तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित चार झोलुंगे पुल पुनर्निर्माण गरिने

तनहुँ : तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको जलाशयका कारण प्रभावित हुने चारवटा झोलुङ्गे पुल पुनर्निर्माण गरिने भएको छ । जलाशय निर्माणसँगै पुराना पुल प्रभावित हुने भएपछि स्थानीय बासिन्दाको आवतजावत सहज बनाउन नयाँ स्थानमा पुल निर्माण गर्न लागिएको हो ।
पुल पुनःस्थापना तथा पुनर्निर्माणका लागि तनहुँ हाइड्रोपावर लिमिटेड र थानी काली जोशी संयुक्त उपक्रम (जेभी), काठमाडौँबीच ठेक्का सम्झौता भइसकेको छ। सम्झौताअनुसार चारवटा पुल निर्माणका लागि करबाहेक १६ करोड ९७ लाख ३८ रुपैयाँ खर्च हुने आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए ।
भण्डारीका अनुसार स्थानीयवासीसँग परामर्श गरी पुल निर्माणका लागि उपयुक्त स्थान छनोट गरिएको छ । आयोजना अन्तर्गत चुलेसी, टुनिबोटे, डब्ल्याङ र टुटुवामा झोलुङ्गे पुल निर्माण गरिनेछ । पुल निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत आपूर्ति भइसकेको उनले बताए ।
जलाशय निर्माणका कारण पुराना पुल प्रभावित हुँदा स्थानीय बासिन्दाको दैनिक आवागमनमा कठिनाइ हुन सक्ने भएकाले वैकल्पिक पुल निर्माणलाई प्राथमिकता दिइएको आयोजनाले जनाएको छ । नयाँ पुल निर्माणपछि स्थानीयवासीलाई आवतजावत गर्न तथा विभिन्न सेवा र सुविधामा पहुँच कायम राख्न सहज हुने अपेक्षा गरिएको छ ।
स्थानीयवासीसँगको परामर्शका आधारमा पुल रहने स्थान तय गरिएकाले पुनर्निर्माणले जलाशयबाट प्रभावित क्षेत्रका बासिन्दाको आवागमन सहज बनाउने भण्डारीले बताए । सम्झौताअनुसार चारवटै झोलुङ्गे पुलको निर्माण २०८५ वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।










