आँधीमूल वाराही मन्दिर : केही चर्चा र परिचर्चा
देव बस्न्यात

आँधीमूल वाराही मन्दिर आँबुखैरेनी गाउँपालिका वडा नं. ६ सत्रसयफाँट भन्दा दक्षिण पश्चिम तर्पm अबस्थित प्राकृतिक सम्पदाले भरी पूर्ण पखेराको फेदको केही माथि रहेको छ । यहाँसम्म पुग्नका लागि लगभग सत्रसयबाट ३ किलोमिटर बाटो पिच गरिएको पाइन्छ । अग्लो चुनपहराको बीचबाट लगातर आइरहने पानीको मूल नै यसको विशेषता हो । पहाडको खोंचमा रहेको यहाँको वाराही मन्दिरको दर्शन गरेमा मनले ताके आँटेको कुरा पुग्ने जनविश्वास रहिआएको छ । यस मन्दिरमा तनहुँ, गोरखा, लमजुङ, चितवन, कास्की र काठमाण्डौका भक्तहरु आउने गर्छन । हरेक वर्ष ठूलो एकादशी मेलामा यहाँ फूल तार्ने काम गरिन्छ । २०५२ साल असोज १५ गतेका दिनसम्ममा यहाँ ३ वटा पोखरीहरु बनाइएका छन् । पहिलो पोखरीमा माछालाई देवता मानी पूजाअर्चना गरिन्छ भने दोश्रो पोखरीमा माछापालन र तेश्रो पोखरीमा आउने पर्यटकहरुलाई पौडी खेली मनोरञ्जन गर्न बनाइएको बुझिन्छ । आँधीमूल देवीको मन्दिर परिशर रमणीय भएकाले पनि भक्तजनहरु हरेक एकादशी, औंसी तिथी र साउनको महिना बाहेकका दिनहरुमा पूजाअर्चनाका लागि आइरहने गर्दछन् । यहाँको वाराही मन्दिरमा बोका र कुखुराको बलि दिने गरिन्छ भने परेवा मन्दिरमा उडाउने परम्परा रहेको छ ।
आँधीमूल वाराहीको उत्पत्ति कथा
आँधीमूल उत्पत्तिका बारे यहाँ दुइवटा कथाहरु पाइन्छन् । एउटा परम्परागत शास्त्रीय मत रहेको छ भने अर्को यहीकै लोक कहावतमा आधारित रहेको छ । शास्त्रीय मत अनुसार त्रेता युगका अयोध्या नरेश दशरथ कुनै बेला सिकारका लागि देवाट, सुमेरुपर्वत गाइघाट, बरालुङघाट पार गरी मस्र्याङदी प्रश्रवण क्षेत्र आँबुमा आइपुगे । उता उनकै भाञ्जा श्रवणकुमार पनि आफ्ना मातापितालाई तीर्थव्रत गराउने अभियानमा देवाट, गाइघाट, बरालुङघाटको बाटो हुँदै, छिम्केश्वरी भगवतीको दर्शन गराई दूधपोखरी, मुक्तिनाथ दर्शन गराउने ध्येयले यही आँबु क्षेत्रमा आइपुगेका थिए । अनकन्टार क्षेत्रमा मृग हिंडेको महसुस गरी राजा दशरथले बाण चलाउँदा श्रवण कुमार उठ्नै नसक्ने गरी घाइते भए । पानी तिर्खाले तड्पेका श्रवणकुमारका अन्धाअन्धी माता पितालाई पानी पिलाउन दशरथ स्वयं पानी लिएर पुगे । छोराको मृत्यु भएको खबर सुनेका अन्धाअन्धीले राजा दशरथलाई तिम्रा छोरा नहुन भन्ने श्राप दिई बाँकी जीवन त्यही बिताए रे ! तिनै अन्धाअन्धीको अँसुले दह बनेको दह हुनाले यस दहलाई अन्धाअन्धी दह भन्न थालियो । यहाँका आदिवासी जनताले अन्धाअन्धी भन्ने लामो शब्द भन्न अप्ठ्यारो महसुर गरेर उक्त शब्दलाई छोट्याइ दिए । कालन्तारमा यही अन्धाअन्धी शब्द अपभ्रंश भइ आँधी भएको र त्यही आँत्री शब्दमा पानीको मूल थपिन गई आँधीमूल बन्न गएको हो भन्ने शास्त्रीयमत रहेको छ ।
अर्को लोककथा अनुसार कुनै एक समयमा मास्की मगरकी छोरी नरीमाया मगर आफ्नोघर लिगलिगबाट मामालीघर गएकी थिइन । नरीमाया मामाली घर जाँदा आँधीमूल नजिकको बाटोमा घनाजंगल थियो । अचानक नरीमायालाई बाघले आक्रमण ग¥यो नरीमायां दौडंदै ढुङ्गा नजिकको गुफामा गएर बाघबाट ज्यान बचाइन तर बाहिर निस्कनै सकिनन् रे । कालन्तरमा तिनै नारी आंधीमूल वाराही भएर अवतरित भएकी हुन भन्ने किंवदन्ती रहेको छ । तिनै वाराहीमाईले दबदबेको रुखमा पानीको श्रोत जुटाइन । साँच्चै नै आँधीमूल वाराही मन्दिर नजिकै दबदबेको रुख थियो । त्यही दबदबेको बोट मुनी पानीको मूल निस्किएको थियो । आजभन्दा ३६८ वर्ष पहिले याञ्चोक रानागाउँका हजुरआमा र नातिनी गाइ बाख्रा चराउन भीरबारी पखेरामा पुगेछन् । मध्यान्हमा नातिनीलाई पानी तिर्खा लागेछ । नातिनीले बजै पानी चाहियो भनेर कराइछिन् । हजुरआमाले कतै पानी पाइन्छकी भन्दै भिरपाखा खोज्दै खोज्दै जाँदा एक ठाउँमा चिस्यान परेको ठाउँ भेटिछन् । त्यहीं डोबिल्को खनी पानी संकलन गरेर नातिनीलाई मुख “आ” गर्न लगाएर “डि” (पानी) खुवाइने रे । “आँ” गरेर “डि” खुाएकोले आँडीमूल भन्ने गरेको किंबदन्ती सुनिन्छ ।
त्यही रात घरको मूली राना मगरले अनौठौ सपना देखे । सपनामा वाराहीमाईले आज तेरो बूढीले नातिनीलाई पानी खुवाएको ठाउँ भन्दा करिव २०० हात तल दबदबेको बोट छ । “त्यो दबदबेको बोट मुनी रहेका ढुङ्गा खोतली हेरेमा पानीको मूल छ भनेर सुचित गरिन रे ! त्यही ढाँड भित्र रहेको पानीको दहमा म माछाको रुपमा निवास गरेको छु । त्यो मुहान खोली मलाइ खुल्ला आकाश मुनीको पानीको दहमा खेल्ने वातावरण सृजना गरी दिए तिमी, तिम्रा सन्तान र अरु भक्तहरुको समेत कल्याण गर्नेछु । हे राना बाजे ! तिमीले अब हामी सबैको हीत हुने काम गर” भनेर वाराही देवीले भनेकाले राना बाजे बिहानै मगर्नी बजैलाई संगै लगेर पानीको मुहान पत्ता लगाए । नभन्दै सो ठाउँमा माछा देखियो । राना बाजेले तत्कालै दबदबेको बोटमुनी शिला गाडे । त्यही दिनदेखि नियमित रुपमा माछी देवता र शिलालाई आँधीवाराहीमाईको स्वरुप सम्झेर पूजाआजा हुँदै आएको छ । त्यही बेलादेखि नियमित रुपमा यहाँ आँधीमूल वाराहीमाईको पूजाआजा हुँदै आएको पनि हो । पूजाको समयमा दबदबेको बोट नजिकै कहिले खरको तथा कहिले कटुसको सेउलाहरुले छानो छाएर राखेको झुप्रे मन्दिरमा वाराहीमाईको पूजाआजा गरिने परम्परा चल्दै आएको थियो । मन्दिरको आडैमा अर्को सानो दह पनि थियो । दहमा माछाहरु खेलेका देखेर याञ्चोक, रानागाउँ र वरपरका गाउँलेहरु झारा गएर कटुसको घोचा र सेउलालाई ढुङ्गा बालुवाले चेप्ने र पानी तलबाट नबगोस र माछाहरु पौरिन मिल्ने गरी माटोको चपरी पनि लगाउने गर्दथे । विशेष गरेर बडादसै, ठूलो एकादशी र चैतेदसैंका अवसर पारेर पानी तलाउने काम गरिन्थ्यो । (श्रोत : आँडिमूल वाराही देवीको उत्पति र किम्वदन्ती – इन्दबहादुर मास्की मगर)
पूजारीहरुको छनोट र बहाली
यस वाराही मन्दिरको सर्व प्रथम पूजारी राना मगर बाजे थिए । बिहान बेलुका ४० मिनेटको ओरालो झरेर दैनिक साँझ बिहानमा वाराहीमाताको पूजाआजा गर्दथे भने फेरी ५० मिनेटको उकालो चढेर घरमा आउने गर्दथे । यसरी हरेक दिनको बिहान बेलुका किसानको छोरा रानाले धन्यै एक महिना जति पूजाआजा गर्दा आफु ज्यादै थकित भएको महसुस गरे । समयमा पूजाको व्यवस्थापन गर्न नसक्दा कृतिमान मास्केलाई अकलाको पूजारी बनाउने निश्चय गरे । सरसल्लाहको लागि कृतिमानको घरसम्म पूगे पनि । मास्कीजीले रानाको प्रस्ताव सहर्ष स्वीकारे । हाल पनि तिनैका सन्तान दर सन्तानहरुले वाराही माताको पूजाआजा गर्देै आइरहेका छन् । वि.सं. १९४२–४५को बीच यही अवधीमा बाहुनभञ्ज्याङका बाहुनहरु गाउँको बसाइलाई बिट मारेर यान्चोक आइपुगे । बाहुनहरुको बस्ती बाक्लिंदै गएपछि आँधीमूलका पूजारीमा ब्राह्मण पुजारीको आवश्यकता महसुस भयो । सर्वप्रथम लमजुङका रामनाथ उपाध्याय १८९२ देखि १९९२ सम्म पूजारी भएर काम गरे ।
यसै गरी २००२ सालमा देखि २०१२ साल सम्म गाइखुरका अनामे (नामथाहा नभएको) पाठक ब्राह्मण, २०१२ देखि २०२२ सम्म गाइखुरका होमनाथ लम्साल, २०२२ देखि २०३२ सम्म नन्दलाल दवाडी, आँबु २ का शालीग्राम पोख्रेल २०३२—२०४२ सम्म र आँबु २ कै कृष्णबहादुर के.सी. (पोख्रेल २०४२—२०५१) असार १ गते सम्म आँधीमूल वाराही मन्दिरको पूजारीको रुपमा काम गरेको थिए । २०५१ सालदेखि रामकाजी मास्की मगरलाई चयन गरिएको थियो । अफ्नो कार्यव्यस्तताका कारण युवराज मास्कीलाई पूजारीको रुपमा राखिएकोमा उहाँकै समयमा मन्दिर परिशरमा असामन्य देखिंदै गएको महसुस भएको हुनाले पुनः रामकाजी मास्कीलाई पुनः रामकाजी मास्की मगरलाई नै जिम्मेवारी सुम्पिएकोमा आफ्नो जिम्मेवारी पूर्णत बहन गर्दै आएका छन् । यहाँका पूजारीहरुले याम्पाकै अधिकारी ब्राह्मणले वि.सं. १९४२ साल तिरै राखिदिएका गुठी जग्गाको आयस्ताबाट जीवन निर्वाह हुने गर्दथ्यो । यहाँका याञ्चोक, कल्चोक र रानागाउँका मगरहरु जम्मा भई पुजारीको खेतबारीको रोपाई हुँदा मकै लगाउँदा, खेतीपाती गोडमेल गर्दा र बाली थन्काउने बेलामा सबैजना सघाउ जाने प्रचलन रहेको थियो । आजकल बलिको शिरप्रसाद पूजारीलाई नै पाउने रीतिस्थिति बाँधी बाली लगाउँदा, गोडमेल गर्दा तथा थन्काउँदा दिइने सघाउ प्रथा हटाउँदै लगियो । हाल सघाउ जाने परम्परा पूर्णत हट्दै गएकोे छ ।
मन्दिर निर्माणका क्रमहरु
वि.सं. २०३५ साल तिर त्यहीको पाकुली परियारले आफ्नै नीजि खर्चमा ढुङ्गा र माटोको गाह्रो लगाएर खरले छाना छाएर वाराहीमाईको मन्दिर बनाइ दिइन । स्थानीय ब्राह्मणहरुलाई बोलाई साइत हेराइ मूर्तिको प्राणप्रतिष्ठा गरी नयाँ मन्दिरबाट पूजाआजाको सुरुवात गरियो । नयाँ मन्दिरमा पूजाआजा हुन थालेपछि सबैमा फलिफाप र राम्रो हुँदै गयो । हाल पनि त्यही मन्दिरमा पूजाआजा हुँदै आएको छ । वि.सं. २०४८ सालमा जिल्ला विकास समिति तनहुँको ३०,०००।- र स्थानीय जनताको रु २८,०००।- समेत ५८,०००।- बराबरको लागतमा स्याउले आडको सट्टामा सिमेण्टको गाहो लगाएर आँधीमूललाई आकर्षक दह बनाउँदै याञ्चोकका ब्रिटिस आर्मीका पूर्व गोरखा मेजर नरबहादुर थापाले २२ वाटा धाराहरु बनाइ दिएर आँवुवाराहीमाई मन्दिर क्षेत्रलाई थप शोभायमान बनाइ दिएका थिए ।
आँधीमूल समितिका अध्यक्ष इन्दबहादुर माश्कीको सक्रियतामा रु ५२००।- को लागतमा अँधीमूल प्रवेशद्वार बनाइयो । यसैगरी विष्णुबहादुर अधिकारीले आफ्नी पूपु दूर्गादेवीको नाममा गोलो आकारको पाटी बनाइ दिए भने २०६८ सालमा आँबु गाउँपालिकाको रु ३०,०००।- को सहयोग र स्थानीय जनताको १८,३००।- को जनश्रमदान समेत कुल रु ३८,३००।- को लागतमा फूलवारी बगैंचा निर्माण गरिएको पाउँदछौं । वि.सं.२०७४⁄०७५ मा मास्की मगरले पुरानो मन्दिर भन्दा केही माथि अर्को ठूलो मन्दिर बनाए । मन्दिर बने पछि सानो मन्दिरमा रहेको शिलालाई नयाँ मन्दिरमा सारियो । अहिले आँधीवाराही मन्दिरमा तीनवटा मन्दिर रहेका छन् । शुभसाइत नहेराइ प्राणप्रतिष्ठा विधि नअप्नाइ नयाँमन्दिरमा शिला सारिएकोले भक्तहरुलाई राम्रो हुनको सट्टामा गाउँघरमा घच्चामच्चा बढदै गयो । दिन प्रतिदिन अशुभका समाचारहरु बढदै गए । अहिले त तलाउका ९० प्रतिशत भन्दा बढी माछाहरु मरेर सखाप भए । आफुले देवी देवताको रुपमा मान्दै आएको आँधीमूल वाराही माता माथि परेको बज्रपात आफ्ै माथि परेको सम्झिए ।
वाराही मन्दिरका माछामा अगाध आस्था र हाम्रो बिश्वास
हाइड्रोजन दुइभाग र अक्सीजन एक भागको योैगिकले पानी बन्दछ । पानी जलचर थलचर दुवैप्राणीको जीवनको मूलस्तम्भ हो । पानी विना जीवन असम्भव नै देखिन्छ । पृथ्वीमा जलचर र थलचर प्राणीहरु रहेका छन् । जलचर प्राणीमा माछा पनि एउटा जलचर प्राणी हो । माछा पानीमै जन्मन्छ र जीवनको विसर्जन पनि पानी मै हुने गर्दछ । कहिलेकांही सिकारीहरुको कारणले माछाको अकालमै जीवन समाप्त हुने गर्दछ । नेपालमा लगभग २५२ प्रजातिका माछाहरु भेटिन्छन् । यस वर्ष आँधीमूलमा खुबै माछा मरे । माछा धेरै मर्न थाले पछि यहाँका सबै मानिसहरु चिन्तित बनेका छन् । आस्थाको धरोहर मानिएको र पर्यटनका दृष्टिले प्रमुख आकर्षणका रुपमा देखिएका माछाहरु के कारणले मरे भन्ने विषयमा निकै छलफल र चिन्तन नभएका होइनन् । यस्को वास्तविकता थाहा पाउनकोलाई विभिन्न दृष्टिकोणबाट अध्ययन गर्ने जमर्कोहरु पनि गरिए । बैज्ञानिक कारणदेखि परम्परागत रुढीवादिताहरुले पनि प्रश्रय पाए । पानीमा माछा धेरै भएका कारण अक्सीजन कमी हुन गइ माछा मरे भन्ने मत पनि देखियो । कसैले माछाहरुलाई समयमा दाना नराखिएकाले आहाराको अभावमा माछा मरेका हुन् भन्ने कुरा पनि दर्शाए भने कसैले परम्परादेखि पूजाआजा गरेको मन्दिरबाट भगवतीको शिला नयाँ मन्दिरमा स्थान्तरण गर्दा अशुभ भई माछा मरेका हुन की भन्ने परम्परागत जनविश्वास पनि प्रकट भए । पोखरीका माछा दिनदिनै मर्न थाले पछि माछा मर्नुका कारण जाँच्ने निर्णय भयो । जिल्ला भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख राजेश चौधरी, जन प्रतिनिधिका साथ गाउँपालिका अध्यक्ष एवं सर्वसाधारण जनताहरु पनि घटनास्थल पुगेर रिपोर्ट लिइएकोे र सो को रिपार्ट जाँच गर्नका लागि पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखरामा पठाइएको थियो ।
साधरणतया पानीमा ० देखि १४ पि.एचसम्म अम्लियपन हुने गर्दछ । ७ पि.एच सम्मको पानीमा पाइने अम्लियपन साधरण अवस्था मानिन्छ । सो भन्दा माथि बढदै गएमा माछाको जीवन अम्लीय पन प्रतिकुल रहने गर्दछ । आँधीमूलको पोखरीमा रहेको पानीमा अम्लीय पन ७ देखि ७.५ प्रतिसत मात्र हुनु पर्नेमा ९.५ प्रतिसत अम्लीयपन देखिएकाले पनि माछाको लागि प्रतिकुल वातावरण देखिएकाले माछा मरेका हुन भन्ने प्रविधिक प्रतिवेदन पनि रह्यो । यसका साथै पोखरीको पानीमा इकोली जीवाणु फेला परेकोले पनि माछा मरेका कुरा पशपंक्षी रोग अन्वेषण प्रयोगशाला पोखराको प्रतिवेदनले पुष्टी गरेको पाइन्छ
आँधीमूल वाराही मन्दिरको आडैमा रहेको पानीको दह बनाउन लगाइएको पुरानो गाह्रोलाई भत्काई नयाँ गाह्रो लगाउने काम हुन गयो । निरन्तर पानी बगिरहने हुनाले सिमेण्ट छिटो सेट होस भनेर केमिकल राखिएको थियो । त्यही बेला पहरामा रहेका प्वालहरु पनि सिमेण्ट छिटो सेट होस भनेर पर्खाल निमांणको क्रममा केमिकलको प्रयोग गर्ने काम भएको पाइयो । रसायनिक बस्तुको प्रयोग गरी माछा बास बस्ने ढाँड युक्त बासस्थल टाल्ने काम पनि भएकाले पनि माछा मरेका हुन सक्ने कुरा याञ्चोकका रामचन्द्र अधिकारीले हामीलाई बताए ।
“आँबुवाराही मन्दिर आसपासमा केही अवाञ्छित तत्वहरुले परम्परागत आस्थामा अनास्था बढाउने ध्येयले असमयमा मन्दिरमा पूजाआजा र अन्य कृयाकलापको बारेमा आफु अज्ञात रहेको कुरा याञ्चोक निवासी रमेश थापाले बताए ।यस मन्दिरको पोखरीमा रहेका माछाहरु भने सतगत गरी तेह्रदिन काजक्रिया गर्ने परम्परा रहेको छ । यहाँका पुजारीले परम्परागत चलनलाई सहजताका साथ अन्त्येष्टि क्रिया पनि सम्पन्न गरेका छन् । भन्ने कुरा बन्दिपुर १ का सुकबहादुर आले र सत्रसयका मुकुन्द अधिकारीसंगको टेलीफोन वार्ताबाट थाहा हुन आएको होे । आँधीमूल वाराहीमाईको जलकुण्डमा माछा मर्ने क्रम नरोकिए पछि आँधीमूल संरक्षण समिति, जनप्रतिनिधि र स्थानीय निवासीको संयुक्त भेलाको निर्णयानुसार बोकाको बलि दिइ आँधीमूल वाराहीमाईको क्षमापूजा पनि गरी सकेको बुझियो ।
अन्त्यमा, धार्मिक आस्था र पर्यटनको धरोहरको रुपमा स्थापित हुँदै आएको आंधीमूल वाराही मन्दिरको समस्या समाधान गर्नमा हामी सबैको ध्यान पुगोस । अब आयन्दा यस मन्दिर परिसरमा नयाँ घटनाहरु नदोहोरिउन भनेर सचेत बन्नु पर्ने हामी सबैको साझा कर्तव्य हो भनी महसुस गरौं । अस्तु ।










