भानु नगरपालिकाको १७औं नगर सभा : लक्ष्यभन्दा ५५ प्रतिशत राजश्व वृद्धि

भानु : तनहुँको भानु नगरपालिकाले १७औं नगर सभा सोमबार सम्पन्न गरेको छ । भानु नगरप्रमुख आनन्द राज त्रिपाठीको अध्यक्षता एवं उप–प्रमुख उमा गोतामेद्वारा पालिकाको अर्धवार्षिक प्रगति सहितको वक्तब्य सहित १७औं नगर सभाको शुरूवात गरिएको थियो ।
नगरपालिकाले कार्य, योजना तथा सुधारिने पर्ने अवस्थाको बारेमा जानकारी गराउँदै आर्थिक वर्षमा पालिकाले ३ करोड ७० लाख ५० हजार राजश्व संकलनको अनुमान गरेकोमा पुस २८ गतेसम्म १ करोड ३९ लाख ६१ हजार ४५३ रुपैया राजश्व संकलन उपप्रमुख गोतामेले जानकारी गराइन् ।
नगरपालिकाले गत आर्थिक वर्षको तुलनामा ३६ लाख ५८ हजार २३४ रुपैयाँ राजश्व वृद्वि भएको छ । त्यसैगरी संघीय सरकारबाट अनुदान ६२ करोड ६४ लाख रहेकोमा ३४ करोड ५५ लाख २९ हजार १७९ (५५.१६%) प्राप्त भएको छ भने गण्डकी प्रदेश सरकारबाट ९८ लाख ६६ हजार ५ सय करिव ३४.५ प्रतिशत तथा राजश्व बाडफांड तर्फ ५ करोड ३७ लाख ७३ हजार ९८८ रुपैयाँ करिव ३८.९ प्रतिशत प्राप्त भएको छ ।
भानु नगरपालिकाले यस आर्थिक वर्ष पौष २८ गते सम्म चालू तर्फ ३५.३८ प्रतिशत (शिक्षक तथा कर्मचारीको तलक सहित) र पूँजीगत तर्फ ६.८७ प्रतिशत खर्च गरेको छ । नगर प्रमुख त्रिपाठीले प्राविधिक शाखा, योजना शाखा र जनप्रतिनिधिहरुलाई चालु आर्थिक वर्षमा चालु खर्च मित्व्यईता/पारदर्शिता र पूँजीगत खर्चमा निश्चित समय सिमा भित्र कार्य सम्पन्नताको लागि निर्देशनका साथ अनुरोध गरेका छन् । ।पूँजीगत खर्चको अवस्थाबाट पालिकाको भौतिक प्रगति र विकासमा प्रत्यक्ष रूपमा जनसरोकारका सवाल जोडिएको समेत नगर प्रमुख त्रिपाठीले बताए ।
नगर कार्यपालिकाको कार्यालयले १७औं नगर सभाबाट पहिलो अभ्यास स्वरूप विषयगत समिति संयोजक (वडा अध्यक्षहरु)द्वारा विषयगत समितिको प्रगति, उपलब्धी, समस्या, चुनौती तथा अवसर प्रतिवेदन मार्फत आफ्नो भनाई सभामा पेश गरेका थिए । जसमा भौतिक पूर्वधार समितिअन्तर्गत वडा नं. ५ का वडा अध्यक्ष नहकुल अधिकारी, आर्थिक विकास समिति सदस्य वडा नं. १ का अध्यक्ष कान्छी माया तामांग (संयोजक अस्वस्थको कारण), सुशासन समिति वडा नं. ७ का अध्यक्ष खुम प्रसाद श्रेष्ठ, विधान समिति ९ नं. वडा अध्यक्ष मिन बहादुर गुरुग, सामाजिक विकास समिति वडा नं. १० का वडा अध्यक्ष हरिहर उप्रेतीले विषयगत समितिको प्रतिवेदन नगर सभामा पेश गरेका थिए ।
नगरकार्यपालिकाको कार्यालयको १७औं नगर सभाले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक र विज्ञापन व्यवस्थापन तथा नियमन विधेयक सर्वसहमतका साथ पारित गरेको छ ।
नगरकार्यपालिकाको कार्यालयको नगर सभा सदस्यहरुद्वारा शिक्षा समितिको पूर्णता, उपभोक्ता समितिले बैंक खाता संचालनको लागिको समस्या, सवारी कर, राजश्व संकलनमा कडाई, अधुरो खानेपानीका आयोजना, वर्षाको समयमा भएको धानको क्षतिको कृषकलाई राहतको व्यवस्थापन, चालु तर्फको फजूल खर्च र पारदर्शिता, नगर प्रहरीको जिम्मेवारी, नगरपालिका केन्द्रको टुङ्गो, पालिकाले सडक लगत कट्टा गरी रोक्का परेका जग्गा र नगरवासीले भोगेका समस्या, वडा नं. १३, १२, ६ र ७ मा सामुदायिक स्वास्थ्य केन्द्रको स्थापना, घरेलु मदिराको पूर्णता, भौतिक संरचनामा नियमन र भुक्तानीमा कडाई आदि बारे नगर प्रमुखलाई अवगत गराऊनुका साथ नगरपालीकाले गरेका राम्रा कामको प्रमुख श्रेय नगर प्रमुखलाई र नराम्राको अपजस समेत नगर प्रमुखलाई नै पर्ने धारणा राखेका थिए ।
नगरकार्यपालिकाको कार्यालयको नगर सभामा पेश भएका प्रस्तावहरु माथि सर्वसहमतका साथ पारितका साथ नगर प्रमुखद्वारा सभाको समापन गरेका थिए ।










