पृथ्वीरामार्ग अन्तर्गत तनहुँको व्यास-बन्दिपुर सडक खण्ड आजबाट दैनिक पाँच घण्टा अवरुद्ध हुने
भञ्ज्याङ न्यूज

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको याम्पाफाँट र घाँसीकुवा खण्ड आज आइतबारबाट दैनिक पाँच घण्टा बन्द हुने भएको छ । मुग्लिङ-पोखरा सडक विस्तार आकयोजना अन्तर्गत उक्त खण्डमा सडक खन्ने कार्य गर्नुपर्ने भएकाले सडक बन्द गरी काम गरिने भएको छ ।
बन्दिपुर गाउँपालिका-५ स्थित याम्पाफाँट र व्यास नगरपालिका-१२ घाँसीकुवा खण्डमा आज आइतबारदेखि अर्को सूचना नभएसम्मका लागि राति ११ देखि बिहान ४ बजेसम्म यातायातका साधन सञ्चालनमा रोक लगाइएको मुग्लिङ-पोखरा सडक योजना, तनहुँका आयोजना प्रमुख नरेन्द्र सुवेदीले बताए ।
नियमितरूपमा यातायात सञ्चालन हुँदा काम गर्न असहज भएकाले रातिको समयमा सडक बन्द गरी काम गर्न लागि यातायात सञ्चालनमा रोक लगाइएको उनले बताए । विसं २०२६ मा रेखाङ्कन भएको उक्त सडकमा सवारीसाधनको चाप बढ्दै गएपछि एशियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको हो । असी किलोमिटर सडकलाई दुइ खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।
गण्डकी प्रदेशको ‘लाइफलाईन’ को रुपमा लिइएको मुग्लिङ-पोखरा सडक विस्तारको कामलाई त्रि्रता दिइएको छ । पृथ्वीराजमार्ग अन्तरगतको यो खण्डलाई ४ लेनको बनाउन सडक सिमाभित्र पर्ने रुख काट्ने, सडक फराकिलो बनाउने, भत्किने संरचनाको सर्भे गरी क्षतिपुर्ति वितरण गर्ने लगायतका कार्य अगाडि बढाइएको छ ।
सडक विभाग आयोजना निर्देशनालय -एडीबी)ले पहिलो चरणमा मुग्लिन-पोखरा सडक खण्ड अन्तर्गतको आँबुखैरेनी-पोखरा खण्ड निर्माण प्रक्रिया अघि बढाएको छ । यस अन्तरगत आँबुखैरेनी-जामुने पूर्वी खण्ड र जामुने-पोखरा पश्चिम खण्डले सडक विस्तारको कामलाई तीव्रता दिइरहेका छन् ।
यस्तै, सडक विस्तार कार्य अन्तरगतको पूर्वी खण्डमा सडक सिमा भित्रका करिव तीन हजार ९ सय वटा रुखहरु काटिसकिएका छन्। ‘सडकसिमाभित्र पर्ने अधिकांश रुख काटिसकिएको छ, बिजुलीका पोलहरु र घरहरुसंगै रहेका रुखहरुमात्र काट्न बाँकी छन्’, सुवेदीले भने,’ आयोजना अन्तर्गत आँबुखैरेनीबाट करिव २५ किमि सडक फराकिलो बनाउने काम भइरहेको छ ।’
सडक फराकिलो बनाउदा सडक जाम तथा दुर्घटना नहोस भनि चार ठाउँमा सडक डार्इभर्सन गरी सडक फराकिलो गरिएको उनले बताए । सुवेदीले भने, ‘तर सडक सिमाभित्र पर्ने विद्युत पोलको लागत स्टिमेट नआउँदा पोलहरु व्यवस्थापन गर्न सकिएको छैन र काममा अवरोध आएको छ ।’
