मार्ट कक्षाको प्रयोगले शिक्षालाई लचिलो, गुणस्तरीय र समावेशी बनाएको छ । दुर्गम क्षेत्रका विद्यार्थीहरूका लागि डिजिटल शिक्षा प्रभावकारी माध्यम बन्न सक्छ। यसका लागि शिक्षक र विद्यार्थी दुवैमा डिजिटल साक्षरता विकास, प्रविधिमा पहुँच विस्तार र गुणस्तरीय डिजिटल सामग्री विकास अनिवार्य छ । अन्तर्राष्ट्रियकरण बिना उच्च शिक्षामा विश्वव्यापी प्रतिस्पर्धात्मकता सम्भव छैन। विश्वका अग्रणी विश्वविद्यालयहरू अन्तर्राष्ट्रिय शिक्षक, विद्यार्थी र संयुक्त अनुसन्धान परियोजनाका कारण विश्वस्तरीय बनेका छन्। नेपाली विश्वविद्यालयहरूले संयुक्त शैक्षिक कार्यक्रम, विद्यार्थी–शिक्षक आदान–प्रदान, अन्तर्राष्ट्रिय मान्यतासँग मेल खाने शैक्षिक संरचना र विदेशी विद्यार्थी आकर्षण रणनीति विकास गर्नुपर्छ । यसले नेपालको उच्च शिक्षालाई विश्व मञ्चमा स्थापित गर्न सहयोग पु¥याउनेछ ।
नेपालका सामुदायिक क्याम्पसहरू उच्च शिक्षा रूपान्तरणका महत्वपूर्ण आधार हुन्। यस्ता क्याम्पसहरूले स्थानीय समुदायसँग जोडिएको अनुसन्धान, रोजगारमुखी शिक्षा र कम लागतमा गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न सक्छन्। उचित नीति, पर्याप्त स्रोत, डिजिटल पहुँच र सक्षम नेतृत्व पाएमा सामुदायिक क्याम्पसहरू स्थानीय नवप्रवर्तन, सीप विकास र सामाजिक रूपान्तरणका केन्द्रका रूपमा स्थापित हुन सक्छन् ।
नेपालको उच्च शिक्षामा रूपान्तरण चुनौतीपूर्ण भए पनि पूर्णतः सम्भव छ । विश्वका सफल विश्वविद्यालयहरूको अनुभव, स्थानीय आवश्यकता, स्पष्ट नीति र दूरदर्शी नेतृत्वको संयोजनबाट नेपाली उच्च शिक्षा प्रणालीलाई विश्वव्यापी प्रतिस्पर्धी बनाउन सकिन्छ । उच्च शिक्षालाई खर्च होइन दीर्घकालीन लगानीका रूपमा बुझ्न सके मात्र नेपालले सक्षम, अनुसन्धानशील, नवप्रवर्तनशील र विश्वसँग जोडिएको पुस्ता निर्माण गर्न सक्छ । ज्ञान, अनुसन्धान र नवप्रवर्तन नै आजको शक्ति भएकाले उच्च शिक्षामा गरिएको लगानी नै नेपालको समृद्ध भविष्यको आधार हुनेछ ।
(लेखक जनज्योति क्याम्पस भिमादका सह–प्राध्यापक हुन्)










