देवघाट महामहोत्सवमा भक्तजनको आगमन बढ्दो

दमौली : प्रसिद्ध देवघाटमा जारी ऐतिहासिक मकरस्नान तथा देवघाट महामहोत्सवमा भक्तजनको आगमन बढ्दो छ । माघे संक्रान्तिदेखि सुरु भएको महामहोत्सव माघ महिनाभर चल्नेछ। धार्मिक, सांस्कृतिक र आध्यात्मिक दृष्टिले महत्वपूर्ण मानिने यो महोत्सवको देशविदेशका श्रद्धालु भक्तजनको विशाल उपस्थितिमा नेपाल सन्त समाजका अध्यक्ष १००८ स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले उद्घाटन गर्नुभएको थियो ।
महामहोत्सवमा दैनिक भक्तजनको उपस्थिति बढ्दै गएको देवघाट क्षेत्र विकास समितिका पूर्वअध्यक्ष शिवराज पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शनिबार देशका विभिन्न ठाउँबाट भक्तजनको बाक्लो उपस्थिति रहेको थियो ।” विश्व जागरण महाअभियान ट्रष्टका संस्थापक सु–प्रसिद्ध कथावाचक ईश्वरकृष्ण महाराजको सत्संकल्पमा महामहोत्सव सञ्चालन भइरहेको छ ।
महोत्सवको प्रमुख आकर्षणमा अखण्ड हरिनाम सङ्कीर्तन, १०८ श्रीमद्भागवत पाठ, एक लाख २५ हजार श्रीफल हवन, एक लाख शीलापुजन र शिलान्यास, ११ अर्ब रामनाम लेखन र पूजन तथा ३३ कोटी दीप प्रज्वलनजस्ता धार्मिक गतिविधि रहेका छन् ।
देशविदेशका ख्यातिप्राप्त कथा वाचकले महोत्सवलाई थप विशेष बनाइरहेका छन् । विश्वकै कान्छी कथावाचिका अनुराधा पाण्डे, देवी प्रतिभा, पूज्या यशोदा माता र युवा कथावाचक ओमप्रकाश सुवेदीले प्रवचनद्वारा श्रद्धालुलाई आध्यात्मिक ज्ञान प्रदान भइरहेको आयोजकको भनाइ छ ।
भक्तजनहरूको सुविधाका लागि उत्कृष्ट व्यवस्थापन गरिएको छ । करिब १० हजार व्यक्तिको दैनिक भोजन र आवासको निःशुल्क व्यवस्था गरिएको छ भने २० हजारभन्दा बढी व्यक्तिलाई समेट्नसक्ने तीन भव्य पण्डाल निर्माण गरिएको छ । शुद्ध पानी, शौचालय, प्राथमिक उपचारका लागि स्वास्थ्यकर्मीको टोली खटाइएको छ भने वृद्धवृद्धा तथा अशक्त व्यक्तिका लागि यातायातको विशेष व्यवस्था गरिएको छ । सुरक्षाका लागि सुरक्षाकर्मी र स्वयंसेवकको टोली परिचालित गरिएको छ ।
महामहोत्सवमा सङ्कलित रकम तनहुँको देवघाटमा निर्माणाधीन मातापिता सेवा आश्रममा खर्च गरिनेछ । उक्त आश्रममा तीन सय ६५ कोठा रहनेछन् । उक्त आश्रम निर्माणका लागि हालसम्म जमिन प्राप्तिलगायतका कार्य पनि सम्पन्न भइसकेका छन् भने एक सय २० कोठाको निर्माण अन्तिम चरणमा पुगेको छ ।
वृद्धवृद्धाका लागि सुरक्षित, सुविधा सम्पन्न र धार्मिक वातावरण प्रदान गर्ने उद्देश्यका साथ आश्रम निर्माण भइरहेको छ । विश्व जागरण महाअभियान टूस्टका संस्थापक ईश्वरकृष्ण महाराजजीको सत्सङ्कल्प र नेतृत्वमा निर्माणाधीन मातापिता सेवा आश्रमले धार्मिक, सामाजिक र सांस्कृतिक दृष्टिकोणले महत्वपूर्ण योगदान दिने विश्वास गरिएको ट्रस्टले जनाएको छ ।
यो परियोजनाले वृद्ध मातापितालाई निःशुल्क आवासीय सुविधा मात्र नभई धार्मिक आस्था र शान्तिको वातावरण उपलब्ध गराउने महामहोत्सवका संकल्पकर्ता ईश्वरकृष्ण महाराजले बताउनुभयो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker