ऋषिङमा स्वास्थ्य सेवा : आधारभूत पहुँच बढ्दै, अस्पताल र पूर्वाधार अभाव

उपचारबाट वञ्चित नागरिकलाई सेवा दिनु हाम्रो प्राथमिकता : गाउँपालिका अध्यक्ष श्रेष्ठ

राजेन्द्रकृष्ण श्रेष्ठ
अध्यक्ष : ऋषिङ गाउँपालिका
ऋषिङ गाउँपालिकाले पछिल्लो समय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न आक्रामक रूपमा कार्यक्रम सञ्चालन गरेको छ । घरदैलो स्वास्थ्य सेवा, लक्षित रोगअनुसारका निःशुल्क शिविर र पूर्वाधार निर्माणमा प्रगति भए पनि विशेषज्ञ चिकित्सक अभाव प्रमुख चुनौतीका रूपमा देखिएको छ ।
गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार आर्थिक अवस्था कमजोर भएका नागरिकलाई लक्षित गर्दै विभिन्न ठाउँमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। ‘महिलाहरूका लागि पाठेघरको मुखको क्यान्सर जाँचदेखि पुरुषहरूको सर्जिकल सेवा, नाक–कान–घाँटीसम्बन्धी शिविरहरू नियमित रूपमा गर्दै आएका छौं’, उनले भने, ‘पैसाको अभावले उपचारबाट वञ्चित नागरिकलाई सेवा दिनु हाम्रो प्राथमिकता हो ।’
गाउँपालिकाले यसै आर्थिक वर्षदेखि ‘घरदैलो स्वास्थ्य कार्यक्रम’ सञ्चालनमा ल्याएको छ । स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्थामै सीमित नराखी हप्तामा टोल–बस्तीमा खटाएर ज्येष्ठ नागरिकको सुगर, प्रेसर, कोलेस्ट्रोल लगायत परीक्षण गर्ने व्यवस्था गरिएको अध्यक्ष श्रेष्ठले बताए । उनले भने, ‘दुर्गम तथा सेवा पहुँच नपुगेका बस्तीलाई प्राथमिकतामा राख्दै हप्तामा २–३ दिनसम्म सामुदायिक भवन वा पायक पर्ने स्थानमा नियमित स्वास्थ्य सेवा उपलब्ध गराइँदै आएको छ ।’
‘गाउँपालिकामा निर्माणाधीन भिरकोट अस्पताल अन्तिम चरणमा पुगेको छ । संघीय सरकारको करिब १३ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको उक्त १० शय्याको अस्पताल चालु आर्थिक वर्षभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘अर्को महिनासम्म आवश्यक प्रक्रिया पूरा गरेर अस्पताल सञ्चालनमा ल्याउने लक्ष्य छ ।’ यससँगै रामजाकोट स्वास्थ्य चौकी र ऋषिङ रानिपोखरी स्वास्थ्य चौकी पनि संघीय सरकारमार्फत निर्माणको अन्तिम चरणमा पुगेको उनले बताए ।
गाउँपालिकामा विशेषगरी महिलामा पाठेघरसम्बन्धी समस्या र ज्येष्ठ नागरिकमा आँखाको समस्या बढी देखिएको छ । अध्यक्ष श्रेष्ठका अनुसार अघिल्लो वर्ष सञ्चालन गरिएको आँखा शिविरमा करिब ७ सयभन्दा बढी मोतिबिन्दुका बिरामीले निःशुल्क उपचार सेवा पाएका थिए । ‘कसैलाई काठमाडौँ र कसैलाई पोखरा पठाएर उपचार गराइएको थियो’, उनले भने, ‘यस वर्ष पनि आँखा स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ । खानपान र जीवनशैलीका कारण मधुमेह, उच्च रक्तचापजस्ता नसर्ने रोग पनि बढ्दो अवस्थामा रहेको हुँदा परीक्षण र सचेतनामुलक कार्यक्रमलाई पनि अगाडि बढाएका छौं ।’
संघीय सरकारबाट सशर्त बजेटमार्फत औषधि खरिद, कर्मचारी सेवा सुविधा र तालिम कार्यक्रम सञ्चालन भइरहेको छ। प्रदेशबाट अपेक्षित सहयोग नभएपछि गाउँपालिकाले आफ्नै स्रोतबाट बजेट व्यवस्थापन गरी स्वास्थ्य सेवा सञ्चालन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए ।
