तनहुँमा निषेधाज्ञा एक साता लम्बियो, अति आवश्यक परेकालाई बैंकको सेवा पाउने (निर्णय सहित)
भञ्ज्याङ न्यूज

जिल्ला प्रशासन कार्यालय तनहुँले एक हप्ता निषेधाज्ञा थपेको छ । शनिबार राती सकिने निषेधाज्ञालाई थप एक सातासम्मका लागि लम्ब्याएको हो । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले आगामि जेठ २२ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको बैठकले तत्कालका लागि एक साता अवधि थप्ने र त्यसपश्चात परिस्थिती हेरेर निर्णय भएको छ ।
जिल्ला समन्वय प्रमुखसंगै केही पालिकाका प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतिहरुको सहभागितामा बसेको बैठकले कोभिड-१९ परीक्षणको दायरा समेत बढाउने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी गराएका छन् ।
यसैगरी, बैठकले संक्रमण निको भएका १४ दिन पुरा गरेकालाई समाजमा जाँदा परेको अप्ठेरो निराकरणका लागि सहजीकरण गर्ने निर्णय गरेको छ ।

त्यस्तै उक्त बैठकले व्यास नगरपालिकाले बैंकको सेवालाई पनि अत्यावश्यकमा राखि दैनिक दुइ घण्टा सेवा प्रवाह गर्न गरेको प्रस्ताव उपर निषेधाज्ञाका क्रममा अति आवश्यक परेका व्यक्तिका हकमा दमौलीका बैंक तथा वित्तीय संस्थाले सेवा दिने व्यवस्था गरिएको छ ।
व्यास नगरपालिकाले प्रस्ताव गरेको समय विहान १० देखि मध्याहृन १२ बजेसम्म बैंकका कर्मचारीलाई सम्पर्क गरेर रेमिट्यान्स, विकास निर्माणका काम तथा अति जरुरी परेका व्यक्तिले रकम जम्मा तथा झिक्न मिल्ने गरी जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले निर्णय गरेको छ ।
यसरी सेवा दिंदा काउण्टर खोल्न भने पाइने छैन । शाखाबाट सर्म्पर्क गरी अति आवश्यक परेकाले मात्र त्यस्तो सेवा लिन पाउने व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए ।










