न्यु दमौली ४०० केभी सवस्टेशन निर्माण ३६ प्रतिशत पूरा
तनहुँका पाँच पालिकामा विद्युत् वितरण प्रणाली सुधारको काम पनि तीव्र

तनहुँ : तनहुँमा निर्माणाधीन न्यु दमौली ४०० केभी सवस्टेशनको भौतिक निर्माण ३६ प्रतिशत सम्पन्न भएको छ । मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत निर्माण भइरहेको सवस्टेशनको वित्तीय प्रगति भने १२ प्रतिशत पुगेको छ ।
एमसिए नेपाल तनहुँका सम्पर्क अधिकृत हुमनाथ ढकालका अनुसार सवस्टेशन निर्माणको काम निर्धारित योजनाअनुसार अघि बढिरहेको छ। भारतको टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेडले सवस्टेशन निर्माणको जिम्मेवारी पाएको हो ।
आयोजनाका लागि कम्पनीसँग ३ करोड ८८ लाख ८३ हजार ६ सय ४३ अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो । २०२४ जुलाई ३१ मा सम्झौता भएको आयोजनाको निर्माण २०२४ अगस्ट १८ देखि सुरु गरिएको हो। सम्झौताअनुसार २०२७ नोभेम्बर २२ सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
न्यु दमौली सवस्टेशन निर्माण पूरा भएपछि विद्युत् प्रसारण प्रणालीको क्षमता विस्तारमा सहयोग पुग्नेछ। साथै विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न र भविष्यमा बढ्ने विद्युत् माग व्यवस्थापन गर्न सवस्टेशन महत्वपूर्ण हुने अपेक्षा गरिएको छ ।
पाँच पालिकामा पोलदेखि ट्रान्सफर्मरसम्मको काम
एमसिए नेपालले सवस्टेशन निर्माणसँगै तनहुँका पाँच स्थानीय तहमा विद्युत् वितरण प्रणाली सुधारको कामसमेत अघि बढाएको छ। पुराना तथा जीर्ण पोल विस्थापन, एबी केबल जडान, एसीएसआर केबल परिवर्तन र नयाँ ट्रान्सफर्मर निर्माणमार्फत वितरण प्रणालीलाई सुरक्षित र भरपर्दो बनाउने योजना अघि सारिएको हो ।
व्यास नगरपालिकाका वडा नम्बर १, १२, १३ र १४ मा ४०७ वटा विद्युत् पोल प्रतिस्थापन, ४१.२२ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण र ७.८२ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ ।
आँबुखैरेनी गाउँपालिकाका वडा नम्बर ३, ४ र ५ मा ३७४ वटा पोल फेर्ने, २४.६६ किलोमिटर एबी केबल जडान, सातवटा ट्रान्सफर्मर निर्माण तथा १८.८५ किलोमिटर एसीएसआर केबल परिवर्तन गर्ने योजना छ । बन्दीपुर गाउँपालिकाका वडा नम्बर २, ३ र ६ मा २८४ वटा पोल प्रतिस्थापन गरिनेछ । त्यहाँ २१.०५ किलोमिटर एबी केबल जडान, पाँचवटा ट्रान्सफर्मर निर्माण तथा १५.५५ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ ।
त्यस्तै घिरिङ गाउँपालिकाका वडा नम्बर १, २, ३ र ५ मा ७८ वटा पोल परिवर्तन, ५७.६८ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण र ४.६ किलोमिटर एसीएसआर केबल परिवर्तन गर्ने कार्यक्रम छ ।
ऋषिङ गाउँपालिकाका वडा नम्बर १, ६, ७ र ८ मा ९२ वटा पोल प्रतिस्थापन गरिनेछ । यस क्षेत्रमा ४२.६५ किलोमिटर एबी केबल जडान, तीनवटा ट्रान्सफर्मर निर्माण र ४.६२ किलोमिटर एसीएसआर केबल परिवर्तन गरिनेछ ।
एमसिए नेपालका अनुसार पुराना पोल तथा तार हटाएर एबी केबल जडान गरिएपछि विद्युत् चुहावट र प्राविधिक समस्या न्यूनीकरणमा सहयोग पुग्नेछ। यसबाट विशेषगरी ग्रामीण क्षेत्रमा विद्युत् वितरण प्रणाली थप सुरक्षित र भरपर्दो हुने अपेक्षा गरिएको छ।
सवस्टेशन निर्माणसँगै वितरण प्रणाली सुधारका यी काम सम्पन्न भएपछि तनहुँमा विद्युत् प्रसारणदेखि उपभोक्ताको घरसम्मको संरचनामा उल्लेख्य सुधार आउने अपेक्षा गरिएको छ ।










