ढोरबराही, पर्यटन र पुरातात्विक महत्व

के.बि. मसाल

नेपालमा तीर्थाटनका पर्यटकहरु धार्मिक मठ मन्दिरहरु को खोजीमा हुन्छन । तर, मृगले कस्तूरीको वासना आफ्नै शरिरमा हुने कुरा थाहा नपाएझै अधिकाशं नेपालीहरुले आफ्नो भूमीमा रहेका पवित्र धार्मिक स्थलका बारेमा जानकारी लिन नसकि तीर्थाटनकै लागि छिमेकी मुलुकमा पुग्दछन । नेपालमा भएका धार्मीक मठ मन्दिरहरुमा पर्यटनको लागि आवस्यक पर्ने पुर्वाधार र प्रचार प्रसारको खाचो छ। भरपर्दो सडक यातायात र खाना बस्नको लागि सुबिधा जनक होटल/जल र होमस्टेको सुबिधा हुने हो भने पर्यटकहरु ग्रामीण क्षेत्रमा पनि पुग्दछन ।
तनहुँ जिल्लामा प्रसिद्ध तीन ठाउँमा बराहीको मन्दिर छन् । छाब्दी बराही, आधीमुल बराह र ढोरबराही । शुक्लागण्डकी नगरपालिका-९ स्थित ढोरबराही मन्दिर पर्दछ । प्रसिद्ध ढोरबराही मन्दिर तीर्थाटन पर्यटकियस्थल हो । ढोरबराहीमा रहस्यमय पानीको लहरी हेर्न र बराहीको तीर्थाटन गर्न दैनिक सयौंको सख्यामा तीर्थाटनका पर्यटकहरु पुग्दछन ।
हिन्दू धर्मका अनुसार बराहको कथा प्रशंग हिरण्याक्ष र हिरण्यकश्यपुसंग जोडिएको छ । बराह देवता सबै हिन्दुहरुको तीर्थाटनको मन्दिर भए पनि बिशेष गरी बराह देवता मगरजातीको कुल देवताको रुपमा मानिन्छ । त्यसैले धेरै बराहको मन्दिरहरुमा पुजारी पनि मगरजातीका मानिस हुने गर्दछन । तर, ढोरबराही मन्दिरमा भने लम्साल थरका बाहृमण जातीका पुजारी छन । ढोरबराही मन्दिरको पुरानो इतिहास खोज्ने हो भने यहा पनि पहिला मगरजातीहरु नै पुजारी थिए । तर ढोरबराही क्षेत्रमा मगरजातीको घनाबस्ती भएको र प्राय जुठो सुतक भै रहने हुदा पछि कास्कीको लाचौक गाउँबाट लम्साल थरका बाहृमणलाई ल्याएर पुजारी गराएको पाइन्छ ।
हिन्दुहरुको धार्मीक शास्त्र अनुसार भगवान विष्णुले मानव कल्याण र धर्म रक्षाको लागि दशावतार लिएको मान्यता रहेको छ । मत्स्य अवतार भगवान विष्णुको प्रथम अवतार हो । कुर्म अवतार भगवान विष्णुको दोस्रो अवतार हो । वराह अवतार भगवान विष्णुको तेस्रो अवतार हो । नृसिंह अवतार भगवान विष्णुको चौथो अवतार हो । त्यसै गरी बिष्णुले वामन अवतार, परशुराम अवतार, राम अवतार, बलराम अवतार, कृष्ण अवतार, बुद्ध अवतार, कल्कि अवतार लिएको मानिन्छ । ढोरबराहीको उत्पत्ति कहिले भयो र लहरी कहिलेदेखि छुटेको हो भन्ने यकिन जानकारी छैन । तर पनि ढोरवाराहीको उत्पत्ति श्रीपञ्चमीका दिनमा भएको मानिन्छ जुन दिन यहाँ विशेष मेला लाग्दछ । मन्दिरमा नेपाल सम्वत ९११ साल अर्थात मध्यकालिन समयमा चढाइएको एउटा घण्टा भने अहिले पनि सुरक्षित छ । जुन कारणले ढोरबराही ऐतिहासिक पुरातात्विक महत्वको सम्पदा मानिन्छ । ऐतिहासिक पुरातात्विक महत्वका सम्पदा अहिले आएर पर्यटकियस्थल बन्दै गएका छन ।
