दसैंमा घुमफिर गर्ने योजना बनेको छ ?
के.बि. मसाल

दसैं अर्थात विजया दशमी नजिकिँदै छ। विजया दसैको वरपर पारेर घुमफिरमा निस्कने धेरै नेपालीहरुको संस्कार बसेको छ । नेपालीहरुमा बढदै गएको घुमफिरप्रतिको मोहले आन्तरिक पर्यटनलाई समेत सघाउन थालेको छ । नेपालमा घुमफिर गर्ने धेरै स्थल रहेका छन् । धेरैको रोजाइका गन्तब्यहरु स्वर्गद्वारी, सपादेउराली, तानसेन, लुम्बिनी, पर्वत–बाग्लुङका लामा र अग्ला पुल, म्याग्दीको तातोपानी, पोखरा, मुक्तिनाथ जोमसोम, डोल्पा, रारा, खप्तड, सौराहा, चित्लाङ, नगरकोट, धुलिखेल, इलाम, भेडेटार, आदि स्थलहरु पर्दछन् । तपाई दसैमा कहाँ जान रुचाउनु हुन्छ ? घुमफिरको लागि उद्देश्य सहितको गन्तब्य भयो भने उपलब्धी धेरै हुन्छ ।

घुमफिरको लागि नयाँ सोचसँगै नयाँ योजना बनाउने मन कसलाई हुदैन र ? घुमफिर गर्नको लागि योजना बनाउनु भन्दा पहिले घुमफिर गर्न सक्ने समय र आर्थीक कुरामा पनि बिचार पु¥याउनु पर्दछ । यदि तपाईंसँग घुमफिरको लागि लामो समय र आर्थीक जोहो गर्न सक्नुहुन्छ भने राराताल, जोमसोम र पाथीभरा जस्ता ठाउमा जान सक्नुहुन्छ । अन्यथा घुमफिरको लागि आफ्नै प्रदेश वरपरका रमणिय पर्यटकियस्थलको समेत गन्तब्य बनाउन सक्नुहुन्छ । दसैको घुमघामलाई दसैकै माहोलसँग जोडने हो भने शक्तिपीठ धेरैको गन्तब्य बन्न सक्दछ । नवरात्रिभर हरेक शक्तिपीठमा तीर्थाटनका पर्यटकहरुको भिडभाड हुने गर्दछ । सपरिवार सकेसम्म धेरै शक्तिपीठमा पुगेर पूजाआजा गर्न सकियो भने त्यो भन्दा अर्थपूर्ण दसै के होला र? दसैको समयमा गोरखाको मनकामना, गैडाकोटको मौलाकालिका, डोटीको शैलेश्वरी, डडेलधुराको त्रिपुरासुन्दरी, सल्यानको खैरावाङ, बाग्लुङ कालिका, काभ्रेको पलान्चोक भगवती, दक्षिणकाली जस्ता शक्तिपिठको यात्रामा निस्कन सकिन्छ । यो बाहेक हरेक जिल्लामा नवरात्रामा विशेष पूजा हुने भगवतीका मठ–मन्दिर रहेका छन् । दसैमा घर नजिकैको भगवती मन्दिर घुमघाम गरेर पनि दसै बिदालाई उपयोग गर्न सकिन्छ ।
मुक्तिनाथ

