सीपमार्फत महिला सशक्तीकरणको अभियान : तनहुँमा पाँचदिने सिलाई मेसिन मर्मत तालिम सुरु

महिलालाई सीपसँग जोडेर आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ तनहुँमा पाँचदिने सिलाई मेसिन मर्मत तालिम सुरु भएको छ। व्यावहारिक सीपले रोजगारी र उद्यमशीलताको ढोका खोल्ने विश्वासका साथ सञ्चालन गरिएको तालिमले सहभागी महिलालाई आत्मनिर्भर बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय महिला उद्यमी समिति गण्डकी प्रदेशको मूल व्यवस्थापन तथा राष्ट्रिय महिला उद्यमी समिति तनहुँ जिल्ला समितिको प्राविधिक सहयोगमा सञ्चालित तालिमको शुक्रबार व्यास नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपानेले उद्घाटन गर्नुभयो।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख न्यौपानेले महिलाको आर्थिक सशक्तीकरणका लागि सीपमूलक तालिम अपरिहार्य रहेको बताउनुभयो। उहाँले स्थानीय सरकारले उत्पादन, स्वरोजगार र महिला उद्यमशीलतालाई प्राथमिकतामा राख्दै यस्ता कार्यक्रमलाई निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले भन्नुभयो, “सीप भनेको व्यक्तिको जीवन परिवर्तन गर्ने सबैभन्दा ठूलो सम्पत्ति हो। महिलाले सीप हासिल गरेर आत्मनिर्भर बने भने त्यसको सकारात्मक प्रभाव परिवार, समाज र समग्र राष्ट्रको समृद्धिमा देखिन्छ। त्यसैले यस्ता तालिम समयको आवश्यकता हुन्।”
नेपाल कपडा तथा सिलाई व्यवसायी तनहुँ जिल्ला संघका अध्यक्ष राजेन्द्र परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि, विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्यमी तथा सरोकारवालाको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय महिला उद्यमी समिति गण्डकी प्रदेशकी संयोजक ममता बस्यालले सीप नै आत्मनिर्भरताको पहिलो पाइला भएको उल्लेख गर्दै तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतारी स्वरोजगार र उद्यम विकासतर्फ अघि बढ्न सहभागीलाई आग्रह गर्नुभयो।

पाँच दिनसम्म सञ्चालन हुने तालिममा सिलाई मेसिनको संरचना, मर्मत, सामान्य प्राविधिक समस्या पहिचान तथा समाधानका विषयमा व्यावहारिक प्रशिक्षण प्रदान गरिनेछ। तालिमपछि सहभागीहरूले आफ्नै व्यवसाय सञ्चालन गर्न तथा सेवा प्रदान गरी आयआर्जन गर्न सक्ने विश्वास आयोजकले लिएको छ।
“महिलाको हातमा सीप, परिवारमा आत्मनिर्भरता; आत्मनिर्भर परिवारबाटै समृद्ध समाज र समुन्नत राष्ट्रको निर्माण सम्भव हुन्छ” भन्ने मूल सन्देशसहित सुरु भएको यो तालिमले तनहुँमा महिला उद्यमशीलता प्रवर्द्धनमा नयाँ ऊर्जा थप्ने अपेक्षा गरिएको छ।










