गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत बढ्यो

गोरखा : जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको छ । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका अनुसार जिल्लामा यो वर्ष तीन हजार १८७ मेट्रिक टन सुन्तला उत्पादन भएको हो ।

किसानले करिब रु २२ करोड आम्दानी गरेको एकाइकी सूचना अधिकारी पूजा रेग्मीले बताउनुभयो । किसानले रु एक करोड ५० लाखबराबरको कागतीसमेत बिक्री गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यो वर्ष गोरखामा १५ देखि २० प्रतिशतले सुन्तलाको उत्पादन बढेको छ । उत्पादन बढेसँगै किसान उत्साहित बनेका सूचना अधिकारी रेग्मीको भनाइ छ ।

“यस वर्ष मौसम अनुकूल भएकाले पनि उत्पादन बढेको हो, विगतका वर्षहरुमा रोपेको सुन्तलाले यस वर्षबाट उत्पादन दिन थालेकाले पनि उत्पादनमा वृद्धि आएको हो”, उहाँले भन्नुभयो ।

गत वर्ष जिल्लाभर जम्मा १९ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । यस्तै, आर्थिक वर्ष २०८०/८१ मा एक हजार ६०० मेट्रिक टन र आव २०७९/८० मा एक हजार ८०० मेट्रिक टन सुन्तला उत्पादन भएको सूचना अधिकारी रेग्मीले बताउनुभयो ।

कृषि ज्ञान केन्द्रले पनि यो वर्ष जिल्लामा सुन्तलाको उत्पादन बढेको बताएको छ । कार्यालयका सूचना अधिकारी सुमन भट्टराईका अनुसार यो वर्ष जिल्लाभर १५ प्रतिशतले सुन्तलाको उत्पादन बढेको हो । कार्यालयले आम्दानीको विवरण भने नराखेको उहाँले जानकारी दिनुभयो ।

“मौसमको अनुकूलता र किसानको मेहनतका कारण यो वर्ष उत्पादन बढेको हो । कृषि ज्ञान केन्द्रले पनि आफ्नो ठाउँबाट प्राविधिक सहयोग गर्दै आएको छ”, उहाँले भन्नुभयो ।

जिल्लाको सुन्तला जात फलफूलखेतीलाई राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइले सघाउँदै आएको छ । कार्यालयले जिल्लामा सुन्तला जोन कार्यक्रम लागू गरेर सुन्तलाखेती प्रवर्द्धन गर्दै आएको छ । गण्डकी, सहिदलखन, भीमसेनथापा गाउँपालिका र गोरखा नगरपालिकाका सबै वडा, पालुङटार नगरपालिकाका वडा नं ९ र १० तथा सिरानचोक गाउँपालिकाको वडा नं २, ४ र ५ लाई समेटेर सुन्तला जात फलफूल जोन घोषणा गरी कार्यान्वयन गरिरहेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख पूर्ण ढुङ्गाना बताउनुहुन्छ ।

ढुङ्गानाका अनुसार जिल्लामा सुन्तलाको उत्पादन बढाउन बगैँचा व्यवस्थापन तथा चक्लाबन्दी, क्षेत्र विस्तार, साना सिँचाइ पूर्वाधार निर्माण, उन्नत प्रविधिसहितको प्रदर्शनी, साना मेसिनरी वितरणलगायत कार्यक्रम सञ्चालन गरिएको छ । सुन्तला जोनबाहेकका क्षेत्रमा करिब १० प्रतिशत सुन्तला उत्पादन हुने गरेको छ ।

सुन्तला जिल्लाको गण्डकी, भीमसेनथापा र सहिदलखन, सिरानचोक गाउँपालिका, गोरखा र पालुङटार नगरपालिका तथा उत्तरी गोरखाको धार्चेस्थित कासीगाउँमा फल्ने गर्छ । गण्डकीको ताङ्लीचोक, भुम्लिचोक, फलाटे, फुजेल र सहिदलखनको मनकामना, ताक्लुङ, मास्केछाप, तीनमाने, अँधेरीलाई सुन्तालको पकेट क्षेत्र मानिन्छ । त्यस्तै, भीमसेनथापाको तान्द्राङ, पालुङटारको बागडाँडा, शेरा र गोरखा नगरपालिकाको ताप्ले, नारेश्वर, फिनाम र भट्टबेँसीलाई पनि सुन्तला उत्पादनको पकेट क्षेत्रका रूपमा लिने गरिन्छ । जिल्लाको करिब एक हजार ९७ हेक्टर क्षेत्रमा सुन्तलाखेती हँुदै आएको छ भने करिब तीन सय किसान सुन्तलाखेतीमा आबद्ध छन् । जिल्लाका किसानले खाकु र स्थानीय जातको सुन्तला लगाउँदै आएका छन् । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker