व्यवसाय रक्षा कोष कार्यान्वयनमा आउने
- भञ्ज्याङ समाचारदाता (पोखरा)
गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोरोनाका कारण प्रभावित उद्योग, पर्यटन लगायतका क्षेत्रमा पारेको असरलाई दृष्टिगत गर्दै प्रदेश सरकारले व्यवसाय रक्षा कोष चाँडै नै कार्यान्वयनमा ल्याउने बताएका छन् । रेष्टुराँ तथा बार एशोसिएशन (रेवान) पोखराद्धारा अंग्रेजी नयाँ वर्षो अवसरमा लेकसाइडमा आयोजित ‘२२ औँ संस्करणको पोखरा सडक महोत्सव’ को बुधबार उद्घाटन गर्दै उनले कोरोनाले तहसनहस पारेका सबै किसिमका उद्योग तथा व्यवसाय पुनःउत्थानका लागि रु एक अर्बको कोष स्थापना गरिएको बताए ।
सबै किसिमका व्यवसायलाई समेटने गरी कोषको लगानी अनुसारको समानुपातिक वितरण गरिने बताउँदै उनले यसले कोरोना प्रभावित व्यवसायलाई पुनर्जीवन प्रदान गर्ने र पुरानै अवस्थिामा फर्काउन सहयोग गर्ने बताएका छन् । पोखराको पर्यटनमा कोरोनाले नराम्रोसँग प्रभाव पारेको बताउँदै मुख्यमन्त्री गुरुङले सडक यहाँले पर्यटन प्रवर्द्धनमा सडक महोत्सवले सकारात्मक सन्देश प्रभाव गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रदेशको राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवाताल किनारास्थित रत्नमन्दिर र हिमागृह खुल्ला गरेर आन्तरिक एवं बाहृय पर्यटक प्रवर्द्धनमा केही हदसम्म भए पनि सहयोग पुग्ने विश्वास व्यक्त गर्दै मुख्यमन्त्री गुरुङले यसका लागि सबैको साथ र सहयोगको आवश्यकता औल्याएका छन् । कोरोना भाइरसको उपचार र नियन्त्रणमा गण्डकी प्रदेश पहिलो रहेको जिकिर गर्दै उनले कोरोना भाइरसबाट डराएर होइन विश्व स्वास्थ संगठनका मापदण्डको पूर्णरुपमा पालना गरेर आर्थिक गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् । सरकारले विकास निर्माणलाई भन्दा जनताको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताउँदै उहाँले यसले केही हतसम्म भए पनि मुलुक स्वास्थ्य क्षेत्रमा आत्मनिर्भर हुने विश्वास व्यक्त गरेका छन् । उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले प्रकृति एवं सहासिक पर्यटकको गन्तव्य पोखरालाई पर्यटनको हवका रुपमा विकास गरी समृद्धि हासिल गर्न प्रदेश सरकारले पूर्वाधार विकास निर्माणमा आवश्यक लगानी गर्दै आएको बताए ।
पोखरा महानागरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरा र आसपासको पर्यटन प्रवर्द्धनका लागि आवश्यक गुरुयोजना तयार गरिरहेको जानकारी दिँदै त्यसका लागि सबैको साथ र सहयोग आवश्यक हुनेमा जोड दिए ।
रेष्टुराँ तथा बार एशोसिएशन -रेवान) का केन्द्रीय अध्यक्ष अरनिको राजभण्डारीले सरकारले लागू गरेको मौद्रिक नीतिले ठूला व्यवसायीलाई मात्र नभई मझौला र साना व्यवसायीलाई पनि समेट्नुपर्ने आवश्यकता औल्याएका छन् । ‘समृद्ध समाजको लागि सुरक्षित पर्यटन प्रवर्द्धन आजको आवश्यकता’ भन्ने मूल नाराका साथ आयोजित सडक महोत्सव यही पुस १७ गतेसम्म सञ्चालन गरिने रेवानका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । विगत वर्षहरुमा महोत्सव एक हप्तासम्म सञ्चालन हुँदै आएको थियो । हल्लनचोकबाट महोत्सव सफल पारौँ भन्ने सन्देश दिने खालका पर्यटन व्यवसायी, आमा समूहद्वारा प्रस्तुत विभिन्न सांस्कृतिक कार्यक्रम एवं झाँकीसहितको र्याली पर्यटकीय क्षेत्र लेकसाइडको अम्बोटमा आएर सभामा परिणत भएको थियो । कार्यक्रममा गुरुङ, थारु समुदायका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।










