पुरातात्विक महत्वको भीमादको साङ्ले झोलुङ्गे पुल

देव बस्न्यात

नेपालमा झोलुङ्गे पुल निर्माणको इतिहास त्यति लामो देखिँदैन । त्यसमा पनि नेपाली प्रविधि र मौलिक डिजाइनमा निर्माण गरिएका झोलुङ्गे पुल निकै कम छन् । नेपालकै स्थानीय फलाम खानीबाट काँचो फलाम निकालेर यहाँका आरनमा काम गर्ने कालीगढले आफ्नै सीप र कौशल प्रयोग गरी फलामका साङ्ला निर्माण गरेर झोलुङ्गे पुल बनाउने गरेको इतिहास पाइन्छ । यसअघि नदी तथा खोलानाला वारपार गर्न रूखका बाक्ला फलेक राखेर बनाइएका फड्के, बाबियोका डोरी र बाँसका अस्थायी पुल प्रयोग गरिन्थ्यो । कतिपय स्थानमा माझीहरूले सिमलीका डुङ्गा बनाएर नदी वारपार गराउने परम्परा पनि थियो । सानाठूला नदी तथा खोलानाला सहज रूपमा तर्न कठिन हुने भएपछि नदीमाथि फलामका लट्ठा प्रयोग गरेर झोलुङ्गे पुल निर्माण गर्ने प्रचलन सुरु भएको देखिन्छ ।
नेपालको सन्दर्भमा आधुनिक झोलुङ्गे पुल निर्माणको सुरुआत राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालादेखि भएको प्रमाण भेटिन्छ। वि.सं. १९६० को आसपास नेपाल सरकार र स्कटल्यान्डको लुइस हार्मर कम्पनीको सहकार्यमा झोलुङ्गे पुल निर्माण अभियान सुरु भएको पाइन्छ। वि.सं. १९६४ मा सुनकोशी नदी, काठमाडौँको चोभार, लमजुङ र तनहुँको सिमाना तार्कुघाट तथा धादिङको आँखुखोलामा जोन एम.एस. हेन्डरसन कम्पनीले पुल निर्माण गरेको उल्लेख छ । त्यसैगरी, वि.सं. १९८५ मा जाजरकोटको मटेला र रुकुमको चौरजहारीको सिमानामा बग्ने भेरी नदीमाथि पनि पुल निर्माण भएको इतिहास पाइन्छ ।
त्यतिबेला नेपालमा प्रयोग गरिएका पुलका सामग्री स्कटल्यान्डको एडिनबर्ग सहरमा निर्माण भएका थिए भन्ने कुरा पुलमा अंकित अभिलेखले पुष्टि गर्छन् । हालसम्म नेपालका साना–ठूला नदी तथा खोलामा हजारौं झोलुङ्गे पुल निर्माण भइसकेका छन् । कतिपय पुल निर्माणाधीन तथा प्रस्तावित अवस्थामा छन् । सडक सञ्जालको विस्तार र स्तरोन्नतिसँगै ग्रामीण पदमार्गमा निर्माण गरिएका धेरै पुराना झोलुङ्गे पुल भने प्रयोगविहीन भई बेवारिसे अवस्थामा पुगेका छन् ।

भीमाद बजारको ऐतिहासिक साङ्ले झोलुङ्गे पुल

नेपालमा आफ्नै प्रविधि र सीप प्रयोग गरी निर्माण गरिएका झोलुङ्गे पुलको इतिहास पनि उल्लेखनीय छ । गलकोटका स्वर्गीय लालप्रसाद शेरचनले म्याग्दीको बेनी–मंगलघाटमा निर्माण गरेको झोलुङ्गे पुल, बागलुङको दरमखोलामा गलकोटका राजा भरतबम मल्लले बनाएको साङ्ले पुल, नरेठाँटी तथा हटिया आसपासका खोलामा निर्माण गरिएका पुल यसका उदाहरण हुन्। तनहुँको सेती नदीमाथि मनपाङका श्रीकृष्ण शाही र ढुण्डीराज शाहीले निर्माण गरेका साङ्ले झोलुङ्गे पुलमा पनि नेपाली मौलिक प्रविधि र सीपको प्रयोग भएको पाइन्छ । शिलालेखमा भीमादको झोलुङ्गे पुल निर्माण मिति वि.सं. १७७८ उल्लेख भएता पनि साङ्ले झोलुङ्गे पुल वि.सं १९७५  बनेको  कुरा ईतिहासकार बताउँछन् ।
तनहुँको भीमादमा रहेको साङ्ले झोलुङ्गे पुल पनि यस्तै मौलिक प्रविधि र ऐतिहासिक महत्त्व बोकेको सम्पदा हो । उक्त पुल निर्माणका लागि तत्कालीन राजा श्री ५ सुरेन्द्र र श्री ३ महाराज जङ्गबहादुर राणाले गुठी स्थापना गरिदिएको कुरा पुलको छेउमा राखिएको शिलालेखमा उल्लेख छ । त्यतिबेला श्रीकृष्ण शाही र ढुण्डीराज शाहीले पुल निर्माण, शंकरेश्वर महादेव, नारायण मन्दिर, भगवती मन्दिर र शिवजी मन्दिरको दैनिक पूजाआजा तथा पुलको मर्मतसम्भारका लागि गुठी जग्गा स्थापना गरेका थिए ।
गुठीबाट प्राप्त आम्दानीको उपयोग गरी शाही परिवारले पुल निर्माण तथा मर्मतसम्भारको व्यवस्था मिलाएका थिए। ढोरफिर्दीस्थित मिनाम फलाम खानीबाट निकालिएको काँचो फलाम स्थानीय आरनमा काम गर्ने कालीगढले आफ्नै हात र परम्परागत औजार प्रयोग गरी कुटेर साङ्ला बनाएका थिए । ती साङ्लालाई एकआपसमा जोडेर पुलका लट्ठा तयार गरिएको थियो । बाबियोको डोरीबाट बनाइने लट्ठाभन्दा फरक फलामका साङ्ला जोडेर निर्माण गरिएकाले यसलाई साङ्ले झोलुङ्गे पुल भनिएको हो। स्थानीय कालीगढको सीप, श्रम र प्रविधिको उत्कृष्ट नमुना मान्न सकिने यो पुल नेपालको मौलिक निर्माण परम्पराको महत्त्वपूर्ण प्रमाण हो ।
तर, पछिल्लो समय सडक सञ्जाल विस्तार भई मोटरेबल पुल निर्माण भएपछि भीमादको यो ऐतिहासिक पुल ओझेलमा परेको छ । अहिले पुलका फलामे साङ्ला कमजोर हुँदै गएका छन् भने आवतजावतका लागि बिछ्याइएका काठका फल्याक कुहिएर जीर्ण भएका छन् । असुरक्षित अवस्थाका कारण मानिसहरू यसबाट आवतजावत गर्दैनन् । संरक्षणको अभावमा नेपालको आफ्नै प्रविधि र स्थानीय कालीगढको सीपबाट निर्माण भएको यो सम्पदा क्रमशः नष्ट हुने जोखिममा छ ।
