तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा पुल नबन्दा सास्ती

दमौली : तनहुँको आँबुखैरेनी गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमाथि निर्माण सुरु भएर एघार वर्षसम्म पनि पुल नबनेपछि स्थानीयवासी निराश बनेका छन् ।
पुल निर्माण सुरु भएर सम्पन्न भइसक्नुपर्नेमा हालसम्म पुल अलपत्र बनेपछि यस भेगका स्थानीयवासी निराश बनेका हुन् । केही दिनअघि स्थानीयवासीले पुल निर्माणको काम तत्काल सुरु गर्न माग गर्दै प्रशासन र सडक डिभिजन कार्यालय घेराउ गरेका थिए । एघार वर्ष अगाडिबाट निर्माण सुरू भएको उक्त पुल निर्माणमा ढिलासुस्ती भएपछि दबाब दिन सरोकार समिति गठन गरिएको छ । बन्दीपुर, देवघाट र आँबुखैरेनीका उपभोक्ताको भेलाले सिद्धान्त थापाको संयोजकत्वमा घुमाउने पुल सरोकार तथा सङ्घर्ष समिति गठन गरेको छ ।
देवघाट गाउँपालिका–२, ३ र ४, बन्दीपुर गाउँपालिका–६, आँबुखैरेनी गाउँपालिका–५ र ६ तथा व्यास नगरपालिका–१३ र १४ का बासिन्दा दैनिक रूपमा हिँडडुल गर्ने उक्त पुल सम्पन्न नहुँदा सर्वसाधारणलाई सास्ती भएको संयोजक थापाले बताउनुभयो ।
देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर रानाले पुल निर्माणमा भइरहेको ढिलासुस्तीले यस भेगका सर्वसाधारणलाई आवतजावतमा समस्या भएको बताउनुभयो । आँबुखैरेनी गाउँपालिका–६ का पूर्ववडाध्यक्ष चुनाराम गुरूङले सम्बन्धित निकायले यस भेगका जनताको दुःख बुझेर काम सुरू गर्नुपर्ने बताउनुभयो ।
सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजिव श्रेष्ठले यसै आर्थिक वर्षमा दुई पटक आएको बाढीले पुल निर्माणमा समस्या भएको जानकारी दिनुभयो । पुलको डिजाइनमा केही परिवर्तन गर्नुपर्ने भएको र त्यसको काम भइरहेकाले काममा ढिलाइ भएको उहाँको भनाइ छ ।
मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलो पटक २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो । बारम्बारको म्याद थप र डिजाइन परिवर्तन पछि पनि हालसम्म ४५ प्रतिशत मात्र काम सकिएको छ । उक्त पुलको निर्माणको अवधि आगामी चैतसम्म रहेको छ ।
त्रिशूली नदीमाथि स्टिल ट्रसको पुल बनाउने सम्झौता भएपछि डिजाइन परिवर्तन गरी आर्कब्रिज बनाउन लागिएको हो । अहिलेसम्म त्रिशूलीको वारिपारीका पिल्लर मात्र ठडिएका छन् । उक्त पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । पुलको लागत रू नौ करोड ५६ लाख रहेको छ ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंहमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौली भएर नारायणगढ आउन जान हाल सञ्चालन भइरहेको मुग्लिङ–नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker