बढ्दो लापरवाहीका कारण गाउँ पस्यो कोरोना, तनहुँमा संक्रमणदर घट्न सकेन (भिडियो सहित)
नारायण खड्का (तनहुँ)

तनहुँमा नयाँ भेरियन्ट सहितको कोरोना भाइरस संक्रमण देखिन थालेको करिब दुइ महिना बितेको छ । समुदायस्तरमै संक्रमण फैलिएपछि रोकथाम तथा न्यूनिकरणका लागि भन्दै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको पनि डेढ महिना पुगेको छ । तर, कोरोना संक्रमितको संख्या भने दैनिक बढ्दै गइरहेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले शनिबार सार्वजनिक गरेको विवरणमा तनहुँका ८८ जनामा भाइरस संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । भारत तथा संक्रमण देखिएका जिल्लाबाट तनहुँ आएका व्यक्तिमा शुरुवाती चरणमा कोरोना संक्रमण देखिएको थियो। ती व्यक्तिहरुबाट शहर बजार क्षेत्रका बासिन्दामा संक्रमण फैलिएपछि रोकथाम तथा न्यूनिकरणका लागि भन्दै स्थानीय प्रशासनले गत वैशाख २३ गतेबाट निषेधाज्ञा जारी गरेको थियो ।
निषेधाज्ञा जारी भएसंगै बजार क्षेत्रमा बसोवास गर्दै आएका नागरिक आ-आफ्नो गाउँ तर्फ फर्कने तथा विवाह, भोजभतेर एवं भिडभाडजन्य गतिविधि सहभागि हुँदा गाउँगाउँमा कोरोना संक्रमण देखिन थालेको प्रमुख जिल्ला अधिकारी सागर आचार्य बताउँछन्। ग्रामीण क्षेत्रका बासिन्दामा कोरोना संक्रमण देखिन थालेपछि के कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा विभिन्न संयन्त्र तयार गरी परिचालन गरिएको उनले बताए ।
शुरुवाती चरणमा बजार क्षेत्रमा देखिएको कोरोना संक्रमण अहिले गाउँगाउँका बासिन्दामा देखिन थालेपछि संक्रमण नियन्त्रणका लागि विभिन्न चुनौतीहरु झेल्दै आउनु परेको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी बताउँछन् ।
कार्यालयले जिल्लाका १० वटै पालिकामा रहेका स्वास्थ्य शाखा तथा इकाईलाई परिचालन गरी कोरोनासंग मिल्दाजुल्दा लक्षण देखिएका व्यक्तिहरुलाई परीक्षणको दायारामा ल्याउने, होम आइसोलेशनमा बसेकाहरुको स्वास्थ्य अवस्था बुझ्ने तथा सचेतना मुलक कार्यक्रमलाई तीब्र पारिएको प्रमुख अधिकारीले बताए।
यस्तै, अधिकांश कोरोना संक्रमितहरु होम आइसोलेशनमा बस्ने गरेका छन् । होम आइसोलेशनमा बस्दा खानपिन, रेखदेखमा पारिवारिक वातावरण हुने भएपनि केही संक्रमितको स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि अस्पताल आउँदा उपचारमा समस्या आउने गरेको दमौली अस्पतालका प्रमुख डा. सुनिल पौड्याल बताउँछन् ।
तोश्रो लहरको कोभिड संक्रमणलाई समेत लक्षित गरी अहिले कोभिड अस्पताल तथा केन्द्रलाई व्यवस्थित र आवश्यक पूर्वाधारहरु थप्दै लगिएको र अक्सिजन प्लान्ट निर्माणको कामलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।
छिपछिपेस्थित इलाका स्वास्थ्यचौकीको आइसोलेशनमा खट्टएिको स्वास्थ्यकर्मी । तस्विर : भञ्ज्याङ
तनहुँमा ४ हजार ४०० जनाको पीसीआर र २ हजार २२७ जनाको एन्टिजेन प्रविधिबाट कोरोन परिक्षण गर्दा २ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँले र्सार्वजनिक गरेको पछिल्लो विवरणमा उल्लेख गरिएको छ । अधिकांश संक्रमितहरु ग्रामीण क्षेत्रका भएको हुँदा अहिले स्थानीय पालिकाहरुले पनि संक्रमण देखिएका क्षेत्रको पहिचान गरी स्वास्थ्यकर्मीहरुको टोली सहित जनप्रतिनिधिहरु समेत कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणमा खट्टदिै आएको भिमाद नगरपालिकाका नगरप्रमुख मेखबहादुर थापाले बताए ।
संक्रमित मध्ये हालसम्म २ हजार २ जना निको भएका छन् भने ५८ जनालाई कोभिड अस्पतालको आइसोलेशन, आइसियू तथा एचडियूमा राखेर उपचार भइरहेको छ । वैशाख महिना यता तनहुँमा कोरोना संक्रमणबाट ७७ जनाको मृत्यु भइसकेको छ भने पहिलो लहरको कोरोना संक्रमणबाट तनहुँका २५ जनाले ज्यान गुमाएका थिए । कोरोना संक्रमणबाट तनहुँमा १०२ जनाको मृत्यु भएको छ ।
ग्रामीण क्षेत्रमा कोरोना संक्रमण फैलदै जानु र मनसुन सुरुभएसंगै भएको वर्षाका कारण बाढीपहिरोले गर्दा प्रभावकारी रुपमा कोरोना संक्रमण रोकथाम तथा न्यूनिकरणका कार्यक्रम सञ्चालनमा चुनौती थपिएको छ । यस्तै, मनसुन शुरु भएसंगै अहिले गाउँका बासिन्दा धान रोपाई तथा अन्य कृषिकर्ममा समेत खट्टनि थालेका कारण कोरोना संक्रमण थप फैलने त होइन भन्ने त्रासपनि बढ्दै गएको छ ।










