सम्पादकीय : नेपाल र “क्रिसमस डे”

नेपाल, एक धर्मनिरपेक्ष राष्ट्रको रूपमा स्थापित भइसकेको छ । यहाँ सबै धर्मलाई समान आदर र सम्मान दिइने प्रावधान छ । तथापि, पछिल्ला केही वर्ष यता धर्म परिवर्तनको बढ्दो प्रवृत्तिले देशको सामाजिक र सांस्कृतिक धरातललाई चुनौती दिएको छ। विशेष गरी, ईसाई धर्म परिवर्तनको प्रक्रिया र यससँग सम्बद्ध मिशनरी संस्थाहरूको सक्रियता विषयमा व्यापक बहस उठिरहेको छ । नेपालको संविधानले धर्म निरपेक्षताको अवधारणा स्वीकार गरेको छ, जसको प्रमुख उद्देश्य सबै धर्मका अनुयायीलाई समान अधिकार र स्वतन्त्रता प्रदान गर्नु हो। यो अवधारणा एक ऐतिहासिक मोड हो जसले नेपाली समाजको विविधतापूर्ण सांस्कृतिक धरोहरलाई संरक्षण गर्नका लागि गरिएको थियो। यसले धार्मिक स्वतन्त्रता सुनिश्चित गर्नुका साथै, कुनै एक धर्मलाई प्राथमिकता नगरी सबैलाई समान हक दिनुका साथै, धर्मको नाममा हुने भेदभाव र उत्पीडनलाई रोक्ने लक्ष्य राख्छ ।
तर, व्यवहारिक रूपमा यो धर्म निरपेक्षता कहिलेकाहीं धर्म परिवर्तनको उपकरणको रूपमा प्रयोग हुने गरेको छ । विशेष गरी, ईसाई मिशनरी संस्थाहरूले शिक्षा, स्वास्थ्य र सामाजिक कल्याणका नाममा विभिन्न प्रलोभनहरू प्रस्तुत गर्दै धर्म परिवर्तनको प्रक्रिया अगाडि बढाइरहेका छन्। नेपालका दूरदराजका दलित, जनजाति, र गरीब समुदायहरूमा यो प्रवृत्ति बढी फैलिएको छ । यसले समाजमा गहिरो धार्मिक र सांस्कृतिक टकरावको अवस्था सिर्जना गरेको छ, जसका कारण धार्मिक सहिष्णुतामा ह्रासको संकेत देखिने गरेका छन् ।
नेपालमा रहेका प्रमुख ईसाई मिशनरी संस्थाहरू जस्तै आईएनएफ नेपाल, यूएमएन, वल्र्ड भिजन र मेरी स्टोप्स क्लिनिकले स्वास्थ्य, शिक्षा र अन्य सामाजिक क्षेत्रमा ठुलो काम गरिरहेका पनि छन् । यी संस्थाहरूले गरीव र पछाडि परेका वर्गलाई शिक्षा, स्वास्थ्य सेवा र खाद्यान्न जस्ता आधारभूत सेवा उपलब्ध गराउँदै आएका छन् । जसका कारण केही हदसम्म समाजको विकासमा योगदान पु¥याएका पनि छन् । तथापि, यी संस्थाहरूको मुख्य उद्देश्य भनेको केवल सेवा प्रदान गर्नु मात्र नभइ धर्म प्रचार गर्नु पनि रहेको देखिन्छ । धर्म परिवर्तनलाई सामाजिक सेवाको नाममा प्रकट गरिन्छ, जसले गर्दा नेपालको पारम्परिक धर्मसंस्कृतिमा अवरोध पु¥याउने खतरा छ । नेपालको सन्दर्भमा, हिन्दू धर्मको प्रचलन र बौद्ध धर्मको गहिरो इतिहास रहेको छ । यी धर्महरूको सांस्कृतिक परम्परागत संरचना र समाजको बन्धन गहिरो रहेको छ। जब धर्म परिवर्तनका नाममा तिनीहरूको विश्वास र परम्परामा हस्तक्षेप हुन्छ, तब यो मात्र व्यक्तिगत धार्मिक विश्वासको परिवर्तन नभइ, सांस्कृतिक सुधारको नाममा सामाजिक अस्थिरता निम्त्याउँछ ।
