‘युवा पत्रकारिता पुरस्कार’ बाट रसाइली र विक पुरस्कृत

तनहुँ समाज हङकङले नेपाल पत्रकार महासंघ तनहुँमा स्थापना गरेको ‘युवा पत्रकारिता पुरस्कार’बाट तनहुँका दुई पत्रकार पुरस्कृत भएका छन् । महासंघ तनहुँले विहीबार दमौलीमा आयोजना गरेको एक कार्यक्रमका बीच भञ्ज्याङन्यूजकी सम्पादक एवं कान्तिपुरकर्मी सम्झना रसाइली र नेपाल पत्रकार महासंघ तनहुँको कोषाध्यक्ष पूर्ण वि.क.लाई सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ तनहुँ शाखामा तनहुँ समाज हङकङले स्थापना गरेको उक्त पुरस्कारबाट रसाइली र बि.क.लाई दोसल्ला, प्रमाणपत्र र जनही १० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरिएको पत्रकार महासंघ तनहुँका सचिव कृष्ण न्यौपानेले जानकारी गराए ।
यस्तै, पत्रकारिताको माध्यमबाट समाजमा योगदान पु¥याउने युवा पत्रकारलाई प्रोत्साहन स्वारुप पुरस्कृत गरिएको तनहुँ समाज हङकङका पूर्वअध्यक्ष भीमराज गुरुङले बताए । समाजले जिल्लामा शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्र तथा विपदमा परेकाहरुलाई आर्थिक सहयोग गर्दै आएको पूर्व अध्यक्ष गुरुङले जानकारी गराए ।
उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष धनपति अधिकारी, नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष उज्ज्वल पौडेल, संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारी, पूर्वअध्यक्षहरू प्रदीप काफ्ले, ओमकार आचार्य र डम्मर अधिकारी लगायतले उक्त पुरस्कारले पत्रकारिता क्षेत्रमा क्रियाशिल भई कलम चलाउन थप प्रेरणा दिने बताए ।
तनहुँ समाज हङकङ करिब तीन दशक अघि स्थापना भएको संस्था हो । प्रवासमा रहेका तनहुँवासीबीच आपसी सहयोग र सहकार्यको भावना अभिवृद्धि गर्ने उद्देश्यले स्थापित यस संस्थाले विगत १६ वर्षदेखि तनहुँ जिल्लाका विभिन्न स्थानमा सामाजिक सेवा गर्दै आएको छ ।
समाजले विभिन्न रोगबाट पीडित व्यक्तिहरूलाई आर्थिक सहयोग प्रदान गर्नुका साथै जिल्लाको शिक्षा, स्वास्थ्य, खानेपानी तथा सञ्चारसम्बन्धी पूर्वाधार विकासमा सहयोग पु¥याउँदै आएको छ । साथै विभिन्न विपतका बेला पीडितलाई राहत तथा सहयोग उपलब्ध पनि गराउँदै आएको छ ।