गाउँपालिकामा स्वास्थ्य पूर्वाधार विस्तार हुँदै गए पनि विशेषज्ञ चिकित्सक र दरबन्दी अभावले सेवा प्रवाहमा समस्या देखिएको छ । ‘भौतिक संरचना निर्माणको काम धेरै हदसम्म पूरा भइसकेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘तर विशेषज्ञ चिकित्सक र आवश्यक दरबन्दी उपलब्ध भए सेवा अझ प्रभावकारी हुने थियो ।’
ऋषिङ गाउँपालिकाले स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न घरदैलो कार्यक्रम, निःशुल्क शिविर र अस्पताल निर्माणजस्ता पहललाई प्राथमिकता दिएको छ । ग्रामीण जीवनशैलीसँग जोडिएका रोगको पहिचान र उपचारमा स्थानीय तह सक्रिय देखिए पनि गुणस्तरीय स्वास्थ्य सेवाका लागि विशेषज्ञ जनशक्ति र दीर्घकालीन व्यवस्थापन अझै आवश्यक देखिएको अध्यक्ष श्रेष्ठ बताउँछन् । स्थानीय प्रयाससँगै संघ र प्रदेश सरकारको समन्वय र स्रोत सुनिश्चितताले मात्रै ग्रामीण स्वास्थ्य सेवा दिगो र प्रभावकारी बन्ने उनले अपेक्षा गरेका छन् ।
लोकबहादुर थापा मगर : स्वास्थ्य शाखा प्रमुख 
ऋषिङ गाउँपालिकामा आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने प्रयास तीव्र भए पनि अस्पताल अभाव, पूर्वाधार कमजोरी र जनशक्ति व्यवस्थापन अझै चुनौतीकै रूपमा रहेको पाइएको छ । स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीअनुसार करिब १५ हजार ९ सयभन्दा बढी जनसंख्या रहेको गाउँपालिकामा हाल ५ स्वास्थ्य चौकी, ३ आधारभूत स्वास्थ्य सेवा केन्द्र, २ सामुदायिक स्वास्थ्य इकाइ सञ्चालनमा छन् भने १० शय्याको आधारभूत अस्पताल निर्माणाधीन अवस्थामा रहेको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख लोकबहादुर थापा मगरले जानकारी गराए।
चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा रु. ३ करोड ५ लाख ६० हजार बजेट विनियोजन गरिएको छ, जुन कुल बजेटको ५.५६ प्रतिशत हो । गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाइ र बर्थिङ सेन्टरलाई सुविधा सम्पन्न बनाउने, विपन्न नागरिकलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने तथा गर्भवती र नवजात शिशुको पहुँच बढाउन निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने नीति लिएको छ । दीर्घकालीन रूपमा गाउँपालिकामा चिकित्सकीय सेवा अभाव अन्त्य गर्न १० शय्याको अस्पताल सञ्चालन गर्ने योजना प्रमुख प्राथमिकतामा रहेको स्वास्थ्य शाखा प्रमुख थापा मगरले बताए ।
गाउँपालिकामा हाल ३ वटा बर्थिङ सेन्टरबाट २४सैं घण्टा प्रसूति सेवा उपलब्ध छ । काहुँशिवपुर स्वास्थ्य चौकी, भिरकोट स्वास्थ्य चौकी र ऋषिङ रानिपोखरी स्वास्थ्य चौकीमा मात्र यस्तो सेवा उपलब्ध रहेको छ । प्रयोगशाला सेवा कोटदरबार स्वास्थ्य चौकीमा सञ्चालनमा छ भने गर्भवती महिलाका लागि भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) सेवा उपलब्ध रहेको उनले जनाए । गाउँपालिकामा कुल ४ वटा एम्बुलेन्स सञ्चालनमा छन्, जसबाट गर्भवती, सुत्केरी तथा नवजात शिशुको आकस्मिक सेवाका लागि निःशुल्क सुविधा दिइँदै आइएको छ ।
