सम्पादकीय : बन्दीपुरमा नयाँ वर्षको उल्लास
सम्झना रसाइली


पहाडकी रानी उपनामले परिचित पर्यटकीय नगरी तनहुँको बन्दीपुरले उल्लासमय वातावरणमा नयाँ वर्ष मनाएको छ । नयाँ वर्ष २०८२ को आगमनसँगै तनहुँ जिल्लाको प्रसिद्ध पर्यटकीय नगरी बन्दीपुर फेरि एकपटक पर्यटकको घुइँचोले भरिन पुग्यो । बिगतका वर्षहरू भन्दा यसपटक नयाँ वर्षको उत्सव अझ विशेष देखिन पुग्यो । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा यसको पहिचान विस्तार हुँदै गएको छ, जसको प्रत्यक्ष प्रमाण हालैको ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ अन्तर्गत आन्तरिक पर्यटकको उल्लेखनीय वृद्धि हो ।
वि.सं. २०८१ मा मात्रै बन्दीपुरमा करिब दुई लाख पर्यटक आएको बन्दीपुर पर्यटन विकास समितिले बताएको छ। समतिका अनुसार पछिल्ला दुई दिनमा बन्दीपुरमा दैनिक आगन्तुकको संख्या दुई हजार बढि नाघेको छ । सामान्यतया दैनिक एक हजार वरिपरि पर्यटकको आगमन हुने गरेकोमा नयाँ वर्षको अबसरमा दोब्बरले वृद्धि भएको थियो । यति ठूलो संख्यामा पर्यटकको आगमन हुनु केवल संयोग नभई स्थानीय तह, पर्यटन व्यवसायी र समुदायबीचको सहकार्यको नतिजा हो ।
नयाँ वर्ष केवल क्यालेण्डरको पाना पल्टाउने दिन मात्र नभई, सामूहिक उत्सव, सांस्कृतिक संरक्षण र आर्थिक क्रियाशीलताको अवसर पनि हो । यो मान्यतालाई पछिलो समय नेपालीले पनि पछ्याउँदै गएको देखिन्छ । यसपटक बन्दीपुरले यो अवसरलाई केवल पर्वको रूपमा होइन, पर्यटकीय प्रवद्र्धनको ठोस मोडेलका रूपमा प्रयोग गरेको अनुमान गर्न सकिन्छ । होटलहरूमा १५ प्रतिशत छुट, रैथाने खाना महोत्सव, सांस्कृतिक नृत्य प्रदर्शनजस्ता कार्यक्रमले नयाँ वर्षलाई पूर्ण पर्यटकीय उत्सवमा परिणत गरेको देखिन्छ । यसले केवल स्थानीय व्यवसायीको आम्दानीमा वृद्धि गरेको छैन, स्थानीय उत्पादन, परिकार, संस्कृति र हस्तकला पनि सजीव बनाएको छ । सामुदायिक होमस्टेमा पारिवारिक वातावरणमा बस्न पाइने भएकाले आन्तरिक पर्यटकको आकर्षण पनि बढ्दो छ । यो क्रमबद्ध रूपमा ग्रामीण पर्यटनको पनि मजबूतीको संकेत हो ।
बन्दीपुर भ्रमण वर्षको प्रचारप्रसारका कारण पनि पर्यटक आगमन वृद्धि भएको छ। बन्दीपुरमा अमेरिका, जापान, चीन, फ्रान्स, अष्ट्रेलिया, बेलायतलगायत २५ भन्दा बढी मुलुकका पर्यटक आइसकेका छन् । यो तथ्य आफैमा एक उपलब्धीका रुपमा लिन सकिन्छ । अन्तर्राष्ट्रिय पर्यटकको यति व्यापक उपस्थिति हुनु बन्दीपुरको सौन्दर्य, ऐतिहासिकता