यस्तै, पुर्वी खण्डमा सडक विस्ताको क्रममा सडक सिमा भित्र पर्ने व्यक्तिगत तथा अन्य घर, टहरा, पार्टीपौवा लगायतका संरचना गरी ५०५ वटा भौतिक संरचना भत्किने उनले बताए । ‘पुर्व खण्डको दमौली र डुम्रे खण्डलाई नसमेटि ६ करोड रुपैयाँ बराबरको क्षतिपुर्ति व्यहोर्नुपर्ने सर्भेमा देखिएको छ’, प्रमुख सुवेदीले भने, ‘हालसम्म हामीलाई जम्मा ५० लाख रुपैयाँ बराबरको क्षतिपुर्तिको रकम उपलब्ध भएको छ । त्यसबाट पहिलो किस्ता अन्तरगत ४० प्रतिशतको दरले आँबुखैरेनी र बन्दिपुरका करिव ७५ वटा घरलाई रकम हस्तान्तरण गरिएको छ ।’
पश्चिम सडकखण्डमा पनि सडक विस्ताको कामलाई तीव्रता दिइएको छ । तनहुँ खण्डको २ हजार २८० र कास्की खण्डको करिव नौं सय वटा रुख काटिएको पश्चिम सडकखण्डका प्रमुख अमित श्रेष्ठले बताए । उनले भने, ‘कोत्रैबाट तनहुँतर्फ सडक विस्तारको काम पनि सुरु भएको छ ।’ आयोजना अन्तरगत साना ठुला गरी पश्चिम खण्डमा १२ र पुर्वीखण्डमा १७ वटा पुलहरु निर्माण गरिनेछ । तनहुँ खण्डको मादी नदीको पुल र कास्कीको सेतीनदीको पुलको भने छुट्टै ठेक्का लागेको प्रमुख श्रेष्ठले बताए ।
पृथ्वीराजमार्गको करिब ७२ किलोमिटर सडक खण्ड तनहुँमा पर्दछ । यस खण्डभित्र आूवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, घाँसीकुवा, तालघारे, दमौली, चापाघाट, जामुने, थर्पु, खैरेनीटार, दुलेगौंडा, कोत्रे लगायत सानाठूला बजार क्षेत्रहरु पर्दछन् । यी बजारहरु मध्ये बढि मात्रमा आँवुखैरेनी, विमलनगर, डुम्रे, छिर्कने, दमौली लगायतका बजार क्षेत्रका भौतिक संरचनाहरु प्रभावित हुने छन् ।
मुग्लिन-पोखरा सडक अन्तर्गतको पश्चिम खण्ड जामुने-पोखरा सडक निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुन हाइवे एन्ड ब्रिज कन्स्ट्रक्सनले ७ अर्ब ४० करोड र पूर्व खण्ड आँबुखैरनी-जामुने सडक निर्माणको जिम्मा अर्को चिनियाँ कम्पनी कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको छ ।
राष्ट्रिय राजमार्गहरुको स्तरोन्नति र विस्तार गर्ने कार्यक्रम अन्तरगत साविक दुइ लेनमा रहेको मुग्लिन-पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गरिने क्रममा तनहुँ क्षेत्रमा करिव ६ हजार ७५० रुख काटिने डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। यस्तै, सडक बिस्तारकै क्रममा कास्की खण्डमा एक हजार २५० वटा रुख कटान हुने बताइएको छ ।
मुग्लिन-पोखराको दूरी करिब ८८ किमि छ । जसमा आँबुखैरेनी-पोखराको लम्बाइ ८० किमि छ । निर्देशनालयले आँबुखैरेनी-पोखरा सडकलाई दुइ खण्डमा विभाजन गरेको छ । आँबुखैरेनी-जामुने (४१ कि.मि) पूर्व खण्ड र जामुने-पोखरा (३९ कि.मि) पश्चिम खण्ड रहेको छ । आँबुखैरेनीदेखि मुग्लिन खण्डको ८ किलोमिटर दूरीको भने डिजाइन हुँदैछ ।
आगामी आर्थिक वर्षमा यो खण्डको पनि टेण्डर निकाल्ने तयारी भइरहेको जनाइएको छ । यो खण्डमा मर्स्याङ्दी जलविद्युत गृह रहेकोले सडक फराकिलो बनाउन सकस हुने भएपछि सडकको रेखांकन नै परिवर्तन गर्ने तयारी भएको आयोजनाले जनाएको छ ।