गाउँपालिकामा विशेषज्ञ चिकित्सकीय सेवा उपलब्ध नभएकाले बिरामीहरूलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था छ । वडा नं. १ देखि ४ सम्मका नागरिकलाई दमौली स्थित प्रदेश अस्पताल पठाइन्छ भने वडा नं. ५ देखि ८ सम्मका बिरामी भिमाद प्राथमिक स्वास्थ्य केन्द्र तथा जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र मा रिफर गर्ने गरिएको स्वास्थ्य शाखाले जनाएको छ ।
गाउँपालिकामा स्वीकृत २७ दरबन्दीमध्ये २१ जना स्थायी स्वास्थ्यकर्मी कार्यरत छन् भने आधारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक इकाइमा १२ जना अतिरिक्त जनशक्ति परिचालन गरिएको छ । विशेषज्ञ चिकित्सक उपलब्ध नभएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकामा संस्थागत सुत्केरी दर २४ प्रतिशत मात्र रहेको छ । खोप कार्यक्रम सन्तोषजनक रहेको र सबै बालबालिकाले पूर्ण खोप प्राप्त गरेको गाउँपालिकाले जनाएको छ । कुपोषण नियन्त्रणका लागि गर्भवती तथा सुत्केरी महिलालाई पोषण प्रोत्साहन भत्ता, नियमित आमा समूह बैठक तथा बालबालिकाको वृद्धि अनुगमन कार्यक्रम सञ्चालन गरिँदै आएको छ ।
गाउँपालिकामा मुख्यतः श्वासप्रश्वास समस्या, ज्वरो, जोर्नी दुखाइ तथा छाला रोग बढी देखिने गरेका छन् । नसर्ने रोग नियन्त्रणका लागि टोल–बस्तीमै स्क्रिनिङ शिविर सञ्चालन गरी मधुमेह, उच्च रक्तचापजस्ता रोग पहिचान तथा उपचार भइरहेको प्रमुख थापा मगरले बताए । उनका अनुसार मानसिक स्वास्थ्य सेवा पनि उपलब्ध रहेको छ, जसअन्तर्गत तालिमप्राप्त स्वास्थ्यकर्मी तथा मनोसामाजिक परामर्शकर्ताबाट सेवा दिइँदै आइएको छ ।
पछिल्ला वर्षमा घरमै हुने सुत्केरी दर उल्लेखनीय रूपमा घटेको, बालबालिकाको पोषण अवस्था सुधारिएको तथा १२६ विपन्न परिवारलाई स्वास्थ्य बीमामा समेटिएको प्रमुख उपलब्धिका रूपमा लिइएको छ । सेवाग्राही सन्तुष्टि मापनका क्रममा गरिएको सामाजिक परीक्षणमा अधिकांश सेवाग्राही सन्तुष्ट देखिएको गाउँपालिकाले जनाएको छ ।
कतिपय स्वास्थ्य संस्थामा नियमित खानेपानीको अभाव, डिजिटल अभिलेख प्रणाली सञ्चालनका लागि पर्याप्त उपकरण र विद्युत् ब्याकअप नहुनु, स्थायी संरचना अभाव तथा दरबन्दी अभाव प्रमुख समस्याका रुपमा रहेको स्वास्थ्य शाखाले जनाएको छ । त्यस्तै, अस्पताल अभावका कारण ग्रामीण भेगका बिरामीले सामान्य उपचारका लागि समेत बाहिर जानुपर्ने बाध्यता रहेको छ ।
गाउँपालिकाले संघ तथा प्रदेश सरकारसँग स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार निर्माण, दरबन्दी थप तथा प्रयोगशाला सेवा विस्तारका लागि सहयोग अपेक्षा गरेको छ । आगामी दिनमा विस्तारित स्वास्थ्य सेवा थप व्यवस्थित बनाउने, स्वास्थ्य बीमा विस्तार गर्ने र स्थानीयस्तरमै चिकित्सकीय सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ ।
ऋषिङ गाउँपालिकाले आधारभूत स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय प्रयास गरे पनि अस्पताल अभाव र विशेषज्ञ सेवा नहुँदा नागरिक अझै बाह्य सेवामा निर्भर छन् । दीर्घकालीन रूपमा स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्न पूर्वाधार, जनशक्ति र नीति कार्यान्वयनमा थप सुधार आवश्यक देखिन्छ ।
(भञ्ज्याङ प्रकाशनको ४५औं वर्ष प्रवेशका अवसरमा २०८३ वैशाख ०१ गते प्रकाशित विशेषाङ्कमा प्रकाशन भएको)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker