समयसापेक्ष परिवर्तन र नयाँ नेतृत्वको आवश्यकता
गल गुरुङ (दीपु)

समय निरन्तर गतिशील छ। प्रविधि, समाज, संस्कृतिसँगै मानिसको सोचाइ पनि बदलिँदै जान्छ। तर नेपालको राजनीतिमा भने परिवर्तनभन्दा निरन्तरता बढी बलियो देखिन्छ । अनुहारमा निरन्तरता, शैलीमा निरन्तरता, सत्ता–लोभमा निरन्तरता । विडम्बना त के छ भने, २०४६ सालको जनआन्दोलनदेखि सक्रिय रहँदै आएका नेताहरू अझै पनि सत्ताको केन्द्रमा छन्। प्रविधि चौथो औद्योगिक क्रान्तिसम्म अगाडि बढिसकेको छ, तर हाम्रो राजनीतिक सोच अझै पनि पुरानै ढर्रामा थिलथिलो छ।
नेपालको वर्तमान राजनीति युवा पुस्ताको आकांक्षासँग मेल खान सकिरहेको छैन। आजको पुस्ता विश्वव्यापी सोचसँग जोडिएको छ। तिनीहरू पारदर्शिता, जवाफदेहीपन र ठोस परिणाम चाहन्छन्। तर नेतृत्व भने अझै पनि गुटगत राजनीति, पद–लोभ र खोक्रा भाषणकै वरिपरि घुमिरहेको छ। परिणामस्वरूप, हजारौँ युवाहरू भविष्य नदेखेर विदेशिन बाध्य भएका छन्। शिक्षा, सीप र श्रमको असाधारण सम्भावना बोकेका तिनै युवाले आफ्नो क्षमता मातृभूमिभन्दा पर खर्चिनु परेको छ, जुन दीर्घकालीन रूपमा राष्ट्रको भविष्यका लागि गम्भीर संकट हो।
यही निराशाको परिणामस्वरूप हालै उठेको जेन्जी आन्दोलन (न्भल–श् ःयखझभलत) ले मुलुकको राजनीतिमा नयाँ बहस जन्माएको छ। सामाजिक सञ्जाल मार्फत हजारौँ युवाले भ्रष्टाचारविरुद्ध आवाज उठाउनु, परम्परागत पार्टीहरूको ढर्रालाई चुनौती दिनु र पारदर्शिता माग गर्नु—यी सबै नयाँ पुस्ताको जागरणका संकेत हुन्। यस आन्दोलनले स्पष्ट सन्देश दिएको छ—अब राजनीति पुरानै ढाँचामा चल्दैन; जवाफदेहीपन र परिणाम अब अनिवार्य हुन्छ ।
यस सन्दर्भमा पुराना पुस्ताका नेताहरूले अब दुई बाटामध्ये एउटै रोज्नुपर्ने समय आएको छ। पहिलो, आफ्नो सोच, दृष्टिकोण र कार्यशैली अद्यावधिक गर्दै नयाँ पुस्तासँग सहकार्य गर्ने। दोस्रो, अहंकार र स्वार्थमै अल्झिँदै क्रमशः अप्रासंगिक बन्दै जाने।
सहकार्यको अन्तर्राष्ट्रिय अनुभव
विश्वका अनुभवहरूले देखाउँछन्, पुस्ता–पुस्ताबीच सहकार्य सम्भव मात्र होइन, अपरिहार्य पनि हुन्छ। उदाहरणका लागि, सिंगापुरको रूपान्तरणमा पुराना नेताहरूको दूरदृष्टि र नयाँ पुस्ताको कार्यशैलीबीचको सहकार्य निर्णायक सावित भएको थियो। पुरानो पुस्ताले मार्गदर्शन गरेको थियो, नयाँ पुस्ताले कार्यान्वयन र नवप्रवर्तनमा अग्रसरता देखाएका थिए। दक्षिण कोरियाको चमत्कारी आर्थिक उन्नति पनि युवाको ऊर्जा र पुराना नेताहरूको योजना बीचको तालमेलकै परिणाम थियो।
नेपालमा पनि त्यस्तै सम्भावना छ। तर दुर्भाग्यवश, दलगत राजनीतिमा नयाँ पुस्तालाई अझै अवसर दिन हिच्किचाइरहेको देखिन्छ । “अनुभव छैन” भन्ने बहानामा युवालाई पछाडि धकेलिन्छ। तर अनुभव भनेको अवसर पाएर मात्र प्राप्त हुने कुरा हो। यदि अवसर नै दिइएन भने, अनुभव कहिल्यै जन्मिँदैन।
जवाफदेहीपनको अनिवार्यता