र सांस्कृतिक विविधता प्रति विश्व समुदायको आकर्षणलाई दर्शाउँछ । गाउँपालिकाले खड्गदेवी मन्दिर, थानीमाई, मणिमुकुन्द सेन पदमार्ग, सिद्धगुफा, तीनधारा, टुँडिखेल, रानीबनजस्ता स्थल लगायतका स्थानलाई सूचीबद्ध गरी प्रवद्र्धनका काम गर्दै आएको छ । भक्तपुरे शैलीमा बनेका पुराना घरहरू, नेवारी संस्कृति र रमणीय पहाडी भूगोलले गर्दा बन्दीपुर ‘स्लो ट्राभल’ गन्तव्यको रूपमा पनि लोकप्रिय बन्दै गएको छ ।
बन्दीपुरको पर्यटनलाई स्थानीयको आयआर्जनसँग जोड्ने नीति आवश्यक देखिएको छ । पोखराबाट पछि दोस्रो प्रमुख गन्तव्यको रूपमा बन्दीपुरलाई विकासको पर्खाइमा रहेको बन्दीपुरमा पर्यटन क्षेत्रको विकास लागि विकासको गति समावेशी, दिगो र स्थानीय सहभागितामूलकको पाटोलाई व्यवस्थित बनाउँदै अगाडि बढ्नुपर्ने देखिन्छ । यसका लागि योजनाबद्ध रूपमा पूर्वाधार विकास, सरसफाइ, फोहोरमैला व्यवस्थापन, पर्यटक सुरक्षा, डिजिटल सूचना प्रणाली र मार्गदर्शक तालिमजस्ता पक्षहरूमा ध्यान दिन जरुरी छ । अहिले नै बन्दीपुरका केही होटल, सडक र सेवामा चाप देखिन थालेको छ, जुन दीर्घकालीन तयारी नगर्दा समस्या बन्न सक्छ ।
पर्यटनको मूल आत्मा भनेकै संस्कृति हो । त्यसैले संस्कृति संरक्षणविना पर्यटन प्रवद्र्धन अधुरो हुन्छ । यसपटकको सांस्कृतिक तथा खाना महोत्सवले यही कुरा पुनः पुष्टि गरेको छ । मगर, गुरुङ, क्षेत्री, नेवार, ब्राह्मणलगायत समुदायका सांस्कृतिक नृत्य, लोकगीत र रैथाने खानाले पर्यटकलाई केवल रमाइलो अनुभव मात्र दिएन, यस क्षेत्रमा गहिरो रूपमा जरा गाडेको संस्कृति र पहिचानसमेत देखाएको छ । यसरी, पर्यटनको माध्यमबाट संस्कृतिको संरक्षण र पुनःस्थापनाको बाटो खुलेको छ । यो क्रमलाई निरन्तरता दिन सामुदायिक नेतृत्व र युवा पुस्ताको सक्रियता अनिवार्य छ ।
बन्दीपुरमा देखिएको नयाँ वर्षको पर्यटन उत्सवले हामीलाई के सिकाउँछ भने पर्यटन केवल भौतिक संरचनाको विकास होइन, सामुदायिक चेतना, संस्कृति, सेवा र वातावरणीय सन्तुलनमा आधारित हुनुपर्छ । बन्दीपुर अब केवल एउटा गन्तव्य होइन, नेपालकै गौरव, पहिचान र सम्भावनाको केन्द्र बन्ने दिशातर्फ अग्रसर भइरहेको छ । ‘बन्दीपुर भ्रमण वर्ष–२०२५’ को अवसरलाई पूर्ण सफल बनाउन पर्यटनसँग सम्बन्धित सबै पक्षको संयुक्त प्रयास, निरन्तरता र उत्तरदायित्वपूर्ण व्यवहार आवश्यक छ । तबमात्र बन्दीपुर साँच्चै पहाडकी रानीको रूपमा, देशको पर्यटन नीतिको पक्षामा चम्किलो मुकुट बन्न सक्नेछ ।