मन्दिर निर्माणमा विदेशी नागरिकको सहयोग
भञ्ज्याङ समाचारदाता/दुलेगौंडा

तनहुँको शुक्लागण्डकी नगरपालिका-३, वनकेवास्थित शिवालय आमा समुहले शिव मन्दिर निर्माण गर्ने भएको छ । हाल बस्तीको बीचमा रहेको मन्दिर जिर्ण भएकाले आमा समुहले नयाँ मन्दिर बनाउन लागेको हो । धार्मिक संस्कृति बचाउनका लागि मठ मन्दिरहरु संरक्षण र पुनःनिर्माण गर्दै जान आवश्यक रहेकाले शिव मन्दिर निर्माणमा आफुहरु रहेको समुहकी अध्यक्ष दौपती श्रेष्ठले बताइन् ।
आमा समुहले निर्माण गर्न लागेको मन्दिर निर्माणमा जर्मनका नागरिक कार्लज हेइन्जले ५५ हजार ५५५ रुपैयाँ सहयोग प्रदान गरेका हुन् । उनले उक्त रकम बुधबार आमा समुहकी अध्यक्ष श्रेष्ठलाई हस्ताण्तरण गरेका थिए । सोक्रममा बोल्दै हेइन्जले आफु नेपालीहरुको भगवानप्रतिको आस्थाबाट प्रभावित भएर सहयोग गरेको बताए । उनले यसअघि पनि भुकम्पबाट प्रभावित नेपालका विभिन्न सात जिल्लामा पुगेर सहयोग गरेको बताए । यसअघि सरकारी कर्मचारी रहेका हेइन्ज आफु रिटायर्ड भएपछि सामाजिक कार्यमा क्रियाशिल हुदै आएको र सकेको सबैले सहयोगको धारणा लिनुपर्ने बताएका ।
कार्यक्रममा शुक्लागण्डकी नगरपालिका-३ का वडाध्यक्ष रामकुमार श्रेष्ठले नेपालको धार्मिक क्षेत्रको विकासका लागि गरेको सहयोगप्रति हेइन्जलाई धन्यवाद दिए । उनले वडाभित्र तीन वटा विद्यालय रहेको र उक्त विद्यालयहरुलाई वैज्ञानिक एवं प्राविधिक हिसाबले पठनपाठन गर्ने गरी संचालन गर्नका लागि सहयोग गर्न अपिल गरेका थिए । हेइन्जलाई पर्यटक पथप्रदर्शक राजकुमार श्रेष्ठले वनकेवासम्म ल्याउन समन्वय गरेका थिए । स्थानीय कमल थापाले मठ मन्दिर संरक्षण गर्नुपर्नेमा जोड दिए । हेइन्जलाई स्थानीयवासीले फूलमालाले भव्य स्वागत गरेका थिए । उनले आजको रात वनकेवामै विताउने छन् । स्थानीय परिकारका साथ नेवार समुदायको मौलिक साँस्कृतिक कार्यक्रमहरुमा सहभागी हुने उनका गाइड श्रेष्ठले जानकारी दिए ।