आजको युगमा नेतृत्व टिकाउने आधार खोक्रा भाषण होइन, ठोस परिणाम हो। दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन–ह्येलाई भ्रष्टाचार प्रकरणमा सजाय हुनु वा अन्य मुलुकमा नागरिकले कानुनी प्रक्रियामार्फत जवाफदेहीपन माग्नु– यी घटनाले नेपालको नेताहरूलाई पनि स्पष्ट सन्देश दिन्छन्। यहाँ पनि नेतृत्वको औचित्य भाषणले होइन, नतिजाले मात्र प्रमाणित हुन्छ ।
नेपालमा दशौँ वर्षसम्म सत्तामा बसेर पनि बेरोजगारी, गरिबी र असमानता घटाउन नसक्ने नेताले आफ्नो औचित्य गुमाइसकेका छन्। संविधान र कानुनको अधीनमा रहेर मात्र होइन, व्यवहारमै जवाफदेही हुने संस्कार विकास नगरेसम्म राजनीति विश्वासको केन्द्र बन्न सक्दैन।
युवापुस्ताको सम्भावना
नेपालका युवामा असाधारण सम्भावना छ। प्रविधिमा निपुण, सिर्जनशील र उद्यमशील सोच बोकेका युवाले स्टार्टअप व्यवसाय, सामाजिक अभियान र नवप्रवर्तनका प्रयासमार्फत यसको प्रमाण दिइसकेका छन्। विश्वस्तरीय प्रतियोगितामा नेपाली युवाले जितेका अवार्ड, विदेशमा स्थापित नेपाली उद्यमीको सफलता वा विभिन्न सामाजिक अभियानमा युवाको नेतृत्व– यी सबैले उनीहरूको क्षमताको गवाही दिन्छ।
तर समस्या के छ भने, राज्यले ती प्रयासलाई संस्थागत समर्थन दिन सकेको छैन। बैंकिङ सुविधा, लगानी वातावरण, अनुसन्धान र नवप्रवर्तनका लागि नीतिगत प्रोत्साहन अभावमै छन्। नीतिनिर्माण तहमा युवा प्रतिनिधित्व नगरेसम्म यी प्रयासहरू टुक्राटुक्रा रूपमा सीमित रहन्छन्। यदि अवसर प्रदान गरियो भने यिनै युवाले राजनीति र समाजलाई नयाँ दिशामा अघि बढाउन सक्छन्।
पुराना नेताहरूको भूमिका
नेपालको पुरानो पुस्ता नेताको योगदान अस्वीकार गर्न सकिँदैन। उनीहरूले आन्दोलन, लोकतन्त्र र परिवर्तनका संघर्षमा भूमिका खेलेका छन्। तर आजको सन्दर्भ फरक छ। जसरी सैनिकहरूले युद्ध जितेपछि बन्दुक बिसाएर नयाँ पुस्तालाई शान्ति र विकासको बाटो देखाउनुपर्छ, त्यस्तै राजनीतिक नेताले पनि अब मार्गदर्शकको भूमिकामा रूपान्तरण हुनुपर्छ। पुराना नेताहरूले अनुभवलाई मार्गदर्शनमा रूपान्तरण गर्दै नयाँ पुस्तालाई अवसर दिन सके भने सहकार्य सम्भव हुन्छ। तर यदि उनीहरू अझै पद र शक्तिमै अल्झिए भने, इतिहास आफैंले नयाँ नेतृत्व जन्माउनेछ।
निष्कर्ष
नेपाललाई आज आवश्यक छ– अनुभव र ऊर्जा, दूरदृष्टि र नवीन सोच, मार्गदर्शन र कार्यान्वयनबीचको सहकार्य। यही सहकार्यमार्फत मात्र समृद्ध नेपाल निर्माण सम्भव हुन्छ। प्रश्न स्पष्ट छ– के पुराना नेताहरूले समयको माग बुझ्नेछन्? के उनीहरूले अहंकार त्यागेर युवालाई अवसर दिनेछन्? यदि हो भने, नेपाल समृद्ध भविष्यतर्फ अघि बढ्नेछ। तर यदि अस्वीकार गरिरह्यो भने, इतिहासले नयाँ नेतृत्व जन्माउनेछ, जसलाई रोकिने कुनै शक्ति छैन। नेपाललाई अब आवश्यक छ– परिणाममुखी राजनीति, पारदर्शी शासन र पुस्ताबीच सहकार्य। यही मार्गले मात्र “समृद्ध नेपाल, सुखी नेपाली” को लक्ष्य हासिल गर्न सकिन्छ ।