ढोरबराही मन्दिरमा पहाड भित्रबाट पहरो छिचोल्दै प्रत्येक एक घण्टाको समयावधिमा दुइदेखि तीन पटक पानीको बहाव आउने गर्दछ । यसरी निस्कने पानीले जलकुण्ड भरिने र तल्लो भागमा मनोरम झरना बन्ने अचम्मको लहरी हेर्न पर्यटक ढोरबराही पुग्ने गर्दछन । मन्दिर परिसरमै त्यस्तो अनौठो प्राकृतिक दृश्यले तीर्थाटनका पर्यटकहरु आर्श्चर्य मान्दछन । कतिपयले यसलाई दैबिक शक्ति मान्दछन भने भूगर्भका बिषयमा चासो राख्ने पर्यटकहरुले पहाड भित्र कुनै ताल अथवा पानीको कुण्ड हुनु पर्दछ भन्ने अनुमान समेत लगाउछन । यसको खोज अनुसन्धान भने अहिले सम्म हुन सकेको छैन । ढोरवाराही मन्दिर अत्यन्तै मनोरम जंगलको बिचमा रहेको छ । मन्दिर सम्म पुग्नका लागि सडक निर्माण भएको छ । मन्दिरको छेउमा पोखरी पनि छ । जहाँ बिभिन्न प्रजातीका माछाहरु तीर्थाटनका पर्यटकहरुले देख्न सक्दछन । पोखरीमा पानीको लहरी निस्कने ठाउमा रजबाम पनि बस्दछ । पानी लहरी छुटने बेलामा मात्रै रजबाम बाहिर निस्कन्छ ।
प्यागोडा शैलीको ढोरवाराही मन्दिरमा पशुबलि पनि दिने प्रथा छ । तर रामनवमी औंसी र एकादशीको दिनमा भने बलि दिइँदैन । ढोरवाराहीमा परेवा उडाउने, पाठापाठी तथा राँगाको बलि दिइन्छ । तर कुखुराको बलि भने दिने प्रचलन छैन । मन्दिरमा पछिल्लो समय नरिवल चढाउने प्रचलन बढेको छ ।
ढोरबराही देवीको भाकल गरी बलि चढाएर लहरीबाट निस्केको जलकुण्डको पानीमा स्नान गर्दा बोली रोकिएका बालबालिकाको बोली फुटने, सन्तान प्राप्त हुने लगायत आफूले चिताएको पुग्ने धार्मिक विश्वास रहँदै आएको छ । स्कन्दपुराणको हिमवत्खण्डमा समेत वर्णन गरिएको ढोरवाराही मन्दिरमा देवीको चतुर्बाहु मूर्ति रहेको छ । ०४२ सालदेखि ०४६ सालसम्म ढोरबराहीमा लहरी आउन रोकिएको थियो । ०४६ सालदेखि पुनः सुरु भयो तर २०६६ श्रावणमा पुनः रोकियो । ०७२ सालको भुकम्पले गर्दा एकदिन मात्रै लहरी रोकिए पनि पुनः लहरी चल्दै आएको छ । हिउँदमा केही समय माता ढोरवाराही माइत जाने हुँदा लहरी छुटदैन । कुण्डबाट बगेको खोलालाई निर्मल खोला भनिन्छ । निर्मल खोलाले ढोरफिर्दीका फाँटहरुलाई सिचाइ गरेको छ ।
ढोरबराहीको तीर्थाटन गरेपछि घुमफिरको समय लम्बाउन चाहने पर्यटकहरुको लागि हाइकिङ अर्थात पदयात्रा पनि गर्न सकिन्छ । अहिले तनहुँको दुलेगौडाबाट स्याङजाको रामबाछा जोडिने पदमार्गमा पर्यटकहरु पदयात्रा गर्दछन । यो पदमार्गलाई मिलेनियम पदमार्ग भनिन्छ । पदयात्रामा रमाउन खोज्ने पर्यटकहरुले ढोरबराहीबाट पनि यो पदमार्गमा जोडिन सक्दछन । आजभोली शहरी क्षेत्रमा बसोवास गर्ने मानिसहरुले पर्यटन भन्ने बित्तिकै एडभेञ्चर, फन, हेल्थ, होलिडे, गेटटुगेदर अनि फेलोसिपका शब्दहरु निकाल्छन । युवा पुस्ताको चासोको यी अंग्रेजी शब्दहरुलाई एउटै शब्दमा हाइकिङ भनिन्छ । पर्यटनको भाषामा डाँडाकाँडामा हाइकिङ अर्थात पदयात्रा गर्ने भन्ने अर्थ लाग्दछ । शहर बजारको व्यस्त जीवन शैलीको तनावबाट ‘रिफ्रेस’ हुन चाहने पर्यटकहरुलाई मिलेनियम पदमार्गमा हाइकिङ अर्थात पैदल यात्रा गन सक्दछन ।
हाइकिङमा नयाँ ठाँउको अध्ययन साथै वनस्पति, जीवजन्तु र ग्रामीण क्षेत्रका मानिसको जीवनशैलीबारे धेरै कुरा पर्यटकहरुले जानकारी लिन सक्दछन। विशेष गरी दुलेगौँडादेखि रामबाछासम्म पदयात्रामा उकालो-ओरालो ट्रेलमा हाइकिङ गर्दा स्वास्थ्यको लागि पनि राम्रो मानिन्छ । नेपालीमा घुम्ने संस्कृति हृवात्तै बढेको छ । त्यसमा पनि पदयात्रा गर्नेको संख्या उल्लेख्य छ । विशेषगरी नेपाली युवामा घुम्ने क्रेज बढदो छ । सपरिवार पनि घुम्न निस्कने चलन बढिरहेको छ । फुर्सदको समयलाई सदुपयोग गर्दै स्वास्थ्यका लागि पदयात्रा गर्ने पर्यटकहरुको सख्या पनि बढदै गएको छ । स्वास्थ्य र मनोरञ्जन दुवै हिसाबले फाइदा पुग्ने भएकाले पछिल्लो समय पर्यटकहरुमा पदयात्रा लोकप्रिय हुदै गएको छ । पदयात्रामा संस्कृति, पुरातात्विक महत्वका धार्मीक मठ मन्दिर, गुम्बा र स्थानीय रहनसहनको पनि अध्यन हुन्छ । यात्रामा भेटिने हरियाली जंगल, विभिन्न प्रजातिका चराचुरुंगी, ग्रामीण क्षेत्रको अनुभव लिन सकिन्छ । पदयात्रा आफैंमा रोमाञ्चक र आनन्ददायक हुने गर्दछ । पदमार्गमा अधिकांश स्थानबाट धौलागिरिदेखि अन्नपूर्ण हिमालसम्मका दृश्य एकसाथ अवलोकन गर्न सकिन्छ ।
तनहुँको दुलेगौडाबाट स्याङजाको रामबाछा जोडिने पदमार्ग समुद्री सतहबाट ४२० मिटरदेखि एक हजार ७१५ मिटर उचाइसम्ममा पर्दछ । पदयात्रामा रमाउन खोज्ने तर उच्च पहाडी भूगोलमा जान नसक्ने पर्यटकहरुका लागि दुलेगौँडादेखि रामबाछासम्मको पदमार्ग राम्रो मानिन्छ । यो पदमार्गको लम्बाई ७२ किलोमिटर पर्दछ । मिलेनियम पदमार्गमा यात्रा गर्दा बिभिन्न जातीहरुको संस्कृति, रीतिरिवाज, परम्परा, रहनसहन र जीवनशैलीको अध्ययन हुन्छ । अर्को तर्फ पदमार्गमा पर्ने ऐतिहासिक पुरातात्विक एवं धार्मिक स्थलहरुको अध्ययन अनुसन्धान गर्न सकिन्छ । नयाँ ठाउँमा जाँदा, नयाँ विषय सिक्दा, नयाँ अनुभूति हुँदा पर्यटकहरु उत्साहित र खुशी हुन्छन । पर्यटकहरुलाई प्राकृतिक सौन्दर्य नियाल्दै यात्रा गर्न निकै रमाइलो र आनन्द महसुस हुन्छ । पदयात्रामा कोही पर्यटकहरु खुशी हुदै साथको क्यामेराले वरपरका दृष्य क्यामरामा कैद गर्दछन भने कोही आनन्दित हुदै रमाउछन् ।
दुलेगौँडाबाट गाछेपानीस्थित रक गार्डेन, च्यवनधामको दर्शन गर्दै ढोरबाराही मन्दिर हुदै सुरुहुने पदयात्रा मार्गमा ऐतिहासिक ढोर मूलकोट दरबार, रजस्थल, घरेडी, मिलेनियम गुफा, काल्खु, राइपुर, कोल्मा हुँदै भैँसेगौँडा पुग्न सकिन्छ भने, भैँसेगौँडाबाट चन्द्रकोट, गैरीस्वाँहारा, बानेथोक, भञ्ज्याङ, देउपुजे ढुङ्गा, सिङ्गारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी हुँदै स्याङजाको रामबाछा पुग्न सकिन्छ । पदयात्रामा उत्तरतर्फ देखिने लस्करै हिमाल, तलतिर सुरौदी खोला, वरपरको हरियाली पहाड हुँदै पारितर्फ भरत पोखरीको ऐतिहासिक मल्लकालीन कोटभैरव मन्दिर, हुडिकोट, बरपाण्डेथुम निर्मल पोखरी, कृष्ति आदिका मनोरम भूभागले पर्यटकहरुको मन लोभ्याउने गर्दछ । प्राकृतिक सुन्दरतासँगै पदमार्गमा विभिन्न गाउँमा भएका प्राचीन मौलिक संस्कृतिले पनि पर्यटकहरुलाई थप आकर्षण गराउछ । पदयात्रामा करिव तीन सय वर्ष पुरानो ढोर मूलकोट दरबारसहित गढी, शक्तिपीठ, देउती बज्यैको थान, टक्सार घरलगायत क्षेत्रको पनि पर्यटकहरुले अवलोकन गर्न सक्दछन ।
पदयात्रा मार्गकै चन्द्रकोटस्थित सतौं राजाको समरप्यालेस पदमार्गमा पर्ने अर्को महत्वपूर्ण आकर्षण हो । चन्द्रकोट दरबार बाइसे चौबिसे राजाको पालाका सतौँ राजाको हिउँदे दरबार थियो । भिरकोट कालिका र ऐतिहासिक किल्ला, मिलेनियम गुफा, राइपुरस्थित जन्तेढुङ्गा, गहते मनकामना, देउपुजे ढुङ्गादेखि एक हजार सात सय नौ मिटर उचाइको ऐतिहासिक स्थल बुढाकोटलगायत स्थानमा समेत पर्यटकहरु पुग्न सक्दछन । नेपाली समाजमा विशेष गरी विवाहमा बजाइने नौमती बाजाका आकृति कुदिएका ढुङ्गालाई स्थानीयले बाजाका नमूनाका रुपमा लिने गरेका छन । नेपाली समाजमा परम्परागत नौवटा बाजाको सामूहिक बाजालाई नौमती बाजा भनिन्छ । जन्ते ढुङ्गा पुग्ने पर्यटकले छरपस्ट छरिएका ढुङ्गामा विवाहका क्रममा बजाइने तिनै दमाहा, झयाली, टयाम्को, ढोलक, सनही, कर्नाल, नरसिङ्गा बाजाको आकारका ढुङ्गा देख्न सक्दछन । राइपुर गाउँबाट करीब १० मिनेटको पदयात्रामा जन्ते ढुङ्गा पुग्न सकिन्छ । बाजाका आकृति कुँदिएका ढुङ्गामा बाजामा जस्तै विभिन्न आवाज आउने गर्दछ ।
पदयात्रा गर्ने पर्यटकहरुलाई सुबिधा दिनको लागि सहश्राव्दी पदमार्ग अर्थात मिलेनियम पदमार्गमा चारवटा रिसोर्ट बन्न लागेका छन् भने १३ वटा स्थानमा घरवास कार्यक्रम सञ्चालन भएको छ । तनहुँको दुलेगौडाबाट स्याङजाको रामबाछा सम्म पदयात्रा गर्दा बिभिन्न गाउँमा घरवासमा पर्यटकहरुले खाना बस्न सक्दछन । पदमार्गमा भैँसेगौँडा सिंगारकोट, बुढाकोट, राम्चे, गहते मनकामना, सुन्तलाबारी लगायतका गाउँहरुमा घरवास सञ्चालनमा आएका छन । त्यस्तै गरी सादीखोला, राइपुर,चन्द्रकोट र डाँडागाउँमा पनि घरवास सञ्चालनमा छ । अहिले घरबास सुविधा भएका गाउँ पदयात्रामा जादा सस्तोमात्र होइन, रमाइलो पनि हुन्छ । घरबास अर्थात होमस्टे सांस्कृतिक संगठनका रुपमा प्रचलित अंग्रेजी शब्द हो । जसले यात्राको क्रममा ‘ग्रामीण भेगका घरमा बास बस्ने’ भन्ने अर्थ दिन्छ । यसले ग्रामीण क्षेत्रमा जाने पर्यटकहरुका लागि स्थानीय खाना परिकार, रहन सहनसहित घरघरमा खाने, बस्ने व्यवस्था हुन्छ ।
मिलेनियम पदमार्गमा यात्रा गर्ने पर्यटकहरु मगरजातीले सञ्चालन गरेका घरबासमा बस्दा एकैछिन त अचम्म मान्दछन । कारण हो घरबासमा पर्यटकहरुलाई स्वागत गर्न बसेका मानिसहरुको पोशाक। मगरजातीको गाउँमा सन्चालनमा आएको घरबासमा मखमलको चोली, छिटको गुन्यूँ, पटुकी, घलेक, टिकिस, पछयौरी, खुर्पेटोसहितको परम्परागत पोसाकमा चिटिक्क सजिएर पर्यटकहरुको स्वागत गर्न लस्करै उभिन्छन् मगर समुदायका युवती । उनीहरुलाई साथ दिन्छन् भोटो, स्टकोट, कछाड, पेटी, भाग्रा टोपी र खुर्पेटोमा सजिएका पुरुषहरुले । विभिन्न गाउँठाउमा आधुनिकताको नाममा परम्परागत संस्कार र संस्कृति हराइरहेका अवस्थामा मिलेनियम पदमार्गमा मगर समुदाय भने आफ्नो संस्कार र संस्कृति जोगाउँदै त्यसैबाट गाउँमा पर्यटकलाई आकर्षित गर्ने गर्दछन ।
पदयात्रा आफैँमा रोमाञ्चक र आनन्ददायक हुने गर्दछ । तर भनेको ठाउमा बासबस्ने ठाउँ पाइदैन अथवा पुग्न सकिन्न । त्यसको लागि आफुलाई पदयात्रा गर्दा आवस्यक पर्ने ट्रेकिङ झोला, न्यानो लुगा, आरामदायी जुत्ता, हलुका खानेकुरा, पानी, औषधि लगायत सामग्रीको जोहो गर्दा राम्रो हुन्छ । पदयात्रामा जाँदा शारीरिक र मानसिक स्फूर्ति पनि चाहिन्छ, यात्रामा आइपर्ने सबै परिस्थिति सामना गर्न तयार भएर हिँड्नु पर्दछ । पत्रयात्रा गर्न नसक्ने तर पनि पहाडी भूगोलको अवलोकन गर्न चाहने पर्यटकहरुका लागि ढोरबराही देखि राइपुर हुँदै कोल्मा हरिजास भएर स्याङजाको चापाकोट र चिसापानी हुदै चित्रेभन्ज्याङ मोटर मार्गबाट यात्रा गर्न सकिन्छ ।

कसरी पुग्ने ?

पृथ्वी राजमार्ग खण्डको तनहुँ जिल्लाको गाछेपानीबाट पश्चिम सेती नदी पार गरेर पाँच किलोमिटर कच्ची मोटर बाटोको दूरी पार गरेपछि ढोरबराही लहरी स्थल पुगिन्छ । पोखरादेखि एक घण्टा पन्ध्र मिनेटको अवधिमा ढोरवाराही मन्दिर पुग्न सकिन्छ । पृथ्वीराजमार्ग खण्डको तनहुँस्थित दुलेगौंडाबाट मन्दिरसम्म जाने जिपहरु पाइन्छ । त्यहाँबाट सेती नदी पार गर्दै ५ कि.मि को दूरीमा मन्दिर पुग्न सकिन्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker