तनहुँको शुक्लागण्डकी १२ मा वडाध्यक्ष कप भलिबल प्रतियोगिता गरिने
भञ्ज्याङ न्यूज

तनहुँको शुक्लागण्डकी-१२, बराहडाँडामा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता हुने भएको छ। बर्षोनी आयोजना हुने २८ बजार मेलाको अवसर पारी युवा खेलकुद विकास समिति फिरफिरेको आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा प्रतियोगिता गर्न लागिएको हो ।
यही पुस २४ गतेदेखि प्रतियोगिता सञ्चालन गरिने युवा खेलकुद विकास समिति वडा नं. १२ का अध्यक्ष टुकबहादुर गुरुङले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा शुक्लागण्डकीका १२ वडाबाट १२ समुह सहभागी गराइने छ । प्रतियोगिताको विजेताले नगद ६० हजार, द्धितीय हुनेले ३० हजार र तृतीयले १५ हजार रुपैयाँ नगदका साथमा ट्रफि, मेडल र प्रमाणपत्रद्वारा पुरस्कृति गरिने भएको छ ।
कोरोनाका कारण लामो समयदेखि खेल गतिविधि पनि प्रभावित भएकाले खेल तथा खेलाडीहरुलाई पुनः सक्रिय बनाउने र नगरपालिकाको एउटा मजबुत टिम बनाउन खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता गर्न लागिएको वडाध्यक्ष मनराज गुरुङले बताए । खेलकुदबाट नगरको पहिचान बढाउन सबै भन्दा पहिले दक्ष खेलाडी उत्पादन गर्न आवश्यक रहेको र त्यसका लागि खेल गतिविधि संचालन गरिरहनुपर्ने वडाध्यक्ष गुरुङको भनाई छ ।
यस्तै, अन्य स्थानीय तहमा मेयर तथा अध्यक्ष कप लगायत विभिन्न विद्यामा प्रतियोगिताहरु भइरहदा शुक्लागण्डकी नगरपालिकामा भने खेलकुद समिति गठनसम्म हुन सकेको छैन । तर वडा नं. १२ ले भने खेलकुदलाई पनि साँस्कृतिक र प्राकृतिक पर्यटनसंग जोड्दै वडाको पर्यटन प्रवर्द्धन गर्ने तथा दक्ष खेलाडी उत्पादन गर्ने उद्देश्यले युवा खेलकुद विकास समिति गठन गरेको छ ।
समिति गठन भएपछि भलिबलतर्फनगरमै पहिलो पटक वडाध्यक्ष कप प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिता सम्पन्न गर्न वडा कार्यालयले १ लाख ५० हजार बजेट विनियोजन गरेको छ भने स्थानीय वडावासीसंग समेत सहकार्य गरेर आवश्यक अन्य रकम जुटाउने अध्यक्ष गुरुङले बताए ।
उक्त प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । सो अवसरमा ३५ बर्षाथिको भेट्रान्स भलिबल प्रतियोगिता समेत गरिने बताइएको छ ।










