बाढीले घिरिङमा खानेपानी र सिंचाइका १९ आयोजना प्रभावित

मुहानदेखि नहरसम्म क्षति, पुनर्निर्माणका लागि प्रदेश र स्थानीय तहमा सिफारिस

तनहुँ : गत असोज दोस्रो साताको अविरल वर्षापछि आएको बाढीपहिरोले तनहुँको घिरिङ गाउँपालिकामा खानेपानी र सिँचाइ सेवा प्रभावित बनाएको छ। बाढीपहिरोका कारण खानेपानीका मुहान, पाइपलाइन, विद्युतीय उपकरण र ट्याङ्कीदेखि खेतमा पानी पुर्याउने बाँध, कुलो तथा नहरसम्म क्षति पुगेको छ। यसबाट स्थानीय बासिन्दालाई स्वच्छ खानेपानीको व्यवस्था गर्न र खेतीयोग्य जमिनमा सिँचाइ पुर्याउन समस्या भएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार घिरिङमा खानेपानीतर्फ १० र सिँचाइतर्फ नौ गरी १९ वटा आयोजनामा आंशिक क्षति पुगेको छ। क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनर्निर्माणका लागि सम्बन्धित प्रदेश मन्त्रालय, प्राविधिक कार्यालय र गाउँपालिकामा सिफारिस गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीले जानकारी दिए ।

गत असोज ९ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढीपहिरोले खानेपानी आयोजनाका विभिन्न संरचनामा फरक–फरक प्रकृतिको क्षति पुर्याएको छ । कतै पानीको स्रोत नै पहिरोले पुरिएको छ भने कतै पाइपलाइन बगेका छन् । विद्युतीय उपकरण बिग्रिँदा पानी तान्ने र वितरण गर्ने प्रणालीसमेत प्रभावित भएको छ ।

घिरिङ–१ पुट्टारस्थित ढाव खानेपानी आयोजनाको कपरवायर एक सय मिटर र १२ वटा स्ट्यान्ड बाढीले बगाएको छ । घिरिङ–४ को देउतीखोला खानेपानी आयोजनामा सामुदायिक विद्युतीकरणअन्तर्गतको ट्रान्सफर्मर जलेको छ। सोही वडाको गड्यौलीटारस्थित झर्राखोला आयोजनाको मोटर र मिटरमा क्षति पुगेको छ ।

घिरिङ–३ वाकथोकस्थित चाँपादी खानेपानी आयोजनाको मुहान पहिरोले पुरिएको छ । नयाँटारस्थित सुनौली खानेपानी आयोजनामा जमिन भासिने समस्या देखिएको छ भने घिरिङ–४ जिताकोटस्थित घिमिरे पँधेरी आयोजनाको ट्याङ्कीमा क्षति पुगेको छ । घिरिङ–२ को भदौरे खानेपानी आयोजनाको एमसिबी बिग्रिएको छ ।

त्यसैगरी, घिरिङ–५ स्थित भकर्दी खानेपानी आयोजनाको पाइप बाढीले बगाएको छ । सोही वडाको अलैँचे आयोजनाका पिल्लरका टेका बगेका छन् भने गाउँपानी खानेपानी आयोजनाको मुहानमा क्षति पुगेको छ । यी संरचना मर्मत नगरेसम्म नियमित खानेपानी आपूर्तिमा कठिनाइ हुने देखिएको छ ।

सिँचाइ संरचनामा पनि क्षति

खानेपानीसँगै कृषि उत्पादनका लागि महत्त्वपूर्ण सिँचाइ संरचनासमेत बाढीपहिरोको चपेटामा परेका छन् । खेतबारीमा पानी पुर्याउन प्रयोग हुँदै आएका बाँध, कुलो, पाइप र नहरमा क्षति पुगेपछि सिँचाइ प्रणाली पुनः सञ्चालन गर्नुपर्ने अवस्था आएको छ ।

घिरिङ–३ स्थित रोहिणी सिँचाइ आयोजनाको बाँध बाढीले बगाएको छ भने सोही वडाको बाँधघट्ट सिँचाइ बाँधमा पनि क्षति पुगेको छ। घिरिङ–१ को गड्यौलीटार कुलोमा बाढी पसेर मुहान बगाएको छ । अत्रौली–पुट्टार सिँचाइ आयोजना पनि प्रभावित भएको छ ।

घिरिङ–४ स्थित वान्टाङ खोला बाँध तथा कुलोमा क्षति पुगेको छ । घिरिङ–५ को वीरखोला सिँचाइ आयोजनाको पाइप बिग्रिएको छ । घिरिङ–३ स्थित गोफाखोला सिँचाइ बाँधमा क्षति पुगेको छ भने सोही वडाको नयाँटार सिँचाइ नहर पहिरोले जगैदेखि बगाएको छ । पार्दीकुलो सिँचाइ आयोजनाको पाइपमा समेत क्षति पुगेको छ ।

क्षतिग्रस्त सिँचाइ संरचनाको पुनर्निर्माण तथा मर्मतका लागि गण्डकी प्रदेशको सम्बन्धित मन्त्रालय, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय दमौली र घिरिङ गाउँपालिकामा सिफारिस गरिएको प्रमुख जिल्ला अधिकारी तिवारीले बताए ।

पुनर्निर्माणमा समन्वयको आवश्यकता

बाढीपहिरोले खानेपानी र सिँचाइका संरचनामा क्षति पुर्याएपछि प्रभावित बस्तीमा सेवा नियमित गर्न र खेतीयोग्य जमिनमा पानी पुर्याउने व्यवस्था मिलाउन चुनौती थपिएको छ । खानेपानीका मुहान र वितरण प्रणाली मर्मत गर्नुपर्ने अवस्था छ भने सिँचाइका बाँध तथा नहर पुनर्निर्माण नगरेसम्म खेतमा पानी पुर्याउन कठिन हुने देखिएको छ ।

घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले खानेपानीका संरचनामा भएको क्षतिले स्थानीयलाई स्वच्छ पानी उपलब्ध गराउन समस्या भएको र सिँचाइका संरचना बिग्रिँदा खेतबारीमा पानी पुर्याउन कठिनाइ भएको बताए ।

प्रमुख जिल्ला अधिकारी तिवारीका अनुसार क्षतिग्रस्त आयोजनालाई पुनः सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । तर, सिफारिससँगै प्राविधिक मूल्याङ्कन, आवश्यक बजेटको व्यवस्था र निर्माण कार्यमा शीघ्रता आवश्यक देखिएको छ ।

खानेपानी र सिँचाइ स्थानीय जनजीवन तथा कृषि उत्पादनसँग प्रत्यक्ष जोडिएका आधारभूत संरचना हुन् । त्यसैले क्षतिको विवरण संकलन र सिफारिसमा मात्र सीमित नभई प्राथमिकताका आधारमा मर्मत तथा पुनर्निर्माण अघि बढाउन आवश्यक छ। खानेपानीको सहज आपूर्ति र खेतबारीमा सिँचाइ सुविधा पुनःस्थापित गर्न सम्बन्धित निकायबीच प्रभावकारी समन्वय र समयमै स्रोत व्यवस्थापन महत्त्वपूर्ण हुनेछ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker