मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

मुस्ताङ : जिल्लामा सन् २०२५ को आठ महिनामा एक लाख १६ हजार ७८७ विदेशी पर्यटक भित्रिएका छन् । यहाँ सन् २०२५ को जनवरीदेखि अगस्टसम्म सार्क राष्ट्रबाट एक लाख एक हजार १६१ जना र अन्य देशबाट १५ हजार ६२६ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप)जोमसोमले जनाएको छ ।

यहाँ कूल विदेशी पर्यटक सङ्ख्याको ८६ दशमलव ६२ प्रतिशत सार्क राष्ट्रबाट र १३ दशमलव ३७ प्रतिशत अन्य राष्ट्रका पर्यटक यहाँ भित्रिएका एक्याप कार्यालय प्रमुख राजेश गुप्ताले जानकारी दिनुभयो ।

यहाँ सन् २०२५ को जनवरीमा सार्कका तीन हजार ८३० र अन्य राष्ट्रका ५१६ गरी चार हजार ३४६ जना, फेब्रुअरीमा सार्कका चार हजार ५१० र अन्य ७९३ गरी पाँच हजार ३०३, मार्चमा सार्कका १६ हजार ५०७ र अन्य दुई हजार ५८८ गरी १९ हजार ९५, अप्रिलमा सार्कका अठार हजार ३०४ र अन्य चार हजार ८४८ गरी २३ हजार १५२ जना, मेमा सार्कका २१ हजार ९४६ र अन्य तीन हजार ७८१ गरी २५ हजार ७२७, जुनमा सार्कका १९ हजार ६४९ र अन्य एक हजार २०९ गरी २० हजार ८५८, जुलाइमा सार्क नौ हजार ७९४ र अन्य ८२५ गरी १० हजार ६१९ र अगस्टमा सार्कका छ हजार ६२१ र अन्य एक हजार ६६ जना गरी सात हजार ६८७ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्यापको तथ्याङ्क छ ।

यहाँ सन् २०२४ को सोही अवधिभन्दा २०२५ मा विदेशी पर्यटकको सङ्ख्या २१ दशमलव ९८ प्रतिशतले वृद्धि भएको छ । यसपटक २५ हजार ६७८ जना विदेशी पर्यटक बढी आएको कार्यालय प्रमुख गुप्ताले जानकारी दिनुभयो । सन् २०२४ को सोही अवधिमा सार्क राष्ट्रबाट ७८ हजार ७६० जना र अन्य राष्ट्रबाट १२ हजार ३४९ जना विदेशी पर्यटकले यहाँ भ्रमण गरेको उहाँले बताउनुभयो ।

अघिल्लो वर्षको सो अवधिभन्दा हाल सार्क राष्ट्रमा २२ हजार ४०१ अर्थात् (२२ दशमलव १४) प्रतिशत र अन्य विदेशी पर्यटकमा तीन हजार २७७ जना अर्थात् (२० दशमलव ९७) प्रतिश पर्यटक वृद्धि भएको देखिन्छ ।

मुस्ताङमा सन् २०२४ को जनवरीदेखि डिसेम्बरसम्ममा एक लाख २५ हजार ७१९ जना विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये सार्कका एक लाख एक हजार १६१ जना र अन्य राष्ट्रका १५ हजार ६२६ जना पर्यटक थिए ।

कार्यालयको विवरणअनुसार मुस्ताङ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशत भारतीय पर्यटक रहेका छन् । यहाँ भित्रिने अधिकांश भारतीय पर्यटकले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेको जनाइएको छ ।

पछिल्लो समय राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको यात्रा सहज हुँदै जान थालेपछि मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको संस्था बर्सेनि वृद्धि भइरहेको छ । अन्तरराष्ट्रिय सञ्चारमाध्यमले मुस्ताङलाई घुम्नुपर्ने सूचीमा सूचीकृत गरेसँगै यहाँ विदेशी पर्यटकको सङ्ख्या अनपेक्षित रूपमा वृद्धि हुन थालेको जानकारहरू बताउँछन् ।

यो जिल्ला धार्मिक, सांस्कृतिक र जैविक विविधतासँगै यहाँको पृथक भूगोलका कारण पर्यटकीय आकर्षणको केन्द्र बन्दै जान थालेको हो । यहाँ सदियाँै पुराना गुम्बा, माने, छोर्तेन, गुफा, परम्परागत सांस्कृतिक घरका संरचना, तालतलैया, लोमान्थाङ ऐतिहासिक दरबार, कोरलानाकालगायत पर्यटकीय गन्तव्य भएकाले यहाँ आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुँदै गएको हो । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker