तनहुँमा कोरोना संक्रमितको संख्या ७५४ पुग्यो, आज मात्रै ११ जना थपिए, ४६९ जना निको भएर घर फर्किए

- भञ्ज्याङ समाचारदाता (दमौली)
तनहुँमा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गएको छ । गत जेठ १८ गते एक पुरुषमा संक्रमण देखिएकोमा अहिले कोरोना भाइरस (कोभिड १९)बाट संक्रमित हुनेको संख्या ७५४ जना पुगेको छ । सुरुवाति चरणमा भारतबाट आएका नागरिकहरुमा संक्रमण देखिएको थियो ।
भारत लगायत अन्य मुलुक तथा संक्रमण देखिएका जिल्लाबाट आएका नागरिकहरुको उपचार तथा व्यवस्थापनमा खटि्टएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा कर्मचारीहरुमा संक्रमण देखिएको थियो । सरकारले समुदायमा संक्रमण फैलन नदिनका लागि गत चैत्र ११ गतेबाट लकडाउन गरेपनि साउन महिनाबाट विस्तारै लकडाउन खुल्ला गर्दै लगेको थियो ।
लकडाउन खुकुलो हुँदै गएपछि जिल्लाका समुदायका व्यक्तिहरुमा संक्रमण देखिन पुगेको थियो । भानु नगरपालिका र बन्दिपुर गाउँपालिकामा समुदायका केही व्यक्तिमा संक्रमण देखिन पुगेको थियो । अहिले जिल्लाका १० वटै स्थानीय तहका समुदायका व्यक्तिहरुमा संक्रमण देखिएको छ । पछिल्लो केही दिन यता जिल्लामा दैनिक जसो संक्रमित व्यक्तिहरुको संख्या थपिदै जान थालेको छ।
आज शनिबार मात्रै तनहुँमा ११ जना नयाँ संक्रमित थपिएका छन् । एक प्रहरी सहित ११ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य निर्देशनालय पोखराले सार्वजनिक गरेको विवरणमा उल्लेख गरिएको छ । सार्वजनिक विवरण अनुसार भानु नगरपालिकामा कार्यरत एक प्रहरीमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी व्यास नगरपालिकामा पाँच जनामा नयाँ संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार व्यास २ कि छ वर्षीया बालिका र ३७ वर्षीया महिला, व्यास २ कै ६० वषर्ीया वृद्धा, व्यास ४ का २६ वर्षका पुरुष र व्यास ९ का ६२ वर्षका वृद्धमा संक्रमण पुष्टि भएको छ ।
यसैगरी भानुका अर्का एक पुरुष तथा ऋषिङ १ का तीन पुरुषमा पनि संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ । यस अघि तनहुँको आँबुखैरेनीमा एकसहित गण्डकी प्रदेशमा २० नयाँ कोरोना संक्रमित भेटिएका थिए । आँबुखैरेनी ३ का एक २९ वर्षा पुरुषमा संक्रमण देखिएको थियो ।
त्यस्तै जिल्लामा हालसम्म ४६९ जना संक्रमित निको भएर घर फर्किएका छन् भने संक्रमणका कारण एकै परिवारका तीन सदस्य सहित १० जनाले ज्यान गुमाएका छन् । जिल्लामा अहिले २६६ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराएका छन् । सक्रिय संक्रमित मध्ये १५४ जना होमआइसोलेसनमा बसेका छन् ।