विदेशी प्रविधि नेपालमा भित्रिनुअघि नै नेपाली शिल्पकारले आफ्नै सीप र प्रविधिबाट निर्माण गरेको यस पुलको संरक्षण गर्नु तनहुँवासीका लागि गौरव र दायित्व दुवै हो । तर, यसको संरक्षणमा सम्बन्धित सरकारी निकायको उदासीनता देखिनु दुःखद पक्ष हो । पुरातत्त्व विभाग, गण्डकी प्रदेश सरकार, भीमाद नगरपालिका र म्याग्दे गाउँपालिकाले यसप्रति पर्याप्त चासो नदेखाउनु विडम्बनापूर्ण छ ।
पुलको संरक्षणका लागि भीमाद नगरपालिकाले बजेट विनियोजन गरेको चर्चा भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । पर्यटन प्रवर्द्धनका लागि भीमाद नगरपालिकाले ३० लाख र गण्डकी प्रदेश सरकारले ११ लाख रुपैयाँ विनियोजन गरेका थिए । तर, पुरातात्त्विक महत्त्वको संरचना भएकाले यसको मौलिक स्वरूप र प्रविधि नबिगारी मर्मत गर्नुपर्ने चुनौती थियो । तत्कालीन नगरप्रमुख मेखबहादुर थापाले आफ्नो कार्यकालमा संरक्षणका लागि प्रयास गरे पनि यस प्रकृतिको सम्पदाको मर्मतसम्भार गर्न आवश्यक स्थानीय विषयविज्ञ र प्राविधिक जनशक्तिको अभावका कारण काम अघि बढाउन नसकिएको बताएका थिए । यसै विषयमा २०७७ चैत २० गते भञ्ज्याङ राष्ट्रिय दैनिकमा समाचारसमेत प्रकाशित भएको थियो । बजेट विनियोजन भएर पनि काम हुन नसक्नु सम्पदा संरक्षणको दृष्टिले गम्भीर विषय हो ।
भीमादका वर्तमान जनप्रतिनिधि, म्याग्दे गाउँपालिकाका अध्यक्ष तथा प्रदेश र संघीय तहका जनप्रतिनिधिले पनि यस विषयमा आवश्यक पहल गर्न सकेका छैनन्। यस क्षेत्रबाट निर्वाचित भएर विभिन्न समयमा सांसद तथा मन्त्री बनेका जनप्रतिनिधिको ध्यानसमेत यस ऐतिहासिक सम्पदातर्फ पर्याप्त रूपमा जान नसक्नु दुःखद हो । आफ्नो क्षेत्रको इतिहास, संस्कृति र पहिचान बोकेको सम्पदा संरक्षणमा जनप्रतिनिधिको चासो र सक्रियता अपेक्षित हुन्छ । ऐतिहासिक सम्पदाको महत्त्व बुझ्न नसक्दा अमूल्य सम्पत्ति क्रमशः नष्ट हुँदै जानु कुनै पनि समाजका लागि गौरवको विषय हुन सक्दैन ।
बागलुङको गलकोटमा दरमखोलामाथि राजा भरतबम मल्लले निर्माण गरेको पुललाई ‘राजाको पुल’ भनेर चिनिन्छ । गलकोट नगरपालिका बागलुङले उक्त पुलको संरक्षणका लागि स्थानीय सीप र परम्परागत प्रविधिमा दक्ष कालीगढको प्रयोग गरी करिब १५–१६ लाख रुपैयाँको लागतमा पुनर्निर्माण गरेको समाचार सार्वजनिक भएको छ । त्यहाँ स्थानीय प्रविधि र सीपलाई प्राथमिकता दिएर सम्पदाको संरक्षण गर्न सकिन्छ भने भीमादको ऐतिहासिक पुलको संरक्षण गर्न नसकिने कारण छैन। यसका लागि इच्छाशक्ति, प्राविधिक अध्ययन र सम्बन्धित निकायबीचको समन्वय आवश्यक छ ।

पर्यटन प्रवर्द्धनका लागि खोलाबाहिर पनि झोलुङ्गे पुल

पहिले नदी तथा खोलाले छुट्याएका बस्तीलाई जोड्न झोलुङ्गे पुल निर्माण गरिन्थ्यो । तर, अहिले यसको उपयोगिता आवागमनमा मात्र सीमित छैन । पर्यटकीय आकर्षण बढाउन र दुई स्थानबीचको दूरी कम भएको अनुभूति गराउन जमिनमाथि पनि आकाशे झोलुङ्गे पुल निर्माण गर्ने प्रचलन बढेको छ ।
ओखलढुङ्गा र रुकुम पश्चिमको मुसिकोटलगायत स्थानमा पर्यटकीय आकर्षणका रूपमा यस्ता पुल निर्माण भएका छन् । यसले झोलुङ्गे पुललाई केवल आवागमनको साधनका रूपमा मात्र नभई पर्यटन प्रवद्र्धनको माध्यमका रूपमा समेत विकास गर्न सकिने सम्भावना देखाएको छ । भीमादको ऐतिहासिक साङ्ले पुलको मौलिक स्वरूप संरक्षण गर्न सके यसलाई पनि ऐतिहासिक तथा सांस्कृतिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिन्छ ।

सम्पदा संरक्षणमा अब ढिलाइ नगरौँ

सडक सञ्जाल विस्तारसँगै प्रयोगविहीन बनेका सबै पुराना झोलुङ्गे पुलको संरक्षण एउटै ढङ्गले गर्न आवश्यक छैन । आवागमनका लागि आवश्यक रहेका पुललाई उपयुक्त स्थानमा स्थानान्तरण गरेर प्रयोगमा ल्याउन सकिन्छ । तर, ऐतिहासिक तथा पुरातात्त्विक महत्त्व बोकेका पुललाई भने मौलिक स्थानमै संरक्षण र जीर्णोद्धार गर्नुपर्छ । यस्ता सम्पदाको संरक्षण गर्दा त्यसको निर्माण प्रविधि, सामग्री, स्वरूप र ऐतिहासिक पहिचानलाई यथावत् राख्नु अनिवार्य हुन्छ ।
भीमादको साङ्ले झोलुङ्गे पुल केवल नदी वारपार गर्ने संरचना होइन । यो नेपाली कालीगढको सीप, स्थानीय फलाम खानीको उपयोग, परम्परागत प्रविधि, गुठी व्यवस्था र तत्कालीन सामाजिक संरचनाको ऐतिहासिक दस्तावेज पनि हो। यसको संरक्षण गर्नु भनेको एउटा पुरानो पुल जोगाउनु मात्र नभई हाम्रा पुर्खाले विकास गरेको प्रविधि, श्रम र सिर्जनशीलताको इतिहास सुरक्षित गर्नु हो ।
त्यसैले नेपाल सरकारको पुरातत्त्व विभागले तत्काल प्राविधिक तथा पुरातात्त्विक अध्ययन गरी पुलको मौलिक स्वरूप संरक्षण हुने गरी जीर्णोद्धारको योजना बनाउनुपर्छ । आवश्यक डिजाइन, लागत अनुमान र प्राविधिक मापदण्ड तयार गरी काम अघि बढाउनुपर्छ । गण्डकी प्रदेश सरकार, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका र स्थानीय समुदायले पनि यसमा सहकार्य गर्नुपर्छ । यसका लागि बजेट विनियोजन मात्र पर्याप्त हुँदैन, विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन पनि उत्तिकै आवश्यक छ ।
ऐतिहासिक सम्पदाको संरक्षण सरकारको मात्र जिम्मेवारी ठानेर पर्खिरहनु पनि उचित हुँदैन । स्थानीय नागरिक, सामाजिक संघसंस्था, इतिहास तथा पुरातत्त्वका अध्येता र सरोकारवाला सबैले संरक्षण अभियानमा हातेमालो गर्नुपर्छ । समयमै संरक्षणको पहल गर्न नसके भीमादको यो ऐतिहासिक साङ्ले पुल इतिहासका पानामा मात्र सीमित हुन सक्छ । त्यसैले हाम्रो आँगनमा रहेको यो अमूल्य सम्पदालाई भावी पुस्ताले पनि प्रत्यक्ष देख्न र यसको इतिहास बुझ्न पाउने गरी जोगाउनु आजको आवश्यकता हो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker