तनहुँ प्रशासनद्वारा साउन ३२ सम्म निषेधाज्ञा जारी, मापदण्ड पालना नगर्नेलाई कारवाही गरिने (आदेश सहित)
भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा साउन ३२ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले जिल्लामा दशौं पटक निषेधाज्ञा लम्ब्याएउन सिफारिस गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यका तर्फाट जारी आदेशमा निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । खुला गरिएका व्यापार व्यवसाय बिहान ५ देखि दिउँसो ४ बजेसम्म र सार्वजनिक सवारी साधनलाई बिहान ६ देखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिइएको छ ।
यस्तै, परीक्षा सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउन पनि प्रशासनले आदेश दिएको छ । तनहुँमा सक्रिय संक्रमित बढिरहेको र छिमेकी जिल्लामा डेल्टा भेरियन्टको संक्रमण देखिएको भन्दै निषेधाज्ञा लम्ब्याउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।
जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णय



स्वास्थ्य र सुरक्षाका मापदण्ड पूरा गरेर रेष्टुरेन्ट तथा खाजाघर बिहान ०५ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन गर्न पाउने र स्वास्थ्य र सुरक्षाको प्रयाप्त प्रबन्ध गरेर होटलमा ५० प्रतिशत क्षमतासम्म पाहुना राख्न दिइएको छ ।
स्वास्थ्य सुरक्षाको मापदण्ड पालना नगरी आउने ग्राहकसंग व्यापार नगर्न र व्यवसायीले समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पूर्णरुपमा पालना गर्नु भनिएको छ । मास्क नलगाई आउनेलाई सेवा वा बस्तुको विक्री गरेमा त्यस्तो व्यवसायीलाई कारवाही गरिने निर्णय समेत भएको छ । निषेधाज्ञाको उल्लंघन गरेमा कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ बमोजिम कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।
तनहुँमा पछिल्लो केही दिन यता कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या ५१३ पुगेको छ । निषेधाज्ञा खुकुलो बनाउँदै लगिएसंगै नागरिकस्तरबाट बढेको लापरवाहीका कारण तनहुँमा पुनः संक्रमितको संख्या हृवात्तै बढेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रशासनद्वारा जारी निर्देशन


स्वास्थ्य कार्यालयको पछिल्लो तथ्याङ्क अनुसार तनहुँको व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र शुक्लागण्डकी नगरपालिका क्षेत्रमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको देखाइएको छ। दोश्रो लहरको कोरोना संक्रमण फैलिएसंगै संक्रमणबाट ९५ जनाको मृत्यु भइसकेको छ ।