नेपालमा धर्म परिवर्तनको प्रक्रिया अझ विवादास्पद बनेको छ । विशेष गरी मूलधारको हिन्दू समाज र बौद्ध समुदायका बीचमा । केही मानिसहरू धर्म परिवर्तनलाई सामाजिक न्याय र समानताको साधनका रूपमा देख्छन्, भने अरू यो प्रक्रिया सामाजिक विघटन र सांस्कृतिक आक्रमणको रूपमा बुझ्छन्। विशेष गरी दलित र जनजाति समुदायमा बढ्दो ईसाईकरणले नेपालको पारम्परिक समाजमा असहज अवस्था सिर्जना गरेको छ । धर्म परिवर्तनको नाममा भइरहेको यो अभियानले सामाजिक सञ्जाल र सांस्कृतिक मूल्यहरूको संरक्षणमा चुनौती प्रस्तुत गरेको छ ।
नेपालका पुराना धार्मिक मान्यतामा आधारित समाज र संस्कारहरू अहिले नयाँ धार्मिक प्रभावमा परेर एकजुटता र सामाजिक समृद्धिमा अवरोध उत्पन्न भएको छ। विभिन्न जातीय समुदायहरूको पारम्परिक पूजा प्रणाली, रीतिरिवाज र संस्कारमा आएको परिवर्तनले समाजको आधारभूत संरचनामा घातक असर पु¥याएको छ। यसले धार्मिक सहिष्णुता र साँस्कृतिक विविधताको आदानप्रदानमा संकट ल्याएको छ। नेपालको संविधानले प्रत्येक व्यक्तिलाई आफ्नै धर्म अनुसारको आचरण र विश्वास राख्ने अधिकार दिएको छ । धर्म परिवर्तन स्वतन्त्रता हुनु पर्छ, तर यसलाई स्वेच्छिक र समान अधिकारका आधारमा मात्र सम्पन्न गर्नु आवश्यक छ। नेपालको धर्मनिरपेक्षता त्यसैको आधारमा सुदृढ हुन्छ जब धर्म परिवर्तन प्रलोभन र दबाबको आधारमा नभइ, आफ्नै चाहनाअनुसार हुने प्रक्रिया बने ।
धार्मिक सहिष्णुता र सामाजिक संरचनाको अवधारणा केवल कानूनी प्रावधानमा मात्र सीमित छैन, यसलाई व्यवहारिक रूपमा पनि लागू गर्नु पर्छ। समाजमा विभिन्न धर्म र संस्कृतिका मानिसहरू एउटै स्थानमा बस्दै आएका छन् र यसका लागि सकारात्मक संवाद र समझदारीको आवश्यकता छ। धर्म परिवर्तनका प्रक्रियाहरूले प्रकट नगर्ने तरिकामा सामाजिक असहमति र सामूहिक विभाजन निम्त्याउनु निन्दनीय छ । धर्म परिवर्तन र धर्म निरपेक्षताको बीचको सन्तुलनलाई पहिचान गर्दै, नेपालको सामाजिक र सांस्कृतिक संरचनामा धर्म परिवर्तनको प्रभावलाई सम्हाल्नु आवश्यक छ। धर्मका आधारमा उत्पन्न हुने संघर्ष र असहमति समाधान गर्नका लागि राष्ट्रिय एकता र सामाजिक सहिष्णुताको सन्देश दिनुपर्छ। धर्म परिवर्तन स्वतन्त्रता सबैको अधिकार हो, तर यसलाई प्रलोभन, दबाब र धार्मिक आक्रमणको रूपमा देख्नु हुँदैन। धर्म निरपेक्ष राष्ट्रको साँचो अर्थ समानता र सम्मानको संरक्षणमा मात्र निहित छ, जसले सबै धर्मका अनुयायीलाई समग्रमा उन्नति र सम्मानको बाटोमा लैजान्छ । सम्बन्धित सबैलाई ‘क्रिसमस डे’को हाम्रो पनि शुभकामना ।










