भिमाद नगरपालिकाद्वारा ६७ करोडको बजेट पुस्तिका सार्वजनिक
भञ्ज्याङ समाचारदाता/भिमाद
तनहुँको भिमाद नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बजेट पुस्तिका सार्वजनिक गरेको छ । नगरप्रमुख दधिराज सुवेदीको अध्यक्षतामा आयोजित १२औं नगर सभाबाट स्वीकृत ६७ करोड रुपैयाँ बराबरको बजेट पुस्तिका प्रतिनिधिसभा सदस्य केदार सिग्देलले आइतबार एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।
नगरपालिकाले चालु आर्थिक वर्षका लागि आर्थिक विकास, समाजिक विकास, पूर्वाधार विकास, सुशासन तथा अन्तर सम्वन्धित क्षेत्रमा बजेट विनियोजन गरेको छ । आर्थिक विकास क्षेत्र अन्तर्गत कृषि क्षेत्रमा ९३ लाख, पशुपन्छी विकासमा ५८ लाख र उद्योगमा ३५ लाख गरी कुल १ करोड ८६ लाख रुपैयाँ वजेट विनियोजन गरेको छ ।
नगरपालिकाले समाजिक विकास क्षेत्र अन्तर्गत शिक्षा क्षेत्रमा २१ करोड ६४ लाख, स्वास्थ्यमा ३ करोड ४६ लाख, लैङ्गकि समानता तथा समाजिक समावेशीकरणमा १३ लाख ४ हजार, युवा तथा खेलकुदमा १ लाख र खानेपानी तथा सरसफाईमा १ करोड ४७ लाख गरी २६ करोड ७१ लाख ४ हजार विनियोजन गरेको छ ।
यस्तै, यातायात पुर्वाधारमा १ करोड ३० लाख, भवन आवास तथा शहरी विकासमा १ करोड २ लाख र उर्जामा ८ लाख गरी कुल २ करोड ४० लाख, प्रशासकीय सुशासनमा ३ लाख, श्रम तथा रोजगारीमा ७६ लाख र तथ्याङ्क प्रणालीका लागि ९६ हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै, वजेट सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधीसभा सदस्य केदार सिग्देलले बजेट कार्यन्वयनको पाटो महत्वपूर्ण भएको हुँदा इमान्दारिता साथ काम गर्न आग्रह गरे । उनले भने, ‘सबैको साथ र सहयोगले समृद्ध भिमाद निर्माण गरिने हुँदा योजनको कार्यन्वयनमा ध्यान दिनुपर्दछ ।’
‘भिमाद नगरपालिकामा संघीय र प्रदेश सरकारबाट पनि उल्लेख्य बजेट विनियोजन भएको हुँदा त्यसको पूर्णताले यस क्षेत्रको नै मुहार फेरिने सक्छ’, सांसद सिग्देलले भने, ‘यो सरकार प्रतिगामी र राष्ट्रघाती बन्दै गएको छ । नागरिकता जस्तो संवेदनशील मुद्दामा समेत सत्तासंग साटेर नागरिकता विधेयक ल्याएर राष्ट्रघात गरेको छ ।’
कार्यक्रममा संविधान सभा सदस्य टुकराज सिग्देल, भिमाद नगरपालिकाका उपप्रमुख शारदा खनाल, पूर्व नगरप्रमुख मेख वहादुर थापा, नेपाली काग्रेसका सभापति जीत प्रकाश आले, नेकपा एमाले भिमाद नगर कमिटीका अध्यक्ष इमानसिंह थापा लगायतले नगरपालिकाको बजेट पुस्तिकाका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।