प्रकृति प्रेमीहरुका लागि मुस्ताङको जोमसोम र त्यस वरिपरिको क्षेत्र विश्वमा नै प्रसिद्ध छ, भने धार्मिक पर्यटकका लागि मुक्तिनाथ चर्चित छ । केही वर्ष पहिलेसम्म विदेशी पर्यटकको मात्र रोजाइमा पर्ने जोमसोम–मुक्तिनाथ अहिले नेपालीहरुको रोजाइमा पनि पर्न थालेको छ। यसको प्रमुख कारण पोखराबाट जोमसोम–मुक्तिनाथका लागि यातायात उपलब्ध हुनु हो । एकल यात्राका लागि जोमसोम–मुक्तिनाथ केही महँगो भएपनि विभिन्न ट्राभल कम्पनीहरुले दसै बिदाको लागि जारी गरेको प्याकेज निकै सस्तो पर्दछ । मुक्तिनाथ पुगेपछि लोमान्थाङ पुग्नसके घुमघामले सार्थकता अझ पाउछ । लोमान्थाङमा विशेष गरी विदेशीहरु घुम्न पुग्ने गर्छन । तर नेपालीहरु पनि मुक्तिनाथको दर्शन गरेपछि लोमान्थाङ पुग्दछन् । मुस्ताड तल्लो र माथिल्लो मुस्ताङ गरी दुई तहमा विभाजित छ । माथिल्लो मुस्ताङमा सडकको पहुच पुगेपछि अहिले आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । मुक्तिनाथदेखि लोमान्थाङ जानलाई पैदल यात्रामा तीन दिनमा र जोमसोमदेखि जिपमा जाने हो भने एकै दिनमा पुग्न सकिन्छ । खान र बासका लागि केही महङ्गो भएपनि सुविधा सम्पन्न होटलहरु भेटन सकिन्छ ।
स्वर्गद्वारी

स्वर्गद्वारी धार्मिक हिसाबले जति महत्व रहेको छ, प्राकृतिक सुन्दरता पनि त्यति नै भरिपूर्ण छ । स्वर्गद्वारी घोराही होल्लेरी हुँदै जाँदा ५९ किलो मिटर पर्दछ भने प्युठान जिल्लाको भिग्रीदेखि १४ किलो मिटर पर्दछ। स्वर्गद्वारीबाट आठ हजार मिटर भन्दा अग्ला तीनवटा हिमाल र अन्य दर्जनौं हिमश्रृंखला हेर्न पाइन्छ । स्वर्गद्वारीको पसिरबाट धौलागिरि, नीलगिरि, माछापुच्छ«े्र, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ । तर पनि प्राकृतिक सौन्दर्यले भन्दा धार्मिक कारणले स्वर्गद्वारी चर्चित छ । पाण्डवहरु स्वर्ग जाँदा यहाँको बाटो भएर गएको हुनाले स्वर्गद्वारी नाम रहेको जनविश्वास रहेको छ । झट्ट हेर्दा नौवटा मन्दिर जस्तो देखिने स्वर्गद्वारीको मन्दिरमा यज्ञशाला भित्र पाञ्चायन देवदेवी, गणेश, सूर्य, विष्णु र शिवका मूर्तिहरु छन् । चार दिशाका कोठामा अग्निकुण्ड र बीचको यज्ञशालामा होमन कार्य हुन्छ । स्वर्गद्वारीमा वटुकले पूजा, वेदपाठ, भागवत पाठ, हवन, रुद्राभिषेक गर्छन ।
स्वर्गद्वारीमा गाईको महत्व बढी मानिन्छ। महाप्रभूका पालामा स्वर्गद्वारीमा हजारौ गाईहरु थिए । महाप्रभू स्वयमले पनि गाईको सेवा गरेको इतिहास छ । स्वर्गद्वारीमा गुरुकुल विद्यालय छ । गुरुकुल विद्यालयमा वेद, रुद्री, चण्डी र व्याकरण पढाइन्छ । रोल्पा जिल्लाको रुम्टी गाउँमा वि.सं. १९१६ मा जन्मनु भएका १०८ महाप्रमु बाल तपस्वी महाप्रभू १९५१ मा स्वर्गद्वारीमा आएपछि वेदका मन्त्रद्वारा अग्नि प्रज्योलित गरी १९५२ बैसाख पूर्णिमा देखि अखण्ड महायज्ञ सुरु गर्नु भएको हो । जुन विश्व शान्तिको लागि सन्चालीत हवनकुण्ड बेदको मन्त्रद्वारा अग्नि स्थापना गरी दीप प्रज्जवलित भएको हो । हवनकुण्डमा हालसम्म निरन्तर अग्नि जलिरहेको छ ।
पोखरा

फुर्सदमा घुमघाम गर्नेहरुको सुचीमा पोखरा अग्रपंक्तीमा आउँछ । झनै चाड पर्वको फुर्सदमा परिवार तथा साथीहरुसँग घुमफिरका लागि धेरैको रोजाइ पोखरा नै हुन्छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण पोखरा पुगेपछि दिनहरु वितेको पत्तै पाउन सकिदैन । एकपछि अर्को आकर्षक स्थलहरु घुम्दा घुम्दै दिन वित्छ । प्राकृतिक तथा सांस्कृतिक सम्पदा, मौसमको अनुकूलता, आथित्य सत्कार यहाँको पहिचान हो । पोखराको नाइट लाइफ उस्तै आकर्षक हुन्छ । लाइभ म्युजिक, डिस्को डान्स, गजल–दोहोरीले पनि पर्यटकलाई भुलाउने गर्छ । तालहरुमा रमाउन मात्र नभइ सराङकोटसम्म केवुलकारको यात्रा झनै रमाइलो हुन्छ । पोखरामा साहसिक खेलकुद प्याराग्लाइडिङ, जिप फ्लायर, अल्ट्रालाइटले बसाइ लम्ब्याउन सकिन्छ । बासका लागि लेकसाइट, बसपार्क आसपास सस्तो सुविधा सम्पन्न होटलहरु छन । थकाली खाना पोखराको आकर्षण हो भने विहानीको समयमा विन्ध्यबासिनी र तालबाराहीको दर्शनले मन शुद्धि गराउँछ। हिमाली दृश्यको प्रतिछाँयामा लमतन्न सुतेको फेवाताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट जस्ता थुप्रै स्थलहरुले जो कोहीको मन सजिलै लोभ्याउछ । धौलागिरि, अन्नपूर्ण र मनास्लु श्रृंखला लगायत ८ हजार मिटर भन्दा अग्ला हिमालहरु पोखराबाट देख्न सकिन्छ । फेवाताल पोखराको मुख्य आकर्षण हो । फेवातालमा माछापुच्छ«े हिमालको प्रतिविम्व देखिन्छ । मौसम खुलेको बेला यो दृश्यले साँच्चैनै पर्यटकको मन लोभ्याउँछ ।
पोखरा घुमघाम गरेपछि पुग्नै पर्ने अर्को स्थान हो सिरुवारी । स्याङजाको पञ्चमुलमा पर्ने सिरुबारी होमस्टेका रुपमा प्रख्यात छ। गुरुङ जातीहरुको संस्कृति भएको गाउँले परिवेशको सिरुबारीमा आन्तरिक पर्यटकहरुबो भिड लागि रहन्छ । सिरुबार पुग्ने पर्यटकहरुलाई बुढापाकाले छोरा–नाती जस्तै माया र सत्कार गर्छन । सिरुबारमा पाहुना सत्कार गर्ने राम्रो शैली छ । हिँडेर आउनेलाई गाउँको मुखैमा र बसमा आउनेलाई बसपार्कमा उनीहरु स्वागत गर्छन । पञ्चै बाजा बजाउँदै गुरुङ पहिरनमा सजिएका महिला र पुरुषले फूलमाला लगाइदिन्छन । पाहुनालाई सुरुमा गाउँको गुम्बा पु¥याउँछन । त्यसपछि खान खुवाउने र नाचगानमा रमाउन पाइन्छ । सिरुबारी पोखराबाट सोझै गाडी पाइन्छ । पहाडी श्रृंखलाको नागवेली डाडाकाडाको ६४ किलोटिर यात्रामा सिरुबारी पुगेको थाहानै हुदैन ।
लुम्बिनी

गौतम बुद्धको जन्मभूमि लुम्बिनी आन्तरिक पर्यटकका लागि रोजाइको गन्तव्य हो । बुटवल–भैरहवा हुँदै लुम्बिनी पुग्न सकिन्छ। गौतम बुद्धको जन्मस्थलका साथै विभिन्न शैलीमा निर्माण भएका चैत्य तथा गुम्बाहरु लुम्बिनीका विशेषता हुन् । दसैको बिदाको समय अर्थात फुर्सदमा लुम्बिनीको घुमघाम किन नगर्ने ? खासगरी बौद्ध धर्मावलम्बीहरुको महान् तीर्थस्थल लुम्बिनीमा पर्यटकहरुको मन लोभ्याउने थुप्रै कुरा छन् । लुम्बिनीमा तेस्रो मुलुकका पर्यटक मध्ये जापान, श्रीलंका, थाइल्यान्ड, म्यामार, चीनका पर्यटकहरु लुम्बिनीमा पुग्ने गर्दछन । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनीमा आउने विदेशी पर्यटकको संख्यामा पछिल्ला वर्षमा क्रमशः वृद्धि हुँदै गएको छ । गौतम बुद्धको जन्म इ.पू. ६२३ मा भएको थियो । बुद्धको समयमा लुम्बिनीमा मानव बसोबास सुरु भई मौर्यकालमा विकास भएको थियो ।
त्यसपछि भने लुम्बिनी लगभग ६ सय वर्षसम्म जंगलमा परिणत भएको पाइन्छ । लुम्बिनीको प्रमुख पुरातात्विक आधारहरु भनेका अशोक स्तम्भ शिलालेख, पुष्करिणी अर्थात पोखरी, बुद्ध जन्मेको संकेत ढुङ्गा, बुद्ध जन्मेको मूर्ति, मायादेवी मन्दिर, विभिन्न स्तूपाहरु, तेलार नदी तथा लुम्बिनी गाउँको भग्नावशेषहरु नै हुन् । यो स्थान नेपालको मात्र नभएर विश्वकै धरोहर भएको छ । अहिले लुम्बिनीमा श्रीलंका बौद्ध स्तुपा, जापानीज बौद्ध स्तुपा, दक्षिण कोरिया बौद्ध स्तुपा, थाईल्याण्ड बौद्ध स्तुपा, म्यान्मार बौद्ध स्तुपा, शान्तिदीप र मायादेवीको मन्दिर निर्माण गरिएको छ । पर्यटकहरुले लुम्विनीमा पुगेपछि विभिन्न देशका प्रतिनिधित्व गर्ने गुम्बाहरुको अवलोकन गर्न सकिन्छ ।
रारा

दसैको बेला तनाव, धपेडी भुलेर उन्मुक्त रमाउन चाहनेहरु किन रारा नपुग्ने ? दसैको फुर्सदमा राराको यात्रा स्मरणीय हुन सक्छ । बदलिइ रहने पृष्ठभूमिमा गाढा निलो पानीले भरिएको रारा ताल हेर्दा साँच्चैको स्वर्ग पुगेको आभास मिल्छ । रारा ताल १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । रारा तालको अधिकतम लम्बाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर रहेको छ भने राराको गहिराई १६७ मिटर रहेको छ। रारा ताल स्वच्छ पानीमा नीलो आकाशको छायाका कारण गाढा नीलो देखिन्छ । तालको वरिपरि घुम्नका लागि ट्रेकिङ रुट छ । सफा पानीमा स्नो ट्राउट माछा तथा हाँस, जलेवाजस्ता चराहरु डुबुल्की मारेको दृष्यले राराको वातावरण नै भिन्न देखिन्छ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठदेखि आश्विन महिनासम्म विभिन्न फूलहरुले सजिएर मानौ स्वर्गकी अप्सरा जस्तै देखिन्छ । रारा तालको अर्को विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कही पनि नपाइने असला जातको हिमाली माछा पाइन्छ।
रारा तालबाट करीब ३ घण्टाको पैदल यात्रा पश्चात् यसको पश्चिमतर्फ रहेको मुर्माटपमा पुग्न सकिन्छ । जहाँबाट रारा तालको मनमोहक दृष्यका साथै सैपाल हिमालको श्रृंखलाको मनोरम अवलोकन गर्न समेत सकिन्छ । रारा तालबाट सिस्ने हिमाल र कान्जिरोवा हिमालको मनोरम दृश्य पनि देखिन्छ । रारा क्षेत्रमा पुगेपछि पाइने प्राकृतिक आनन्द, चिसो हावा, वरिपरि जंगलले घेरिएको रारा साँच्चै मनमोहक छ । रारा राष्ट्रिय निकुञ्जले मुगु जिल्लामा रारा ताल र वरिपरिको क्षेत्र ओगटेको छ । यो निकुञ्ज बि.सं. २०३३ सालमा स्थापना भएको हो । रारा समुन्द्र सतहबाट १० हजार फिटको उचाईमा रहेको छ । रारा तालको सेरोफेरोमा अरु धेरै गन्तव्य पनि छन् । यो क्षेत्रमा चंखेली हिमाल, दुधे दहसहित साना–ठूला गरी १ सयभन्दा बढी ताल, कुण्ड आदि रहेका छन् । रारा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रेडपान्डा, दुर्लभ सेतो कस्तूरी, नाउर, घोरल, गिद्ध, बाज, चीलजस्ता पशुपन्छी अवलोकन गर्न सकिन्छ ।
इलाम

इलाम दसैको बिदामा घुमघाम गर्ने एउटा प्रमुख गन्तव्य हो । नागबेली डाँडामा चियाका बोटसँग लुकामारी खेल्दै यहाँको सौन्दर्यको मज्जा लुट्नुको आनन्द नै बेग्लै हुन्छ । सार्वजनिक यातायातमार्फत सजिलैसँग इलाम पुग्न सकिन्छ । इलामका सबै साना–ठूला पर्यटकीय गन्तव्यमा स्तरीय होटलहरुको व्यवस्था छ । चिसो हावापानी, चिया वगानको रमणीयतामा हराउनेहरुलाई इलाम रमणिय गन्तव्य हुनसक्छ । इलामको यात्राले उच्च हिमाली भेगदेखि घना चिया बगानको रमणीयता अवलोकन गर्ने अवसर जुराइदिन्छ । यसका लागि कन्याम र सन्दकपुर छुटाउन हुन्न । थुम्का थुम्कामा लगाइएको चिया बगान र नागबेली सडकले पनि इलामको प्राकृतिक सुन्दरताको झल्को दिन्छ । सूर्योदय दृश्यावलोकनको लागि नेपालमै प्रख्यात श्रीअन्तुदेखि जैविक विविधताले सम्पन्न माइपोखरी र सन्दकपुरसम्मको यात्राले इलाम घुमघाम सार्थक बनाइदिन्छरु। दसैंको बेला इलामको मौसम सफा हुन्छ । कन्याम चियाबगान, माइपोखरी, सन्दकपुर तथा श्रीअन्तु पर्यटकका लागि चर्चित स्थान हुन् ।
बर्दिया

तराईको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज रहेको बर्दिया थारु संस्कृतिका हिसाबले पनि प्रख्यात छ । ९६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्ज खासगरी बाघ हेर्नका लागि कहलिएको छ । निकुञ्ज क्षेत्रमा ५४ प्रजातिका स्तनधारी, चार सय प्रजातिका चराचुरुंगी, २५ प्रजातिका घस्रने वन्यजन्तु र ६० भन्दा बढी प्रजातिका माछा पाइन्छ। तपाईंलाई थारु संस्कृति मन पर्छ भने बर्दिया खानी हो । यहाँको डल्ला गाउँमा खोलिएको होमस्टे पर्यटकमाझ प्रिय छ। निकुञ्ज नजिकै रहेको ठाकुरद्वारा मन्दिर पनि धार्मिक हिसाबले निकै महत्वपूर्ण छ । मन्दिरमा लिच्छविकालीन मूर्तिहरु समेत छन् । बर्दिया र कैलाली जोड्ने कर्णाली चिसापानी पुल पनि पर्यटकको आकर्षणको केन्द्र हो ।










