तनहुँको थर्पुमा पिकअप भेन दुर्घटना, १३ वर्षीया बालिकाको मृत्यु

तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४, कोलडाँडास्थित कोलडाँडा–थर्पु भित्री सडकखण्डमा पिकअप भेन दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।
प्रहरीका अनुसार आज बिहान करिब ७:३० बजेको समयमा कोलडाँडाबाट थर्पु तर्फ आउँदै गरेको ग ३ च ५८३५ नम्बरको पिकअप भेन चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको हो। दुर्घटनाका बेला चालकसहित तीन जना सवार थिए।
दुर्घटनामा म्याग्दे गाउँपालिका–४, कोलडाँडा निवासी बुद्धि बहादुर घर्तीकी १३ वर्षीया छोरी कोइस्का घर्ती गम्भीर घाइते भएकी थिइन्। टाउकोमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि प्रदेश अस्पताल दमौली लगिएको थियो। अस्पतालमा बिहान करिब ८:४० बजेको समयमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरिएको तनहुँ प्रहरीले जनाएको छ।
त्यस्तै, सोही ठाउँका १५ वर्षीय दिपसन घर्ती छाती र कुममा चोट लागेर घाइते भएका छन्। उनको अवस्था मध्यम रहेको र उपचार भइरहेको जनाइएको छ ।
यस्तै चालक ३० वर्षीय बसन्त घर्तीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।










