सहिदको स्मृतिमा भवन, श्रममन्त्री श्रेष्ठद्वारा उद्घाटन
भञ्ज्याङ न्यूज

तनहुँको बन्दिपुर गाउँपालिका-१ निवासी स्व. शोभाकान्त पोखरेलको स्मृतिमा भवन निर्माण गरिएको छ । वि.सं. २०५५ सालमा सहादत प्राप्त गरेका सहिद शोभाकान्त पोखरेलको स्मृतिमा बन्दिपुर गाउँपालिकाले स्मृति भवन निर्माण गरेको हो । गाउँपालिकाको दश लाख रुपैयाँको लागतमा निर्माण गरेको भवन आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले उद्घाटन गरेका छन् । भवन निर्माणका लागि स्थानीयवासी कमलनारायण खड्गीले तीन आना जग्गा दान गरेका थिए ।
शोभाकान्त पोखरेल वि.सं. २०५५ साल जेठ १४ गते प्रहरीबाट मारिएका थिए । प्रहरीले सञ्चालन गरेको किलो शेरा-२ अभियानका क्रममा पोखरेलले बन्दिपुरको धरमपानीस्थित सेती नदी किनारमा सहादत प्राप्त गरेका थिए । भवनको उद्घाटन गर्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री श्रेष्ठले सहिदको सपना पूरा गर्न लाग्नुपर्नेमा जोड दिए । सहिदले देखेका सपना पूरा भए मात्रै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने मन्त्री श्रेष्ठको भनाइ थियो ।
फरक प्रसङ्गमा मन्त्री श्रेष्ठले बन्दिपुर र समग्र तनहुँको विकासको जिम्मा आफूले लिएको दाबी गरे । अहिलेसम्म चुनाव जित्न नसकेका केही राजनीतिक दलले आफूलाई निषेध गर्न खोजेको भन्दै मन्त्री श्रेष्ठले त्यस्तो निषेध र विरोधले केही नहुने बताए । ‘तनहुँ क्षेत्र नम्बर-१ का जनताको मतले जितेको सांसद हूँ, अहिले मन्त्री भएको छु’, मन्त्री श्रेष्ठले भने, ‘व्यक्तिगत रुपमा मलाई केही गर्नु छैन, जनताका लागि सधैँ काम गर्नेछु ।’
बन्दिपुर गाउँपालिका-१ का वडाध्यक्ष भानुभक्त पोखरेलको अध्यक्षतामा आयोजित कार्यक्रममा संविधानसभा सदस्य सीता पोखरेल, गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, नेकपा -एकीकृत समाजवादी)का पोलिटव्युरो सदस्य प्रतापलाल श्रेष्ठ लगायतले सहिद पोखरेलको योग्दानको चर्चा गर्दै स्मरण गरेका थिए ।










